गृहमन्त्री खाण प्रतिनिधिसभामा रुपन्देहीका दुई क्षेत्रबाट सिफारिस, अरु क्षेत्रबाट काे-काे ? – Nepal Press

गृहमन्त्री खाण प्रतिनिधिसभामा रुपन्देहीका दुई क्षेत्रबाट सिफारिस, अरु क्षेत्रबाट काे-काे ?

रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण रुपन्देहीको क्षेत्र नं २ र ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट सिफारिसमा परेका छन् । क्षेत्र नं २ उनले २०४८ सालमा जितेको बुटवल आसपासको क्षेत्र हो भने क्षेत्र नं ३ अहिले उनी बसोबास गरेको क्षेत्र हो ।

बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले खाणसहित चार जनाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा सिफारिस गरेको हो । प्रत्यक्षतर्फ गृहमन्त्री खाणसहित युवराज गिरी, कृष्णप्रसाद पोखरेल, गोकर्ण पौडेल र चुन्नप्रसाद पौडेलको नाम सिफारिस भएको क्षेत्रीय कार्यवाहक सभापति परशुराम ढकालले जानकारी दिए ।

उनका अनुसार समानुपातिकतर्फ डा. बुद्धबहादुर थापा, चिरञ्जीवी जोशी, मनोरमा शेरचन, अर्जुन रानाभाट, रीता सेन ओली, राममाया पौडेल अर्याल, नुमा थापा, हुमकला सुवेदी र लक्ष्मी जोशीको नाम सिफारिस गरिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ह्याट्रिक गरेको यस क्षेत्रमा खाणको सिफारिसले हलचल भएको छ । यो क्षेत्रमा नेकपा एसले दावी गर्दै नेता राजु गुरुङको नाम सिफारिस गरिसकेको छ ।

यसअघि यो क्षेत्रबाट उम्मेदवारको चर्चामा रहेका गुल्मीका चन्द्र भण्डारी तथा प्युठानका गोविन्द पोखरेलको नाम भने पहिलो सूचीमै परेन । नेता भण्डारी निकट नेता-कार्यकर्ताले खाणले भण्डारीको रुपन्देही आउने बाटो रोक्न दुई ठाउँबाट सिफारिस गर्न लगाएको आरोप लगाएका छन् । उनीहरु पार्टीभित्र फरक समूहमा छन् ।

क्षेत्र नं ३ का सभापति सुशील गुरुङले क्षेत्र नं ३ बाटै गृहमन्त्री खाणको नाम सिफारिस हुने र सम्भवत त्यहीबाटै खाणको उम्मेदवारी हुने बताए ।

यसैगरी रुपन्देही क्षेत्र नं ५ बाट संघीय सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ५ कार्यसमितिको बैठकबाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्य पदमा शाहको सिफारिस भएको हो ।

शाह लगातार सो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । सो क्षेत्रमा २०७४ को स्थानीय तह निर्वाचनमा उनले एमाले-माओवादी गठबन्धनका उमेदवारलाई १३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

सोही क्षेत्रको प्रदेशसभा ख मा कांग्रेसले फकरूद्दिन खानलाई एकल सिफारिस गरेको छ । प्रदेश क तर्फ युवा नेता विष्णुप्रसाद पोख्रेलसहित ३ जनाको सिफारिस भएको छ ।

यस्तै क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा सांसद प्रमोद यादवको एकल नाम सिफारिस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर