१६ लाख अमेरिकी मेक्सिको बसाइ सरे, महँगीले मेक्सिकोका नागरिक विस्थापित
काठमाडौं । अमेरिकाबाट बसाइ सर्नेहरुको संख्या बढेसँगै मेक्सिकोमा महँगीको समस्या देखिएको छ । कोरोना महामारी निष्क्रिय भए पनि अमेरिकाका धेरै कम्पनीले ‘वर्क फ्रम होम’ को प्रावधानलाई निरन्तरता दिइरहेका छन् । जसले अमेरिकी मेक्सिको बसाइ सर्न थालेका हुन् ।
तुलनात्मक रुपमा अमेरिकाभन्दा मेक्सिकोको बसाइ सस्तो छ । त्यसैले अहिले अमेरिकीहरु धमाधम मेक्सिको बसाई सर्न थालेका हुन् ।
अमेरिकाको स्टेट विभागको तथ्याकंअनुसार हाल मेक्सिकोमा १६ लाखभन्दा बढी अमेरिकीहरु बस्दै आएका छन् । मेक्सिको सरकारको तथ्याकंअनुसार जनवरीदेखि मईसम्म ५३ लाख अमेरिकीहरुले मेक्सिको भ्रमण गरेका छन् ।
अमेरिकीहरुको मेक्सिको मोह बढ्दै गएको छ । यसबारे मेक्सिकोमा मिश्रित प्रतिक्रिया जनाइएको छ । शहरका कतिपय ठाउँमा घर तथा अपार्टमेन्ट भाडामा लगाउन रंगरोगन तथा मर्मतसम्भार बढिरहेको छ । कतै ‘प्लिज लिभ, वि डन्ट वान्ट यु हियर’ लेखिएका पोस्टरसमेत टाँसिएको छ ।
अमेरिकीहरुको आगमनले स्थानीयले समेत महँगी झेल्नुपरेको छ । जसकारण कैयौं स्थानीय शहरबाट विस्थापित हुन बाध्य भएकोसमेत समाचारमा जनाइएको छ । मेक्सिकोले यो वर्षको सुरुवाती पाचँ महिनामा मात्र पर्यटनमार्फत ९२ हजार करोड आम्दानी गरेको मेक्सिको पर्यटन विभागको भनाइ छ ।