पान पसले कमलाको अनुभव: धेरैले बिहारी हो भनेर सोध्छन्
इटहरी । इटहरीका २० वटा वडामा जेनतेन पान पसल तीन दर्जन छन् । यसमध्ये फरक पान पसल सञ्चालक हुन् कमला निरौला । उनले इटहरीमा पान पसल गरेको दुई दशक नाघिसक्यो ।
इटहरीको चौरास्ताबाट केही भित्र रहेको संगीत चौकमा उनले २१ वर्ष अगाडि पान पसल सुरु गरेकी थिइन् निरौलाले इटहरी बसपार्क क्षेत्रको कलंकी, इटहरी आइतबारे लाइनमा डेरा फेरिफेरि पसल गरिन् । तर, उनले व्यवसाय भने फेरेकी छैनन् ।
महाभाराको दुःखले जुराएको पान पसल
कमलाको पुरानो घर झापाको महाभारा हो । महाभाराको चौरी चोक क्षेत्रमा बस्ने उनको परिवारको तीन बिगाहा जग्गा थियो । त्यसैको उब्जनीले परिवारलाई छेलोखेलो थियो । एक दिनको माई खोलाको बाढीले त्यो सबै अध्याय अन्त्य गर्यो । कमलाको परिवार घरबारविहीन त भएन । परिवारका सदस्य र चौपाया कसैको ज्यान तलमाथि भएन । तर, माई खोलाको भेलले खेतबारी बढार्यो ।
माई खोला महाभाराको खेतमा पसेपछि निरौला परिवार गाउँबाट विस्थापित हुनुपर्यो । कमला कामको सिलसिलामा इटहरी आइन् । इटहरी आएर संगीत चौकमा कस्मेटिक्स पसल सुरु गरिन् । कस्मेटिक्सले खासै भाका टिपेन । उनले कस्मेटिक्स व्यापार त्यागिन् । अरु विकल्प खोज्न थालिन् । त्यसै क्रममा आएको आइडिया हो कमला पान पसल ।
पान पसल खोल्ने क्रममा उनलाई ग्राहकहरु उमाकान्त सापकोटा, वासु श्रेष्ठ, लक्ष्मी निरौला, ध्रुव सुब्बालगायतले पान राम्रो हुने सल्लाह दिए । उनले त्यसै गरिन् । खासमा उनलाई पान बनाउन पनि आउँदैनथ्यो । ग्राहकले नै तरिका दिए । उनले सिकिन् । ‘मलाई पान बनाउन ग्राहक र समयले सिकाएको हो’, कमला भन्छिन्, ‘पूर्ण आत्मबलसहित पान बनाउन तीन वर्ष लाग्यो । सुरुमा त ओरिजिनल र डुब्लिकेट जर्दा छुट्याउनै गाह्रो हुन्थ्यो ।’
दुःख गरेर पान बनाउने जाने पनि उनको पान भने राम्रोसँग चलेको थियो । संकटकालको समयमा उनको पसलमा पान खान इटहरीको पूर्वी पृतनाका सैनिकहरु गाडीमै आउने गरेको निरौला सुनाउँछिन् ।
‘धेरैले तपाईं बिहारी हो भनेर सोध्छन्’
आफू पान नखाने कमला अरु धेरैलाई पान खुवाउँछिन् । २१ वर्ष हाराहारीको पान व्यापारको क्रममा उनले जम्माजम्मी १० वटामात्रै मिठ्ठा पान खाएको बताइन् । उनको पानको स्वाद बसेपछि मान्छेहरु दोहोर्याएर आउँछन् । धरान, इनरुवा, विराटनगरका कर्मचारीहरु इटहरी आउने वेला उनकै पसलमा आएर एक खिल्ली पान खाएर जाने निरौलाको अनुभव छ ।
इटहरीकै गिनेचुनेका नेताहरु पनि उनको पान पसलमा आउँछन् । इटहरीका मेयर हेमकर्ण पौडेल जर्दा १६० पान खान धेरैपटक कमलाको पसल पुगेका छन् । नेपाली कांग्रेसका इनरुवा निवासी प्रदेश १ का प्रमुख सचेतक राजीव कोइरालाले पनि कमलाको पसलमा आएर जर्दा १६० पान धेरैपटक खाएका छन् । नेकपा एमालेका प्रदेश १ सांसद तथा इटहरीका प्रथम मेयर सर्वध्वज साँवा पनि कमला पान पसलमा तुलसी पान खान पुगिरहेका हुन्छन् ।
गत स्थानीय चुनावमा इटहरीका स्वतन्त्र मेयर उम्मेदवार पदम अधिकारीको मीठा पान खाने प्रमुख अड्डा कमला पान पसल नै हो ।
कमलाले २१ वर्ष अगाडि पान पसल सुरु गर्दा भाडा ५०० रुपैयाँ थियो । अहिले बढेर १० हजार पुगेको छ । पान पसलको भाडा २० गुणाले बढेको छ । पानको मूल्य भने त्यस अनुपातमा बढेको छैन । २१ वर्ष अगाडि उनी मीठा पान ५ रुपैयाँ र जर्दा पान १० रुपैयाँमा बेच्थिन् । अहिले मीठा पानको दाम ५० रुपैयाँ छ । जर्दा पानको दाम ४० देखी ५० हेरीहेरी छ । पानमा १० गुणामात्रै दाम बढेको छ । तर, बहाल भने २० गुणाले बढेको कमला बताउँछिन् ।
