विद्यालयमा विद्यार्थी कुटपिट प्रकरणः घटना बाहिर ल्याएपछि ज्यान मार्ने धम्की आयो- अभिभावक (भिडिओ) – Nepal Press

विद्यालयमा विद्यार्थी कुटपिट प्रकरणः घटना बाहिर ल्याएपछि ज्यान मार्ने धम्की आयो- अभिभावक (भिडिओ)

रुपन्देही । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकको कुटाइबाट घाइते विद्यार्थीका अभिभावकले घटना बाहिर ल्याएको आफूहरुलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

अभिभावकले मंगलबर रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशको कार्यालय पत्रकार सम्मेलन गर्दै .स्कुलबाट ज्यान मार्ने धम्की आएको बताएका हुन ।

पत्रकार सम्मेलनमा पीडित विद्यार्थी जेनित रायमाझीले भने, ‘क्लास चलिरहेको वेलामा म मुसुक्क हाँसेको हुँ । मेरो कमजोरी त्यतिमात्रै हो । त्यही निहुँमा मलाई सरले झर्केर बोलाउनु भयो । म सरकहाँ गएर भनें सर हाँसेकोमा गल्ती भयो माफी पाऊँ । तर, सरले किन हाँसेको, किन हाँसेको भन्दै मेरो गालामा हान्नुभयो । पटक-पटक गरी मलाई हानिरहनुभयो । जुन कुटपिटले म घाइते बन्न पुगें । एकछिनसम्म कान बन्द, अचेतजस्तै भएँ । अहिले पनि म त्यही पिटाइले गर्दा वेला वेलामा झस्किरहन्छु ।’

रुपन्देहीको तिलोत्तमा नगरपालिका- ५ घर भएका जेनितलाई दीप बोर्डिङ हाई स्कुलका शिक्षक एकराज गुरागाईंले निर्घात कुटपिट गरेर घाइते बनाएका थिए । सोमबार कुटपिटपछि जेनित घर गए । उनकी आमा चन्दाले फोन गरेर विद्यालयका प्राचार्य टीकाराम न्यौपानेलाई कुटपिटबारे सोधपुछ गरिन् । त्यसवेला उल्टै प्राचार्य न्यौपानेले ‘तँ को होस् ? तेरो हैसियत के हो ? मसँग यसरी बोल्ने तमिज त्यही हो ?’ भन्दै थर्काएको चन्दाले बताइन् ।

पीडित विद्यार्थीका बुवा डीबी रायमाझीले विद्यार्थीलाई कुटपिट गर्ने र यातना दिने व्यवहार दीप बोर्डिङ स्कुलको नयाँ नभएको बताए । आफ्नो छोरालाई कुटपिट भएकोबारे मिडियासँग कुराकानी गर्दा ४/५ जनाको फोन आएको भन्दै उनले पत्रकार सम्मेलन गरेमा ज्यान मार्ने धम्की आएकाले बाध्य भएरै पत्रकार सम्मेलन गरेको उल्लेख गरे ।

‘छोरा अब त्यो स्कुल जान्न भन्छ । अहिले कक्षा १० मा अध्ययन गर्दैछ । स्कुलका कारणले छोराको पढाइ बिग्रिने भयो । अब यसको जिम्मेवारी कसले लिने ?’, डीबीले भने, ‘अझ ज्यान मार्ने धम्की दिएको छ । यसको बारेमा सम्बन्धित निकायले पक्कै पनि ध्यान दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

ज्यान मार्ने धम्की नआएको भए र स्कुलले कुटपिट गर्ने शिक्षकलाई कारबाही गरेको भए पत्रकार सम्मेलन गर्न बाध्य नहुने उनको भनाइ थियो । ‘हाम्रो माग शिक्षकमाथि कारबाही होस् भन्ने हो । अरु केही छैन’, अभिभावक रायमाझीले भने ।

विद्यालयका प्राचार्य न्यौपानेले विद्यार्थी र शिक्षकमाथि तानाशाह शैली चलाउँदै आएका धेरै तथ्यहरु बाहिर आउन नसकेको उनको आरोप थियो ।

कार्यक्रममा नेपाल अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले ३० वर्ष अगाडिको जस्तै घोकन्ते, रटन्ते शैली विद्यालयमा चलाउन नपाइने बताए । उनले दीप बोर्डिङले विद्यार्थीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको औंल्याए ।

‘स्कुल मुस्कान संस्कारसहितको अध्यापन दिने ठाउँ हो । दण्ड दिने नियम कहीकतै नभएकाले उक्त कार्य ठीक छैन’, उनले भने ।
अध्यक्ष ज्ञवालीले विद्यार्थीले गल्ती गरेमा अभिभावकलाई जानकारी दिएर सचेत गराएमा सुधार गर्न सकिने सुझाए ।

स्कुलका प्राचार्य न्यौपानेले शिक्षकले पिटेको सीसीटीभीमा देखिएको र गल्ती स्वीकार गरेको बताउँदै अन्य विषय अनावश्यक उचालिएको सुनाए । ‘काम गर्दा कमजोरी हुन्छ । त्यसमा हामी सबै विषयमा छलफल गर्न तयार छौं’, उनले भने, ‘तर, हामीसँग छलफल नगरी बाहिर अनावश्यक प्रचार गरेर उहाँहरुलाई फाइदा हुने होइन । घाइते विद्यार्थीको घरमै व्यवस्थापन समिति पुगेर छलफल गरेको छ ।’

घाइते विद्यार्थीका बुवा डीबी ८ वर्ष सोही स्कुलमा प्लस टु को-अर्डिनेटर भएर काम गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *