समानुपातिकतर्फको मनोनयन दर्ता सुरु : पहिलो दिन २९ दल दर्ता, कुन प्रदेशमा कति ?
काठमाडौं । अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको पहिलो दिनमा २९ दलले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने पहिलो दिन शुक्रबार प्रतिनिधिसभातर्फ २९ दलको मनोनयन दर्ता भएको प्रमुख निर्वाचन अधिकृत गोकर्णमणी दुवाडीले नेपाल प्रेसलाई जानकारी दिए ।
आयोगका अनुसार प्रदेश सभातर्फ भने प्रदेश एकमा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएका आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार शनिबार र आइतबार २ दिनसम्म समानुपातिकतर्फ राजनीतिक दलको मनोनयन दर्ताको क्रम जारी रहनेछ ।
शुक्रबार भएको समानुपातिकतर्फको दलको मनोनयन दर्ताका क्रममा एक नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो दिनमा नै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायत अन्य केही साना राजनीतिक दलले पनि मनोनयन दर्ता गराएका छन् ।
आयोगका अनुसार आइतबारसम्म दर्ताको अन्तिम नतिजा थाहा हुनेछ । समानुपातिक निर्वाचन प्रणालीका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलले असोज २ र ३ गते बन्द सूची पेश गर्न पाउने आयोगले जनाएको छ ।