अरनिको यातायातको अध्यक्षमा १० वर्षपछि क्षेत्रीको ‘कम ब्याक’ – Nepal Press

अरनिको यातायातको अध्यक्षमा १० वर्षपछि क्षेत्रीको ‘कम ब्याक’

सिन्धुपाल्चोक । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आएको अरनिको यातायात सेवा समितिको रुपान्तरित कम्पनी पूर्व अरनिको यातायात कम्पनी प्रालिको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै क्षेत्रीले अध्यक्षमा जित हासिल गरेका हुन् ।

निर्वाचित क्षेत्रीले २९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उद्धवप्रसाद गौतमले १२६ मत ल्याएका थिए । अध्यक्षका अर्का उम्मेदवार निर्पध्वज महतले ११८ मत ल्याएका थिए ।

कम्पनीका तीन वरिष्ठ उपाध्यक्षमा हरिभक्त श्रेष्ठ, विकासकाजी श्रेष्ठ र भुवन राउत निर्वाचित भएका छन् । क्षेत्रगत उपाध्यक्षमा क्षेत्र नम्बर १ मा दिनेशकुमार श्रेष्ठ, सुरेन्द्र बस्नेत र कृष्णबहादुर पन्थ (ध्रुव) तथा सचिवमा प्रभुराम थापा निर्वाचित भएका छन् ।

निर्वाचत समिति प्रमुख श्याम लामाका अनुसार कोषाध्यक्षमा राजु पौडेल, सहसचिवमा सचिन श्रेष्ठ, सह-कोषाध्यक्षमा नारायणदेव कुँवर र उपसचिवमा कृष्णभक्त त्वायना निर्वाचित भएका छन् ।

सदस्यहरुमा जीवन श्रेष्ठ, पदमबहादुर सुवेदी, पदमलाल श्रेष्ठ, विपीन श्रेष्ठ, भुपेन्द्र थापा, रविन तामाङ र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् ।

२०२९ सालमा स्थापना भएको अरनिको यातयात सेवा समितिअन्तर्गत अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुलीलगायतका जिल्लामा यातायात सञ्चालनमा छ ।

चार कार्यकाल सचिव र तीन पटक अध्यक्ष भइसकेका क्षत्री अरनिको समितिको अध्यक्षमा १० वर्षपछि पुनः ‘कम ब्याक’ भएका हुन् । अरनिकोमा ५८३ व्यवसायी सदस्य छन् ।

दुई वर्षदेखि राजधानी पूर्व सञ्चालन हुने बसहरुका लागि बसपार्क नहुँदा समस्या भइरहेको बताउँदै नवनिर्वाचित अध्यक्ष क्षेत्रीले बसपार्क व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *