सिद्धार्थ राजमार्गको डाइभर्सनमा पनि पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प
रूपन्देही । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ ।
निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएरातिबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको बताए ।
अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए । बिहीबार मूल बाटो भासिएपछि यो राजमार्ग अवरुद्ध बनेको हो ।