राष्ट्र बैंक ऐनलाई टेकेर प्रहरी आफैंले थाल्यो हुन्डी कारोबारीमाथि अनुसन्धान – Nepal Press

राष्ट्र बैंक ऐनलाई टेकेर प्रहरी आफैंले थाल्यो हुन्डी कारोबारीमाथि अनुसन्धान

काठमाडौं । स्रोत नखुलेको रकसहित पक्राउ परेका व्यक्तिमाथि प्रहरी आफैंले अनुसन्धान सुरू गर्न थालेको छ । यसअघि यस्ता व्यक्तिलाई सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागलाई अनुसन्धान र कारवाहीका लागि बुझाउँदै आएको थियो ।

प्रहरीले राष्ट्र बैंक ऐन २०५८ मा टेकेर आफैंले अनुसन्धान सुरू गरेको हो । साउन १८ गते काठमाडौंबाट ४९ लाख ५० हजार रूपैयाँसहित पक्राउ परेका २४ वर्षीय धावा घ्याल्चेनलाई अनुसन्धानपछि पुर्पक्षका लागि थुनामा पठाइएको छ । बाइकमा सवार उनी काठमाडौं महानगरपालिका-६ भृकुटी चोकबाट ३२ लाख रूपैयाँसहित पक्राउ परेका थिए । प्रहरीका अनुसार उनको डेराबाट थप १७ लाख ५० हजार बरामद भएको थियो ।

ताइवानबाट हुन्डीमार्फत आएको पैसा लिएर हिँड्ने क्रममा उनी पक्राउ परेको प्रहरीको भनाइ छ । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले स्रोत नखुलेको रकमसहित व्यक्ति पक्राउ परेका घटनामा पहिलोपटक प्रहरी आफैंले अनुसन्धान थालेको बताए ।

‘हाम्रो अनुसन्धानको प्रभावस्वरूप राम्रो पनि भयो । अभियुक्त पुर्पक्षका लागि थुनामा गएका छन्’, एसपी मैनालीले भने । धावाविरुद्ध राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार मागदाबी लिएर अभियोगपत्र दर्ता भएको थियो । यो कसुरमा उनी दोषी ठहर भए बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

यसअघि सम्पत्ति शुद्धीकरण विभागले कुनै अपराधमा भूमिका नदेखिएको अवस्थामा यसरी स्रोत नखुलेको भनेर पैसासहित पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्न गाह्रो हुने बताउँदै आएको थियो । विभागले कुनै अपराधमा मुछिएका व्यक्तिको सम्पत्ति गैरकानुनी भएको हुन सक्ने आशंका भएमामात्र अनुसन्धान गर्ने गरेको छ ।

यता राजस्व अनुसन्धान विभागको हकमा भने प्रहरीले सधैँ गुनासो गर्दै आएको थियो । पक्राउ परेका व्यक्तिमाथि प्रभावकारी अनुसन्धान नहुँदा आरोपीले उन्मुक्ति पाउँदै आएको प्रहरीको आरोप थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर