गृहमन्त्रीकै संरक्षणमा नेविसंघले त्रिविमा वितण्डा मच्चाएको अनेरास्ववियुको आरोप – Nepal Press

गृहमन्त्रीकै संरक्षणमा नेविसंघले त्रिविमा वितण्डा मच्चाएको अनेरास्ववियुको आरोप

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गृहमन्त्रीकै संरक्षणमा नेविसंघको एक जत्थाले त्रिविमा वितण्डा मच्चाएको आरोप लगाएको छ । अखिल अध्यक्ष सुनीता बरालले एक विज्ञप्ति जारी गर्दै सो आरोप लगाएकी हुन् ।

सरकार देशकै ठूलो त्रिभुवन विश्वविद्याललाई सेन्टर फर एक्सलेन्स नभएर सेन्टर फर क्रिमिनल एक्टिभिटिज बनाउन क्रियाशील भएको उनले बताएकी छन् ।  विगत ५ महिनादेखि सत्ताकै नेतृत्व गरेको दल नेपाली कांग्रेस निकट नेविसंघले गरेको तालाबन्दी अनेरास्ववियुले खुलाए पनि केही दिनदेखि संघको झुण्डले त्रिवि केन्द्रीय कार्यालय तालाबन्दी गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, अवरोध सिर्जना गर्ने र कार्यालयमा प्रवेश गरी भौतिक संरचना तोडफोड गर्ने लगायतका गतिविधि गरिरहेकाे विज्ञप्तिमा उल्लेख छ ।

कार्यकारी परिषदको बैठकमा प्रवेश गरी हातपात गर्ने र महत्वपूर्ण कागजात खोस्ने/कब्जा गर्ने जस्ता अराजक कार्यहरु समेत गरिरहेकाे भन्दै  विश्वविद्यालयलाई गैरप्राज्ञिकको हातमा सुम्पिएर त्रिविलाई असफल बनाउन खोजिएको बरालले दावी गरेकी छन् । यस्ताे कार्यमा गृहमन्त्री बालकृष्ण खाँणको समेत प्रत्यक्ष संरक्षण रहेको उनले बताएकी छन् ।

त्रिविमा देखिएका समस्याहरु सरकारले समाधान गर्ने विश्वास रहेको भए पनि त्यसप्रति प्रधानमन्त्री एवम् त्रिवि कुलपति शेरबहादुर देउवा र गृहमन्त्री खाँण मुकदर्शक बनेको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो अपेक्षा थियो सरकार विश्वविद्यालय समस्या समाधानप्रति संवेदनशील हुनेछ, विडम्बना वर्तमान गृहमन्त्री बालकृष्ण खाँडको प्रत्यक्ष संरक्षणमा, आफुलाई ने.वि.संघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालयमा यस्ता गतिविधिहरु भइराखेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता अपराधजन्य कार्यमा संलग्नहरुलाई संरक्षण नगर्न पनि संगठनले प्राज्ञिक संघ र नेवि संघलाई आग्रह गरेको छ ।

‘विश्वविद्यालयहरुको नेतृत्व गरिरहेका कुलपति तथा प्रधानमन्त्री देशकै ठुलो विश्वविद्यालयको समस्याप्रति बेखबर जसरी आँखामा पट्टि र कानमा तेल हालेर बसिरहनुले सरकार त्रि.वि.लाई सेन्टर फर एक्सलेन्स बनाउन होइन सेन्टर फर क्रिमिनल एक्टिभिटिज बनाउन आफैं क्रियाशील छ भन्नेले  पुष्टि पनि गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर