बंगुर स्याहार्दै पूर्वनेपाली सैनिक टेमबहादुर, भन्छन् : पेन्सन खाँदै कुँजिएर बस्न मनले मानेन – Nepal Press

बंगुर स्याहार्दै पूर्वनेपाली सैनिक टेमबहादुर, भन्छन् : पेन्सन खाँदै कुँजिएर बस्न मनले मानेन

रुपन्देही । सरकारी सेवाबाट निवृत्त धेरैले रमाइलो गरेर बाँकी जीवन चलाउने गरे पनि केही व्यक्तिले समाजमा उदाहरणीय काम गरेर आम्दानीमात्रै बढाएका छैनन् चर्चा पनि कमाएका छन् । ३६ वर्षको उमेरमा नेपाली सेनाको जमदारबाट निवृत्त पाल्पाको तिनाउ गाउँपालिका- ६ सिस्नेखोलाका टेमबहादुर बगाले मगरले गाउँमै आधुनिक उद्यम सञ्चालन गरेर नयाँ सन्देश दिएका छन् ।

४ जनाको परिवारका सदस्य टेमबहादुरकी श्रीमती रीत पालिकामै नर्सिङ इन्चार्ज छिन् । उनको सेवा पनि १९ वर्ष पुगिसकेको छ । आफ्नो पेन्सन र श्रीमतिको सरकारी जागिर हुँदा पनि टेमबहादुरले आरामको जिन्दगी बिताएनन् । गाउँमा उद्यम सञ्चालन गरेर स्थानीयलाई ऊर्जा दिइरहेका छन् उनी । गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन यो अभियान थालेको टेमबहादुर बताउँछन् ।

२०३८ सालमा जन्मेका टेमबहादुर नेपाली सेनामा १८ वर्ष सेवा गरेर २०७४ साल मंसिरमा निवृत्त भएका हुन् । विकासका हिसाबले पछाडि परेको गाउँमा सानो भए पनि रोजगारी सृजना गर्न र स्थानीयलाई उद्यमशील बन्न प्रेरित गर्न यो क्षेत्रमा लगानी गरेको उनी बताउँछन् ।

तिनाउ गाउँपालिकाको अर्घले गाउँको पुछारमा रहेको सिस्नेखोलामाथि बाटोसँगै चिटिक्क परेको सुन्दर घर छ टेमबहादुरको । उमेरले ४१ टेक्दै गरेका उनले आधुनिक बंगुरपालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । उनले भूपू सैनिक बंगुर तथा कृषि पशुपंक्षी फर्म सञ्चालनमा ल्याएका हुन् ।

क्षेत्रीय पशु सेवा तालिम केन्द्र पोखराबाट उनले व्यवसायिक व्यवहारिक बंगुरपालनसम्बन्धी पहिलो चरणको १२ दिने र ४ दिने पुनर्ताजगी तालिम लिइसकेका छन् । बंगुरपालन उनको रहर र बाध्यता दुबै हो ।

‘जागिरबाट निवृत्त भएपछि बंगुरपालनसम्बन्धी आफूसँग रहेको हल्का ज्ञान र सीपलाई सदुपयोग गर्ने निधो गरें । उमेरमै हात बाँधेर पेन्सन खाँदै बस्न मन लागेन । नेपाली सेनामा रहँदा शारीरिक कसरत, व्यायाम गरेको मान्छे घरमा कुँजिएर बस्न मन पनि लागेन । अनि बंगुर, कुखुरा र हाँसपालन गर्ने सोच बनाएको हो’, उनले व्यवसाय प्रवेशबारे सुनाए ।

उनले व्यवसाय थालेको चार वर्ष पुगेको छ । आफ्नै जग्गामा आधुनिक र व्यवस्थित खोर बनाएका छन् । बंगुरलाई हुने रोग र औषधिबारे टेमबहादुरलाई जानकारीसमेत रहेको छ । उनले लान्ड्रेड, डिउरोक/न्यू ह्याम्सेर जातका बंगुर पालेका छन् । उनीसँग चार वटा भाले (बीर) र २० वटा बंगुरका माउ छन् । उद्यम सुरु गर्दा उनीसँग ३८ वटा माउ बंगुर थिए । मासुभन्दा बच्चा बेच्ने उनको मूल उद्देश्य रहेको छ ।

प्रायः पाठीले सात महिनापछि बीर खोज्छ । गर्भधारण गरेको ११४ दिन अर्थात् तीन महिना, तीन हप्ता, तीन दिनमा व्याउँछ । १४ महिनामा बंगुर तीन पटकसम्म ब्याउने उनले जानकारी दिए । तर, प्रायः एक वर्षमा दुईपटक ब्याउने उनले सुनाए ।

उनले पालेको माउ बंगुरले एक पटकमा १५/१६ वटा पाठापाठी जन्माउँछ । जन्मेकामध्ये ८/१० वटा पाठापाठी बचाउन सकिए धन्य मान्नुपर्ने उनले बताए ।

खासगरी आइरनको कमीले रक्तअल्पता हुने, बच्चाले हुलमुलमा दूध चुस्न नपाउने, कहिलेकाहीं थुनेलो भई दूध नपुग्ने र माउले नै पाठापाठी च्याँप्ने भएकाले सबैलाई बचाउन मुस्किल पर्ने टेमबहादुर बताउँछन् ।

उनका अनुसार पाठापाठी ३०/३५ दिनको भएपछि बेच्न मिल्छ । बंगुरमा कहिलेकाहीं हैजा, खोरेत, भ्याुगते रोग, रक्तअल्पता जस्ता समस्या देखिने उनको भनाइ छ । उनलाई ती सबै कुराहरु अनुभवले सिकाएका हुन् ।

वर्षमा न्यूनत्तम तीन सय वटा बंगुरका बच्चा गोटाको ६ हजार रुपैयाँका दरले बेच्दै आएका लोकल कुखुरा, हाँससमेत बेचेर वर्षमा २०/२२ लाख आर्थिक कारोबार हुने टेमबहादुर बताउँछन् । ‘बंगुरका लागि दाना, ओखती, कामदार ज्याला, बिजुली बत्तीलगायत सबै खर्च कटाएर वर्षमा पाँच लाख बढी आम्दानी हुन्छ’, उनले भने, ‘बंगुरलाई स्थानीय दानापानीको व्यवस्थापन गरेर पाल्न सकिन्छ । मकैको च्याँख्ला, गहुँको पीठो, चोकर, धानको धुटो, भटमासको पीठो, हाडको धूलो, नून, खनिज पदार्थ, भिटामिन र सिद्रा प्रयोग गर्न सकिन्छ ।’

दानामा १५ देखि २० प्रतिशत जौ, क्लोभर, लुर्सुन र बर्सिम जातका कोमल घाँसको प्रयोग गरेमा बंगुर हर्लक्कै बढ्ने र आम्दानी धेरै लिन सकिने उनी बताउँछन् ।

निरन्तर मेहनत, राम्रो उद्यम गरेवापत टेमबहादुरले तिनाउ गाउँपालिकाबाट ५० हजार र जिल्ला पशुपंक्षी ज्ञान केन्द्रबाट २०७६ सालमा एक लाख आर्थिक अनुदान पाएका छन् । नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेण्ट बैंकबाट २०७६ सालमै टेमबहादुर सर्वोत्कृष्ट उद्यमीको प्रशंसा पत्र र तक्मा पाएका छन् । ‘सम्मानले सफल उद्यमी बन्न थप प्रेरणा मिलेको छ’, उनले भने ।

बंगुरपालनसम्बन्धी सिक्न चाहने युवाहरुलाई टेमबहादुरले आफूले जानेका ज्ञान, सीप र व्यवहारिक कुरा सिकाउँदै आएका छन् । उनले बंगुरका पाठापाठी पाउँदा गरिने स्याहारसुसार र दानापानीको व्यवस्थापनका बारेमा सिकाउँदै आएको बताउँछन् । ‘माउ बंगुरलाई पाठापाठी पाउनुभन्दा दुई हप्ता अघिदेखि नै ख्याल गर्नुपर्छ’, उनले भने, ‘पाठापाठी पाइसकेपछि झन् विशेष ध्यान दिनुपर्छ ।’

टेमबहादुरलाई उनकी जागिरे श्रीमती रीताले पनि फुर्सदमा सहयोग गर्छिन् । उनले बंगुरपालनसँगै ११ रोपनी जग्गामा ६ हजार रेन्बो ट्राउट माछा परीक्षणस्वरुप पाल्न थालेका छन् ।

पाल्पामा चिसोपानी रहने ठाउँ सिस्नेखोला हो । गर्मी समयमा यसको मूलमा १९ र माँझ अनि पुछारमा तापक्रम २० डिग्री सेल्सियस छ । निकट भविष्यमै लोकल बंगुर, कुखुरा, खसी, बोका र हाँसका परिकार उपलब्ध गराउने गरी अर्गानिक रिसोर्ट सञ्चालन गर्ने सोच बनाएको उनले जानकारी दिए । सोचअनुसार कामसमेत अघि बढिरहेको उनको भनाइ छ ।

बंगुर फार्मको सुरुको लगानी १८ लाख भए पनि घर, खोर तथा अन्य संरचनामा धेरै खर्च भएको उनी बताउँछन् । ‘आन्तरिक प्रतिस्पर्धा धेरै छ, ससानो रुपमा घरमा पाल्नेहरुले बजारको महत्व र दररेट नबुझ्दा व्यवसायीलाई मूल्यमा समस्या परेको छ’, टेमबहादुरले भने, ‘तर, म र मेरो परिवार सन्तुष्ट छौं, काम गर्न जाँगर चलेको छ ।’

टेमबहादुरको उद्यमले अरुलाई ऊर्जा मिलेको स्थानीय दलबहादुर गुरुङ बताउँछन् । ‘टेमबहादुरले उद्यम गर्न थालेपछि सानो काम गर्न पनि शहर पस्नेहरुलाई गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ’, गुरुङ भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *