मित्रलालका सुपुत्र–मधेसका मित्र, कसरी बने भारतका विश्वासपात्र ?
काठमाडौं । कांग्रेसका मूर्धन्य नेता प्रदीप गिरीको भौतिक शरीर ब्रम्हलीन भएको १३ दिन व्यतित भएको छ । यी १३ दिनमा उनको राजनीतिक जीवनमाथि प्रकाश पार्दै सञ्चारमाध्यममा सयौं लेखहरु आए । लाखौं शब्दहरु उनको चर्चा–परिचर्चामा खर्च गरिए । तथापि, गिरीको व्यक्तित्वमाथि सन्तुलित र वस्तुनिष्ठ समीक्षा भने हुन सकेको छैन ।
मृत्युपश्चात जोकोहीका राम्रा गुणहरु सम्झिनु र चर्चा गर्नु मानवीयता एवं सामाजिक मनोविज्ञानको एउटा पाटो हो । यसर्थ, जीवनभर गालीमात्रै खाएका व्यक्तिहरुलाई पनि मृत्युपछि समाजले सहानुभूति प्रकट गर्छ र सकारात्मक चित्रण गर्छ । तर, राष्ट्रिय छवि बनाएका चर्चित व्यक्तिहरुको हकमा यस्तो एकपाखे मूल्यांकन र अतिरञ्जित गुणगानले पाठकहरु अन्यायमा पर्न सक्छन् । ऐतिहासिक तथ्यहरु तोडमोड हुन पुग्छन् । अहिले सञ्चारमाध्यममा गिरीमाथि लेखिएका टिप्पणीहरु निश्चय पनि एकपाखे र अतिरञ्जित छन् भन्दा फरक नपर्ला ।
अन्य समकालीन नेताभन्दा गिरी भाग्यमानी यसअर्थमा रहे कि उनले बाँचुञ्जेल गालीभन्दा बढी ताली नै पाए । त्यागी र बौद्धिक नेताका रूपमा उनको असल छवि जीवनपर्यन्त कायम रह्यो । यद्यपि, हरेक मान्छे गुण र दोषको एउटा प्याकेज हुन्छ । मात्रात्मक भिन्नताको कुरा मात्रै हो । गिरीको निजी र राजनीतिक जीवनलाई एक्सरे गर्दा पनि धमिला दागहरु प्रशस्त भेटिन्छन् । उनको राजनीतिक दर्शन तथा व्यवहार प्रश्नको घेराबाट मुक्त छैन ।
खासगरी राष्ट्रियताको कसीमा गिरीको राजनीति अलिक सन्देहपूर्ण रह्यो । उनले ‘भारतबाट परिचालित नेता’ को गम्भीर आरोप झेलिरहनुपर्यो । विभिन्न घटनाक्रमहरुमा गिरीको भारतपरस्तता खुलेरै प्रकट भयो पनि । यो पक्षलाई कार्पेटमुनि लुकाउँदा उनीमाथिको ‘अविच्यूरी’ अपूर्ण रहन्छ ।यस आलेखमा गिरीप्रति कुनै पूर्वाग्रह वा अतिरिक्त अनुराग नराखी तथ्यको धरातलमा टेकेर व्यक्तित्व विवेचना गर्ने प्रयास गरिनेछ ।
यो पनि पढ्नुहोस् :
पर्दाभित्रका प्रदीप गिरी : नखुलेका पाटाहरु
महत्वाकांक्षाविहिन,अध्ययनशील नेता
निःसन्देह एक अध्ययनशील नेता थिए गिरी । भारतको जवाहरलाल विश्वविद्यालयबाट फिलोसोफी र अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनमा इतिहासदेखि आध्यात्मसम्मको प्रचुर ज्ञान थियो । वेद, पुराण, उपनिषददेखि बाइबल र कुरानसम्मको व्याख्या गर्ने क्षमता राख्थे ।
अध्ययनको भोक उनमा कतिसम्म थियो भने बाटो हिँड्दा केही लेखिएको कागजको चिकर्टो भूईमा भेटे भने पनि टिपेर गोजीमा हाल्थे र घरमा गएर पढ्थे । घत पर्यो भने उनी एक बसाइमै एउटा सिंगै किताब छिचोलिदिन्थे ।
