निधी समानुपातिकमा सिफारिस, महतोको डर कि गठबन्धनमै भएन भर ?
जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधी समानुपातिकका लागि सिफारिस भएका छन् । धनुषा क्षेत्र नम्बर ३ कमिटीले निधीको एकल नाम समानुपातिकतर्फ सिफारिस गरेको हो ।
२०७४ को निर्वाचनमा धनुषा ३ बाट उम्मेदवार बनेका निधी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतोसँग २ हजार ८७८ मतले पराजित भएका थिए । महतो ३० हजार ७२५ मत ल्याएर विजयी हुँदा निधीले २७ हजार ८४७ मत पाएका थिए ।
लोसपाबाट महतो पुनः यही क्षेत्रबाट उम्मेदवारीको तयारीमा छन् । कांग्रेस नेता निधीले यसअघि नै आफू धनुषा ३ बाट उम्मेदवार बन्न नसक्ने बताइसकेका थिए ।
उनले भनेका थिए, ‘मेरो कारणले गठबन्धनमा गडबड होस् भन्ने चाहेको छैन । म हिमाल, पहाड जहाँबाट पनि चुनाव लड्न सक्छु ।’
किन प्रत्यक्षमा भएन सिफारिस ?
निधीको नाम समानुपातिकमा सिफारिस भएपछि अहिले यहाँ विभिन्न कोणबाट टिप्पणी सुरू भएको छ । प्रत्यक्षमा चुनाव लड्न नखोज्नुको मुख्य कारण पुनः पराजयको डर भएको भन्दै कतिपयले चर्चा गरेका छन् । सँगै जसपाले स्थानीय चुनावको बदला लिनसक्ने भय पनि उनीमा देखिन्छ ।
अहिले सत्ता गठबन्धनमा सहभागी दलहरूबीच सीट बाँडफाँटमा धनुषा ३ कांग्रेसकै भागमा पर्ने यहाँका कांग्रेस नेताको दाबी छ । ७४ मा चुनाव जितेका महतोको दल लोसपा अहिले सत्ता गठबन्धनमा छैन । कांग्रेस अन्य दलको तुलनामा मजबुत छ ।
तर, चुनावमा अन्तर्घात हुने आशंका र पुन: हार्ने डरले निधीलाई सताएको छ । केही दिनअघि निर्वाचन क्षेत्रमा घुमफिर गरेर कार्यकर्ता र शुभेच्छुकसँग उनले वातावरण बुझेका थिए ।
जानकार एक नेता पहिलो गठबन्धनकै घटक जसपाबाट असहयोग हुनसक्ने र कांग्रेसकै आन्तरिक कलहले निधी तर्सिएका छन् ।
धनुषा ३ नम्बर क्षेत्रमा जनकपुरधाम उपमहानगरको १० वटा वडा, नगराइन र धनौजी नगरपालिका साथै मुखियापट्टि मुसहरनीया गाउँपालिका पर्छ । स्थानीय तहको निर्वाचनमा जनकपुरधामको मेयरमा स्वतन्त्रबाट जितेका मनोज साह औपचारिक रूपमा कांग्रेसमै फर्किसकेका छैन । तर, उनी निधीनिकट मानिन्छन् । चुनावमा उनले निधिलाई नै सहयोग गर्ने निश्चित छ । गठबन्धनका साझा उम्मेदवार लालकिशोरलाई असहयोग गरी हराएको आरोप उनीमाथि छ । त्यसैले निधीसँग जसपाले बदला लिन सक्ने आशंका छ ।
वैशाख ३० को चुनावमा वडागत हिसाबले यस क्षेत्रमा कांग्रेस २२ हजार ४२८, एमाले १७ हजार ९६, लोसपा ८ हजार ७६३, जसपा ८ हजार २४३, नेकपा एस ३ हजार ७२५ र जनमत पार्टी २ हजार ४९१ मत ल्याएको छ । माओवादी ६६५ र राप्रपा ५०१ मत ल्याएर कमजोर उपस्थितिमा छन् ।
यस्तै कांग्रेसभित्र देखिएको आन्तरिक कलहले पनि उनलाई साथ दिएको छैन । अहिले धनुषा कांग्रेसमा निधीको समूह, शेरबहादुर देउवा र शेखर कोइराला समूह सक्रिय छन् ।
प्रदेश मन्त्री पनि सशंकित
२०७४ मा धनुषा ३ ‘क’ बाट कांग्रेसका रामसरोज यादव निर्वाचित भएका थिए । उनी अहिले कांग्रेस संसदीय दलका नेता र मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री छन् । उनलाई पुनः कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।
तर, मन्त्री यादव पक्षधरका कार्यकर्ताले प्रतिनिधिसभामा निधीलाई टिकट नदिए आफूहरूलाई चुनाव जित्न धौधौ पर्ने भन्दै दबाब दिइरहेको स्रोतले बताएको छ ।
पार्टीको केन्द्रीय अधिवेशनमा निधीलाई मन्त्री यादवले असहयोग गरेका थिए । तर, पछि प्रदेश अधिवेशनमा निधीले यादवलाई सभापतिमै उठ्न लगाएर सहयोग गरे । तर, आसन्न निर्वाचनमा निधी आफूलाई सहयोग गर्नेमा मन्त्री यादव ढुक्क छैनन् ।
मन्त्री यादवले आफूलाई सुरक्षित गर्न प्रतिनिधिसभामा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई ल्याउन चाहेको बुझिएको छ । यादव २०७४ मा क्षेत्र नम्वर ४ मा रघुवीर महासेठबाट पराजित भएका थिए । तर, यो पटक सत्ता गठबन्धनको उम्मेदवार बन्दा चुनाव जित्ने सम्भावना छ । त्यसैले उनले क्षेत्र परिवर्तन गर्न चाहेका छैनन् ।