प्रथम आम निर्वाचनमा दुईतिहाइ आएको कांग्रेसका सांसदले कति ल्याएका थिए मत ? (सूचीसहित)
इटहरी । २०७४ सालको चुनावमा एमाले र माओवादी मिलेर बनेको चुनावी मोर्चाले दुईतिहाइ ल्याएको चर्चा गरिन्छ । तर, नेकपाले दुईतिहाइ ल्याएको थिएन । दुईतिहाइभन्दा केही कम ल्याएको थियो । नेपालको इतिहासमा २०४६ सालको जनआन्दोलनपछि र दोस्रो जनआन्दोलन २०६२/०६३ पछि भएको संविधानसभा चुनावमा समेत कसैको दुईतिहाइ आएको छैन ।
नेपालमा दुईतिहाइ मत आएको २०१५ सालको प्रथम आम निर्वाचनमा मात्रै हो । कुल १०९ सीटको प्रतिनिधिसभा चुनावमा बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले दुईतिहाइ अर्थात् ७४ स्थानमा जितेको थियो ।
सबैभन्दा कम २३,४६७ मत खसेको क्षेत्र नम्बर ६७ (बैतडी पूर्व दक्षिण) र सबैभन्दा धेरै २७, ३९४ मत खसेको क्षेत्र नम्बर १ काठमाडौंमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यस्तै एकभन्दा धेरै क्षेत्रमा जीत निकाल्ने पनि कांग्रेसकै उम्मेदवारहरु थिए । चुनावी सरकार प्रमुख सुवर्णशमशेरले त सबैभन्दा धेरै तीन क्षेत्रबाट चुनाव जितेका थिए । उनले क्षेत्र नम्बर ५२ (बारा मध्य उत्तर), क्षेत्र नम्बर ५३ (बारा पर्सा पूर्वान्त) र क्षेत्र नम्बर ९१ (गुल्मी दक्षिण-पश्चिम) चुनाव मा जितेका थिए ।
गुल्मीमा त पाइलै नटेकी चुनाव जितेका थिए सुवर्णले । सुवर्णलाई पाइलै नटेकी चुनाव जिताउन गुल्मी मध्यपूर्वका उम्मेदवार काशीनाथ गौतमले सघाएका थिए । त्यसकै जस लिएर गौतमले पहिलो बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारमा सहभागी हुन जोडबल गरेर सफल भएका थिए । आफूलाई मन्त्री नबनाइए जनताले नपत्याउने त्यसो हुँदा गंगामा गएर आत्महत्या गर्ने भन्दै उनले भावनात्मक कुरा जोडेर मन्त्री भएको बीपीले उल्लेख गरेका छन् । उनी बीपी क्याबिनेटमा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासनमन्त्री भएका थिए । जयतु संस्कृतम आन्दोलनबाट आएका उनी पछि कांग्रेसमा छिरेर पश्चिम पहाडी जिल्लामा कांग्रेसको पकड बलियो बनाउन धेरै खटेको बीपीले आफ्नो आत्मवृतान्तमा उल्लेख गरेका छन् ।
काशीनाथ गौतमको प्रसंगमा बीपीले आत्मवृतान्तमा भनेका छन्, ‘म पहिले थुनिएको बखतमा जयतु संस्कृतम आन्दोलन भयो २००४ सालमा । उनीहरुलाई छात्रावासबाट निकालेपछि उनीहरु सबैजना नेपाली कांग्रेसमा सामेल हुन आए । उनीहरु गाउँगाँउबाट आएका थिए, त्यसो हुनाले उनीहरुको एउटा व्यापक सम्पर्क थियो । त्यसमा काशीनाथ गौतम, हाम्रा पर्चाहरु लिएर एउटा भरियाजस्तो बनेर लिएर जान्थे आफ्नो जिल्लामा र काम गर्थे ।’