बिहान साढे ६ देखि राति साढे ८ बजेसम्म उनी पसलमा खट्छिन् । दुःखविराम र पारिवारिक अपरझट काममा बाहेक उनी पसलमै हुन्छिन् । उनको दैनिक व्यापार अहिले थोरैमा ८ हजार र धेरैमा १५ हजारसम्म हुन्छ । पानका अतिरिक्त पानी, चिसोलगायत सामग्री बिक्री गर्ने उनले दैनिक पाँच हजारभन्दा बढी व्यापार हुँदामात्रै लगानी र भाडा उठ्ने बताउँछिन् । उनका अनुसार अहिलेसम्म उठिरहेको छ ।
उनले पान केटाले खाने र केटीले खाने छुट्टछुट्टै हुन्छ भन्ने नभएको सुनाइन । समाजमा केटाले जर्दा र केटीले मीठा पान खान्छन् भन्ने चलन छ । ‘मान्छेहरुले केटाले जर्दा र केटीले मीठा पान खाने जस्तो कुरा गर्छन्’, कमला भन्छिन्, ‘केटीहरुले पनि जर्दा पान खान्छन् । केटाहरुले पनि मीठा पान खान्छन् ।’
कमलाको सबैभन्दा रोचक अनुभव चै उनलाई कसैले पनि सुरुमै बाहुनको छोरी/बुहारी भन्ने सोच्दैनन् । ‘धेरैले तपाईं बिहारी हो भनेर सोध्छन्’, उनी भन्छिन्, ‘कसैकसैले त तपाईं माडवारी हो भनेर पनि सोध्छन् ।’
कतिपयले यस्तो पेशा गरेको भन्दै हेप्ने खालका कुरा पनि गर्ने गरेको कमला सुनाउँछिन् । तर, नकारात्मक कुराले उनलाई केही असर परेको छैन । उनी आफ्नो कामलाई माया गर्छिन् । उनका श्रीमान ध्रुव हाल विदेशमा छन् । उनका छोरा काठमाडौंमा बसेर फार्मेसी पढिरहेका छन् ।
पान पसलकै कारण उनको दैनिक घरखर्च सहज भएको छ । दुईदुई महिनामा काठमाडौंमा उपचारको फलोअपमा जाने खर्चको जोहो पनि पान पसलबाटै भएको छ । उनको इटहरीको हलगडामा रहेको घर बनाउन २० वर्षदेखि साउदीमा रहेका श्रीमानको प्रमुख योगदान छ । तर, उनको घरखर्च चलाउन र दुःखविरामको खर्चमा पान पसलले धेरै सघाएको कमला बताउँछिन् । भन्छिन् ‘पान पसलले सबैथोक नदिए पनि धेरै थोक दिएको छ ।’
साउदीमा रहेका श्रीमान स्वदेश फर्किने सुरसार गर्दैछन् । यता कमला पनि श्रीमानलाई केही समय पान पसल र केही समय उनले जानेको बत्तीको सीपमा लगाएर इलम गर्ने तयारीको सुरसारमा छिन् । कुनै बेला महाभाराबाट माईले बगाएको निरौला परिवारको खेत अहिले खेती गर्न मिल्ने भएको छ । दुई दशक अगाडि इटहरी आएका उनीहरु यतै अडिएका छन्, महाभारा गएका छैनन् ।
‘नेपाली पानको पत्ता स्वादिला छैनन्’
पानका विभिन्न आइटम बेच्ने कमला मीठा पानमा १२ चिजबिच राख्छिन् । चेरी, छगडा, काजु, मिक्चर भुजिया, सुप, नरिवल, सुकुमेल, सुपारी, गुलकन, चट्नी आदि मिसाइन्छ । यस्तै जर्दा पानमा भने तुलसी, किमाम, कच्चा सुपारी, सुकुमेल आदि मिसाएर बनाउँछिन् ।
कमला पान सबै चिजबिज भारतबाटै आयात हुने बताउँछिन् । उनले इटहरी र विराटनगरबाट पानका चिजबिच किन्ने गर्छिन् । नेपाली पानको पातमा उनको विश्वास छैन । लकडाउनमा उनले प्रयोग नगरेको पनि होइन । तर, राम्रो स्वाद नआएको उनले सुनाइन् । ‘नेपाली पान प्रयोग गरौं भनेर प्रयास गरेको स्वादिलो भएन, टर्रो पाइयो’, कमला भन्छिन्, ‘नेपाली पानको पात ग्राहकले पनि मन पराएनन् ।’
पानको पातको जतन गर्न पानीमा हाल्नुपर्छ । नत्र नरम भएर पानमा प्रयोग गर्न काम नलाग्ने उनले बताइन् । कमला भन्छिन्, ‘पानको पात नरम नहोस् भनेर नै पानीमा राखिन्छ । राम्रो स्वाद पाउन एक हप्ता पातलाई पानीमा राख्न सकिन्छ ।’