गिरीले सदैव समाजको तल्लो तप्कामा रहेका भूईमान्छेको वकालत गरे । सामाजिक न्यायको पैरवी गरे । उनले विगतमा कांग्रेसभित्र ‘कदमजम’ को अवधारणा अघि सारेका थिए । जसको पूरा अर्थ थियो– क(कर्णाली), द (दलित) म (मधेसी), ज (जनजाति) र म (महिला) । कांग्रेसबाट विभाजित भएर बनेको कांग्रेस प्रजातान्त्रिकको विधानमा नै गिरीको यो अवधारणाले स्थान पाएको थियो । छुवाछूतविरुद्ध जनचेतनाका लागि देउवा नेतृत्वकै सरकारका बेला देशव्यापी सहभोज अभियान चलाउन उनले घच्घच्याएका थिए । उत्पीडित वर्गलाई अधिकारसम्पन्न नबनाएसम्म देश उँभो लाग्दैन भन्ने उनको चिन्तन थियो ।
गिरी आफूलाई चित्त नबुझेका विषयमा पार्टीकै विरुद्ध बोल्न पनि हिच्किचाउँदैन थिए । त्यसैले पार्टीभित्र कतिपले उनलाई ‘अप्ठेरो’ वा ‘अडबाङ्गो’ नेताका रुपमा चित्रित गर्थे । अघिल्लो महाधिवेशन बाहेक कांग्रेसको आन्तरिक राजनीतिमा उनले प्रायः शेरबहादुर देउवालाई साथ दिए । तर, उनी व्यक्तिपूजक थिएनन् । उनले पार्टीको नेतृत्वलाई खुशी पारिरहनुपर्ने आवश्यकता पनि यसकारण भएन कि गिरीलाई पार्टी वा सरकारको उच्च पदमा पुग्ने महत्वाकांक्षा नै थिएन ।
लामो राजनीतिक जीवनमा एकपटक पनि मन्त्री बनेनन् । न मन्त्री बन्नखासै कसरत गरे न त पार्टीकै उच्च ओहदा ताके । सांसद र पार्टीको केन्द्रीय सदस्यमै चित्त बुझाइरहे । यही ‘त्याग’ का कारणले पनि औसत नेताभन्दा उनलाई माथि राखेर हेरिन्थ्यो ।
गिरीको राज्यबाट कहिल्यै अनुचित आर्थिक लाभ नलिएको निकटस्थहरु बताउँछन् । उनीहरुको भनाइमा गिरीले बिरामी हुँदा पनि सरकारबाट एक रुपैयाँ सहयोग मागेनन् । पछिल्लो समय क्यान्सर भएर भारत र नेपालमा उनले लामो उपचार गराउनुपर्यो । गिरीले चाहेको भए सहजै सरकारबाट केही करोड प्राप्त गर्न सक्थे । तर, उनले सरकारसँग हात थापेनन् ।
काठमाडौंको मेडिसिटी अस्पतालले गिरीको उपचारमा लागेको सबै खर्च मिनाहा गरिदियो । भारतको पटना र दिल्लीमा भएको खर्च कसले व्यहोर्यो भन्ने चाहिँ प्रस्ट भइसकेको छैन । गिरी निकटहरु उनले आफ्नो उपचारमा भारत सरकारबाट पनि सहयोग नलिएको बताउँछन् । घर बेचेको पैसा र साथीभाइको सहयोगले उपचार गरेको उनीहरुको भनाइ छ । यद्यपि विहारका मुख्यमन्त्री नितिशकुमारले गिरीको उपचारमा धेरै प्रकारको सहयोग र समन्वय गरिदिएका थिए ।
राष्ट्रिय छवि, क्षेत्रीय रुझान
पार्टीगत आवद्धता कांग्रेसमा भए पनि गिरीका विचारहरु भने बढी कम्युनिष्टहरुसँग मिल्थे । उनी पहिल्यैबाट गणतन्त्रवादी नेता हुन् । कांग्रेस गणतन्त्रको पक्षमा उभिनुभन्दा धेरै अघिदेखि गिरी गणतन्त्रवादी थिए ।