दुई क्षेत्रबाट जित्ने कांग्रेसकै अर्का उम्मेदवार थिए शिवनाथ पन्त । उनले क्षेत्र नम्बर ७० (थलरा डोटी उत्तर) मा र क्षेत्र नम्बर ७१ (डोटी दक्षिण) मा जितेका थिए । उपनिर्वाचनमा पन्तले डा. केआई सिंहलाई हराएको क्षेत्र नम्बर ७१ लिएर ७० छोडेका थिए । उपनिर्वानमा ७० मा कांग्रेसकै नवराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।
दुईतिहाइ मत ल्याएको कांग्रेसले नै नेपालको प्रथम महिला सांसद निर्वाचनबाट जिताउन सफल भएको थियो । क्षेत्र नम्बर ६६ डडेलधुराकी द्वारिकादेवी ठकुरानी ३९०३ मत ल्याएर विजयी बनेकी थिइन् । उनका प्रतिस्पर्धी संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टले १८३१ मत ल्याएका थिए । ठकुरानी चुनिएको समाचार न्यूयोर्क टाइम्समा समेत आएको थियो । नेपालको प्रथम जननिर्वाचित सांसद भएकी ठकुरानी पछि मन्त्री पनि बनिन् । बीपी क्याबिनेटमा उनी स्वास्थ्य तथा स्वायत्त प्रबन्ध उपमन्त्री भएकी थिइन् ।
अझ अर्को रोचक पक्ष दुईतिहाइ मत ल्याए पनि कांग्रेसले आफ्ना केही शीर्ष नेतालाई चुनाव जिताउन सकेको थिएन । गोरखाबाट चुनाव उठेका कृष्णप्रसाद भट्टराई, सिन्धुलीमा उठेका सूर्यप्रसाद उपाध्यायले चुनाव हारेका थिए । मात्रृकाप्रसाद कोइरालालाई त बीपीले टिकटै दिएका थिएनन् । अहिलेको राष्ट्रियसभा जस्तो ३६ सीटको महासभामा मातृकाप्रसाद कोइरालालाई महेन्द्रले मनोनयन गर्न पाउने १८ जनामा दोस्रो नम्बरमा मनोनयन गरेका थिए । पहिलो नम्बरमा भने नेपाल एकेडेमीका उपकुलपति बालचन्द्र शर्मा थिए ।
डाक्टर बद्रीनारायण गौतमले लेखेको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकका अनुसार नेपालको प्रथम आम निर्वाचन २०१५ को १०९ स्थानमा भएको चुनावमा दुईतिहाइ सीटमा विजयी हुने कांग्रेसी सांसदहरुको नाम र मतसंख्या सूची यस्तो छ :
– क्षेत्र नम्बर १ काठमाडौंबाट गणेशमान सिंह : १०,९८६
– क्षेत्र नम्बर ४ भक्तपुरबाट जगन्नाथ आचार्य : ६,०६८
– क्षेत्र नम्बर ७ चौतारा पूर्व–उत्तरबाट चन्द्रलाल श्रेष्ठ : ३,८४४
– क्षेत्र नम्बर ११ दोलखा उत्तरबाट गृहबहादुर बस्नेत : ३,९१८
– क्षेत्र नम्बर १६ ऐंसेलुखर्क पूं ३ नं रावाखार्चाबाट मणिलाल शास्त्री : ६,८४६
– क्षेत्र नम्बर १७ ओखलढुंगाबाट पेशलकुमार पोखरेल : ६,५०१
– क्षेत्र नम्बर १८ मानेभञ्ज्याङबाट बलबहादुर राई : ७,१२९
– क्षेत्र नम्बर १९ भोजपुर मध्यबाट खड्गबहादुर कार्की : ७,२७९
– क्षेत्र नम्बर २० भोजपुर दक्षिणबाट भूदेव राई : ८,३८०
– क्षेत्र नम्बर २१ भोजपुर उत्तर पूर्वबाट देवानसिंह राई : ६,३०१
– क्षेत्र नम्बर २२ धनकुटा दक्षिण पश्चिमबाट लीलानाथ पाध्या : ३,२०९
– क्षेत्र नम्बर २३ धनकुटा उत्तर पश्चिमबाट पद्मनाथ रेग्मी : ८,३७०
– क्षेत्र नम्बर २४ धनकुटा पूर्व उत्तरबाट कुलमान लिम्बू : ४,८५१
– क्षेत्र नम्बर २५ धनकुटा पूर्व मध्यबाट प्रेमराज आङ्देम्बे : ८,६१४
– क्षेत्र नम्बर २६ धनकुटा मध्यबाट तेजमान तुम्बाहाम्फे : ४,३९८
– क्षेत्र नम्बर २७ धनकुटा दक्षिणबाट डबलसिंह सेन लिम्बू : ५,२०२
– क्षेत्र नम्बर २८ इलाम पश्चिम पाँचथर दक्षिणबाट गणेशप्रसाद उपाध्याय : ६,७१०
– क्षेत्र नम्बर २९ इलाम मध्य पूर्वबाट कृष्णबहादुर भट्टराई : ८,१७०
– क्षेत्र नम्बर ३० झापाबाट फत्तेबहादुर बुढाथोकी : ९,४७६
– क्षेत्र नम्बर ३१ मोरङ विराटनगर पूर्वबाट चेतुलाल चौधरी : ८,०९५
– क्षेत्र नम्बर ३२ मोरङ विराटनगर पश्चिमबाट बीपी कोइराला : ९,५७९
– क्षेत्र नम्बर ३३ मोरङ विराटनगर उत्तर पश्चिमबाट ज्ञानचन्द्र सरदार : ५,४५५
– क्षेत्र नम्बर ३४ उदयपुरबाट अम्बरसिंह बस्नेत : ५,६३३
– क्षेत्र नम्बर ३६ सप्तरी मध्यबाट डा. नागेश्वरप्रसाद सिंह : ४,१०९
– क्षेत्र नम्बर ३८ सप्तरी पश्चिमबाट सूर्जेनाथदास यादव : ७,३८२
– क्षेत्र नम्बर ३९ सिरहा मध्यबाट देवनाथ दास : ११,७७०
– क्षेत्र नम्बर ४० सिरहा पश्चिमबाट माधवप्रसाद रेग्मी : ७,५००
– क्षेत्र नम्बर ४१ महोत्तरीबाट सरोजप्रसाद कोइराला : १०,०९०
– क्षेत्र नम्बर ४२ महोत्तरी उत्तर पूर्वान्तबाट रुद्रप्रसाद गिरी : ७,४६६
– क्षेत्र नम्बर ४३ जनकपुरबाट महेन्द्रनारायण निधि : १०,१२०
– क्षेत्र नम्बर ४४ महोत्तरी प्रगन्ना पूर्वबाट रामनारायण मिश्र : ११,६४३
– क्षेत्र नम्बर ४५ महोत्तरी प्रगन्न पश्चिमबाट वेणीमाधव सिंह : १०,३६०
– क्षेत्र नम्बर ५१ बारा मध्य पश्चिमबाट भागवत राय : ८,०९५
– क्षेत्र नम्बर ५२ बारा मध्य उत्तरबाट सुवर्णशमशेर राणा : ७,२२१
– क्षेत्र नम्बर ५३ बारा पर्सा पूर्वान्तबाट सुवर्णशमशेर राणा : ८,८६४
– क्षेत्र नम्बर ५६ चिसापानी चितौनबाट विश्वबन्धु थापा : ६,८२९
– क्षेत्र नम्बर ५७ पाल्ही पूर्वबाट पृथ्वीराज कँडेल : ६,८११
– क्षेत्र नम्बर ६१ खजहनी शिवराजबाट शिवपतिप्रताप शाह : ५,५१२
– क्षेत्र नम्बर ६२ दाङ देउखुरीबाट परशुनारायण चौधरी : १२,७३७
– क्षेत्र नम्बर ६३ बाँकेबाट ललित चन्द : ७,२३३
– क्षेत्र नम्बर ६४ बर्दियाबाट राधाकृष्ण कोठिया थारु : ८,९४५
– क्षेत्र नम्बर ६५ कैलाली कञ्चनपुरबाट लोकेन्द्रबहादुर शाह : ६,५४४
