प्रधानमन्त्री देउवा भारत गएर म्याउँम्याउँ गरे : ओली
कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाएका छन् ।
महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नसकेको ओलीले आरोप लगाए । लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवाले कुरा उठाउन नसकेको आरोप लगाए ।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवालमा कुरा गर्न सक्नु भएन’, उनले भने, ‘प्रधानमन्त्री देउवा भारत भ्रमणमा म्याउँम्याउँ गर्नुभयो ।’
गठबन्धन तत्काल टुट्ने अवस्था नरहेकोसमेत ओलीको बुझाइ थियो । ‘यो गठबन्धन आफैं बनेको होइन अरु कसैले टाउको जोडिदिएको हो’, अध्यक्ष ओलीले भने, ‘उनीहरु आफैं जुटेका पनि होइन आफैं फुट्दैनन् ।’
गठबन्धनको फूर्ति मंसिर ४ सम्म मात्र रहेको ओलीले टिप्पणी गरे । माथिका नेता गठबन्धनमा मस्त रहेको भन्दै ओलीले बताए ।
गठबन्धनका पूर्वमन्त्रीसहितका नेताहरूलाई एमालेमा स्वागत गर्न कंचनपुर पुगेका ओलि आजै काठमाडौं फर्किनेछन् ।