२०४६ सालको जनआन्दोलनपछि बनेको संविधानलाई समेत उनले स्वीकारेका थिएनन् । आफ्नै आदर्श नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा जारी भएको संविधानले गिरीले ‘धोका’ भनेका थिए । यद्यपि, त्यही संविधान र व्यवस्था अन्तरगत राजनीति भने गरिरहे ।
२०५८ सालमा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकार अपदस्थ गर्दै सत्ता हातमा लिँदा गिरी भारतको पटनामा थिए । देउवासहितका शीर्ष नेताहरुलाई सरकारले नियन्त्रणमा लिएपछि उनले पटनाबाटै विज्ञप्ति जारी गरी गणतन्त्रको पक्षमा आफूलाई खुलाएको बताउँछन् उनका राजनीतिक सहयोगी रामपल्टन साह ।
‘कांग्रेसको पहिलो गणतन्त्रवादी नेता प्रदीप गिरी नै हुनुहुन्थ्यो’, उनले भने, ‘राजतन्त्रप्रति उहाँमा कहिल्यै मोह थिएन ।’
पछिल्लो समय गिरीको राजनीतिमा क्षेत्रीयतावादी र साम्प्रदायिक रुझान हावी थियो । आफूलाई मधेसवादी भन्ने नेताहरुभन्दा बढी मधेसवादी थिए गिरी । सबैखाले उत्पीडित वर्ग र समुदायको वकालत गर्ने उनले व्यवहारमा चाहिँ मधेसका राजनीतिक मुद्दाहरुतर्फ बढीअभिरूचि देखाए । मधेसमा भएका कुनै पनि आन्दोलन र अराजकताका अभिन्न सहयोगी एवं गोप्य रणनीतिकार थिए गिरी ।
दोस्रो जनआन्दोलनपछि मधेसको प्रमुख शक्तिका रुपमा उदाएको मधेसी जनअधिकार फोरमलाई सुरुदेखि गिरीको धाप रह्यो । माइतीघरमा अन्तरिम संविधानलाई जलाएर चर्चामा आएको थियो फोरम । एनजीओको रुपमा खुलेको यस संगठनलाई नेपालको राजनीतिमा स्थापित गराउनमा गिरीले नैतिक समर्थनमात्र होइन, आर्थिक सहयोगसमेत गरेको फोरम निकट स्रोत बताउँछ ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र प्रदीप गिरीको पहिलो भेट रामराजाप्रसाद सिंहले भारतमा गराएका थिए । सिंहले भारतको पटनामा रहेको आफ्नै बंगलामा गिरीलाई उपेन्द्रसँग परिचय गराउँदै उनले लेखेको मधेससम्बन्धी एउटा किताब पढिदिन आग्रह गरे । सिंहको निवासबाट आफ्नो अपार्टमेन्टसम्म ट्याक्सीमा जाने क्रममा नै गिरीले उपेन्द्रको किताब पढिभ्याए । किताब पढेपछि उनले फेरि उपेन्द्रलाई भेट्न चाहे ।
दोस्रो भेटमा गिरीले उपेन्द्रलाई मधेसी फोरमलाई राजनीतिक दलको रुपमा दर्ता गरेर चुनाव लड्न सुझाव दिएका थिए । त्यसमा आफ्नो सक्दो सहयोग रहने उनले प्रत्याभूति दिलाए ।साथै मधेसमा कसरी आन्दोलन चर्काउन सकिन्छ भनेर पनि उनीहरुबीच छलफल भएको थियो । सोही छलफलपछि भारतको मुजफ्फरपुरमै फोरमको भेला आयोजना गरियो । उक्त भेलामा ४७ जना उपस्थित थिए । सोही भेलाले फोरमको आगामी कार्यदिशा तय गरेको थियो ।
२०६३ सालमा माघमा उपेन्द्रको नेतृत्वमा माइतीघरमा प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनका क्रममा पूर्वयोजनाअनुसार अन्तरिम संविधान जलाइएपछि उपेन्द्रसहित २८ जना पक्राउ परे । पहिलो मधेस आन्दोलनको विजारोपण त्यहीँबाट भएको थियो । सोही घटनापछि उपेन्द्रलेराष्ट्रिय राजनीतिमा आफूलाई प्रवेश गराउन सफल भए ।
स्रोतका अनुसार संविधान जलाउनेदेखि मधेस आन्दोलनसम्मका हरेक गतिविधिमा प्रदीप गिरीको समर्थन र सहयोग थियो । उनले फोरमलाई विभिन्न स्रोतबाट आर्थिक र भौतिक दुवै सहयोग जुटाइदिएका थिए । त्यसबेला नेपालका प्रमुख मिडियामा मधेस आन्दोलनको पक्षपोषणमा समाचार प्रकाशित गराउन अज्ञात स्रोतबाट निकै धनराशि खर्च गरिएको बताइन्छ ।
उपेन्द्र यादवले माइतीघरमा गरेको प्रदर्शनमा गिरीले कांग्रेसको तरुण दलमा रहेका आफू निकट नेता–कार्यकर्ताहरुलाई सहभागी गराएका थिए । त्यसबेला तरुण दलका अध्यक्ष थिए महेन्द्र यादव । आफ्नो पार्टीको नीतिविपरीत कार्यकर्ताहरु संविधानविरोधी प्रदर्शनमा पुगेको थाहा पाएपछि यादवले उनीहरुमाथि कारबाही गर्न खोजे । त्यसको सूचना पाएका गिरीले यादवलाई भेट्न बोलाए । उनले जातीय सेन्टिमेन्ट निकाल्दै यादवलाई सबै पार्टीका मधेसीहरु एक ठाउँमा उभिनुपर्ने भनेर कन्भिन्स्ड गरे । त्यसपछि कारबाहीको विषय यत्तिकै सामसुम भयो ।
नाकाबन्दीदेखि चुच्चे नक्शासम्म
नेपालको संविधान जारी भएपछि मधेसी दलहरुले भारतीय सीमामा अवरोध गर्दै लामो समय धर्ना दिएका थिए । सोही अवरोधको बहानामा भारतले नेपालमाथि नाकाबन्दी गर्यो । गिरीले नाकाबन्दीको खुलेर विरोध कतै गरेनन् । बरु नेपालमाथि भारतीय हस्तक्षेपलाई लिएर उनको विवादित धारणा ‘लिक’ हुन पुग्यो ।
भारतीय नाकाबन्दी जारी रहेका बेला नेपाल आएका थिए भारतीय कांग्रेसका एमपी मणिशंकर ऐयर । उनी ती दुर्लभ भारतीय नेता हुन्, जसले नेपालमाथि भारतले लगाएको नाकाबन्दीको खुलेर आलोचना गरेका थिए । भारतीय संसदमा नै उनले नाकाबन्दीको विरोधमा आवाज उठाएका थिए ।
उनै मणिशंकर नेपालमा आउँदा थुप्रै नेतासँग भेटघाट गरे । प्रदीप गिरी छुट्ने कुरा थिएन । भारत फर्केपश्चात एनडीटीभीमा मणिशंकरले एउटा लेख लेखेर नेपालका नेताहरुसँग भएको कुराकानीको ब्रिफिङ गरेका थिए । त्यसमा उनले गिरीलाई ‘एक्सपोज’ गरिदिए ।
उक्त आलेखमा गिरीले आफूसँग भनेका कुराहरुलाई मणिशंकरले यसरी उद्धृत गरेका छन्:
‘भारतलाई नेपालमा हस्तक्षेप बन्द गर्न आग्रह गरेर तपाईं आधारभूत गल्ती गर्दै हुनुहुन्छ । यो असम्भव हो । तथ्य यो हो कि भारत अस्तित्वमा छ, यसले हामीलाई प्रभावित गर्छ । त्यसैले ऊ अलग रहन सक्दैन । भारत आफैंले सुरु गरेको प्रक्रियाबाट कसरी पछि हट्नसक्छ ? नेपालमा सन् १९४६ (२००३ साल) यता जे पनि महत्वपूर्ण कुराहरु भएका छन्, ती सबैमा भारतको संलग्नता र उत्प्रेरणा रहेको छ । त्यसबेला भारत र नेपालबीच एक प्रकारको सम्झौता भएको थियो, जसबाट अब भारत भाग्न सक्दैन । यो सत्य हो कि उक्त सम्झौता सन् १९६० (२०१७ साल) मा तोडियो जब नेपालको राजसंस्थाले भारतीय सरकारसँग पंगा लिएको थियो । तर, यो फेरि नवीकरण भएको छ, जब भारतसहित हामी सबै गणतन्त्र नेपाल निर्माणका लागि एकजुट भयौं ।’
मणिशंकरले उल्लेख गरेको यस वार्तालापलाई गिरीले खण्डन गरेनन् । यसर्थ यो सत्य थियो भन्ने मान्न सकिन्छ । यस अभिव्यक्तिले २०१७ सालमा राजा महेन्द्रले चालेको कदमबाहेक सबै परिवर्तनहरुमा भारतको हात थियो भन्ने उनको बुझाइ देखिन्छ । सम्भवतः यो पनि सत्य हो ।
नाकाबन्दीलाई लिएर यस्तो दृष्टिकोण प्रस्तुत गरेका गिरीले नेपालले कालापानी–लिपुलेकसहितको नयाँ नक्शा जारी गर्दा कस्तो भूमिका खेले त ? तत्कालीन जसपाकी सांसद तथा गिरीकी भाइबुहारी सरिता गिरीले नयाँ नक्साको विपक्षमा मतदान गरेकी थिइन् । तर, प्रदिपले भने नयाँ नक्साको विरोध गरेनन् ।
सरिता गिरीका अनुसार जसपाले उनलाई सांसदबाट हटाउने निर्णय गरेपछि जेठाजुले फोन गरेका थिए । सरीताको सांसद पद जोगाउन आफूले जसपासँग मध्यस्थता गरिदिने प्रस्ताव उनले राखेका सरीताको भनाइ छ । दुई लाइनको वक्तव्य निकालेर गल्ती स्वीकार गरेको खण्डमा जसपाले कारबाही फिर्ता लिने प्रस्ताव जसपाबाट आफूलाई आएको तर आफूले अस्वीकार गरेको सरिताले दावी गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईं चिन्ता नगर्नुस्, म ठीक छु, संसदबाट बाहिर निस्किन तयार छु भनेँ । त्यसपछि मेरो अडानको सम्मान गर्दै उहाँ चुप लाग्नुभयो ।’
प्रदीप गिरीले पछि संसदमा कालापानी–लिपुलेकसहितको नक्शा विनागृहकार्य जारी गरिएको टिप्पणी गरेकाथिए । तर, आफू यसको समर्थनमै रहेको उनले बताए ।
चुच्चे नक्शाबारे गिरीको भनाइ यस्तो थियो–
कुनै पनि राष्ट्रले आफ्ना कानूनी अधिकारलाई वास्तविक शक्ति सम्झिनुहुन्न । कालापानीको कुरा चुनावमा भाषण गर्दा, बोल्दा बहुत ठीक हुन्छ । तर, यदि कालापानी लिनपर्या छ भने कूटनीतिक अभ्यास गर्नुपर्यो । १९५० को सन्धि सच्याउनुपर्या छ भने बोलेर हुँदैन । बलभद्र कुँवर र अमरसिंह थापाले बन्दुक बोकेर लडेको समय छैन । कूटनीतिक क्षेत्रमा जुन डिजिटल चेञ्ज आएको छ, अभूतपूर्व क्रान्ति भएको छ, यसको उपयोग हामीले गर्न जानेका छौं ? लफ्फाजी गरेर हुन्छ ?