– क्षेत्र नम्बर ६६ डडेलधुराबाट द्वारिकादेवी ठकुरानी : ३,९०३
– क्षेत्र नम्बर ६७ बैतडी पूर्व दक्षिणबाट दुर्गादत्त जोशी : ५,२६४
– क्षेत्र नम्बर ६८ बैतडी पश्चिम उत्तरबाट कृष्णराज लेखक : ५,६६१
– क्षेत्र नम्बर ६९ बझाङबाट कर्णबहादुर सिंह : ३,३१७
– क्षेत्र नम्बर ७० थरला डोटी उत्तरबाट शिवराज पन्त : ५,१९९
– क्षेत्र नम्बर ७१ डोटी दक्षिणबाट शिवराज पन्त : ७,२३६
– क्षेत्र नम्बर ७२ अछाम बाजुराबाट दिलबहादुर बुढा थापा : ९,६०५
– क्षेत्र नम्बर ७६ दैलेख मध्यबाट भक्तबहादुर शाही : २,२८२
– क्षेत्र नम्बर ७७ दैलेख पूर्वबाट नीरबहादुर पछाई : २,०४४
– क्षेत्र नम्बर ७८ सल्यान उत्तर पश्चिमबाट राजा स्वयंप्रकाशविक्रम शाह : १०,२८१
– क्षेत्र नम्बर ७९ सल्यान मध्य पश्चिमबाट नेवबहादुर मल्ल : ६,०१६
– क्षेत्र नम्बर ८० सल्यान दक्षिण पूर्व फलाङ दाङ उत्तर पश्चिमबाट गणेशकुमार शर्मा : ८,८७७
– क्षेत्र नम्बर ८१ सल्यान मध्य पूर्व दक्षिणबाट जुद्धबहादुर खत्री : ४,४१९
– क्षेत्र नम्बर ८२ सल्यान उत्तर पूर्वबाट टेकबहादुर घर्ती क्षेत्री : ५,४२८
– क्षेत्र नम्बर ८३ प्युठान संखुवासभाबाट खडानन्द पाध्या : ४,६८४
– क्षेत्र नम्बर ८४ प्युठान मध्य पूर्वबाट अनिरुद्ध पाध्या : ७,८८८
– क्षेत्र नम्बर ८५ प्युठान पूर्वबाट पं. पुरुषेत्तम शर्मा : ३,९८७
– क्षेत्र नम्बर ८६ बाग्लुङ दक्षिण पश्चिमबाट राजा भरतबम मल्ल : ८,२२२
– क्षेत्र नम्बर ८७ बाग्लुङ उत्तरबाट योगेन्द्रमान शेरचन : १०,६११
– क्षेत्र नम्बर ८९ गुल्मी उत्तर पूर्वबाट क.प. गिरिप्रसाद बुढाथोकी : ८,३६२
– क्षेत्र नम्बर ९० गुल्मीबाट निलाम्बर पन्थी : ९,४८४
– क्षेत्र नम्बर ९१ गुल्मी दक्षिण पश्चिमबाट सुवर्णशमशेर राणा : १३,५०७
– क्षेत्र नम्बर ९२ गुल्मी मध्य पूर्वबाट काशीनाथ गौतम : ८,८५९
– क्षेत्र नम्बर ९३ पाल्पा पश्चिमबाट अच्युतराज रेग्मी : ६,२८२
– क्षेत्र नम्बर ९५ नुवाकोट दक्षिण पूर्वबाट जमानसिंह गुरुङ : १३,८१०
– क्षेत्र नम्बर ९६ नुवाकोट दक्षिण पश्चिमबाट यमबहादुर ठकुरी : ११,३०२
– क्षेत्र नम्बर ९७ नुवाकोट मध्यबाट डिकबहादुर गुरुङ : १०,११४
– क्षेत्र नम्बर ९९ पोखरा पश्चिमबाट मीनबहादुर गुरुङ : ९,४७९
– क्षेत्र नम्बर १०० पोखरा मध्यबाट श्रीकान्त अधिकारी : १०,१०६
– क्षेत्र नम्बर १०१ पोखरा पूर्वबाट नरेन्द्रजङ गुरुङ : ८,३६७
– क्षेत्र नम्बर १०२ पोखरा दक्षिण पश्चिमबाट पद्मबहादुर आले : १२,२३७
– क्षेत्र नम्बर १०३ पोखरा दक्षिण पूर्वबाट श्रीभद्र शर्मा : ६,२४०