अर्को भाषणमा उनले भनेका छन् :
‘(कालापानी–लिपुलेक) कूटनीतिक प्रश्न हो भनेर सरकार थाकेको छैन । तर, पर्याप्त गृहकार्य नगरेको कूटनीति कहिल्यै पनि दिगो हुँदैन । जमिन हाम्रो हो भने धेरै बहस गर्नैपर्दैन । जमिन हासिल कसरी गर्ने भनेर सोच्ने हो । भनिन्छ, स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ । त्यति सजिलो छ ? कुनै गृहकार्य गरिएको छैन । प्रतिपक्षका नेताहरूसँग प्रधानमन्त्रीले कुरा गर्न सक्नुभएको छैन । संशोधन मागिरहेका मधेसीसँग कुरा गर्न सक्नुभएको छैन । अनि उहाँले दिल्लीसँग कुरा गर्न भ्याउनुभो होला ? विनागृहकार्य आफ्नो पार्टीलाई पनि विश्वास नलिइकन गरेको कार्य हो । तर, पनि हामी (चुच्चे नक्शाको) समर्थन गर्छौं ।’
भारतका विश्वासपात्र र मध्यस्थकर्ता
नेपालमा भारतका सबैभन्दा ठूला विश्वासपात्र थिए प्रदीप गिरी । हो, उनीभन्दा खुलेआम भारतभक्ति गर्ने नेताहरु थुप्रै छन् । तर, भारतले उनलाई जति विश्वास र सम्मान अरु नेतालाई गर्थेन । कुनै पनि भारतीय राजदूतलाई भेट्न गिरी दूतावास धाइरहनु पर्दैनथ्यो । राजदूतहरु आफैं उनलाई भेट्न पुग्थे । राजदूतमात्र होइन, भारतबाट आउने कुनै पनि हाइप्रोफाइल राजनीतिज्ञ उनलाई नभेटी बिरलै फर्किन्थे ।
नेपालमा जनआन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले कांग्रेस आईका नेता करण सिंहलाई आफ्नो दूतका रुपमा नेपाल पठाए । उनलाई भेट्न पूर्वप्रधानमन्त्री र मन्त्रीहरु होटलमा लाइन लागे । जबकि प्रदीप गिरिलाई भेट्न करण सिंह आफैं उनीकहाँ पुगेका थिए ।
संविधानसभाले बनाएको नेपालको नयाँ संविधानमा हस्ताक्षर नगर्ने एक्ला कांग्रेस सभासद हुन् गिरी । भारतले मान्यता नदिएको संविधानमा उनले हस्ताक्षर गर्न चाहेनन् । उनले मधेसका मुद्दाहरु सम्बोधन नभएकाले यो संविधान आफ्नो लागि अस्वीकार्य रहेको बताए । पार्टी नीतिविपरीत संविधानको विरोध गर्दा कांग्रेसले उनलाई कुनै कारबाही गर्न सकेन । कारबाहीको छलफलसमेत भएन ।
नेपाल र भारतका राजनीतिकर्मीबीचका मध्यस्थकर्ता पनि थिए गिरी । नेपालका कुनै पनि नेतालाई हातमा लिनुपर्दा भारतले सबैभन्दा बढी गिरीलाई प्रयोग गर्थ्यो । यस हिसाबबाट गिरीले आफूलाई राजनीतिक विचौलियाकै भूमिकामा प्रस्तुत गरे । पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापालाई उनैले भारतीय संस्थापनसँग जोडिदिएको स्रोतको दाबी छ ।
गिरीको मध्यस्थतामा थापा र भारतीय प्रतिनिधिहरुबीच गोप्य वार्ता भएको थियो । स्रोतका अनुसार कांग्रेस महाधिवेशनको छेकोमा गिरीले आफू बस्दै आएको चाबहिल मित्रपार्कस्थित अम्बे अपार्टमेन्टमा थापा र भारतीय प्रतिनिधिहरुलाई भेट गराइदिएका थिए । ती भारतीय प्रतिनिधि कुन तहका थिए र भेटघाटको विषयवस्तु के थियो भन्ने मेसो पाउन सकिएन । यद्यपि, उक्त भेट ‘फलदायी’ बनेको स्रोतले बतायो ।
गगन अहिले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । यसमा गिरीको समर्थन थियो । गिरीले अस्पतालमा भेट्न आएका गगनलाई प्रधानमन्त्री बन्न आशीर्वाद दिएको सन्दर्भ हामीले अघिल्लो आलेखमा समेटेका थियौं ।
भारतीय गुप्तचर संस्था रअसँग प्रदीप गिरीको भित्री सम्बन्ध रहेको चर्चा विगत लामो समयदेखि चल्दै आएको छ । आलोचकहरु उनलाई रअका ‘तलबी एजेन्ट’ कै रुपमा समेत प्रचार गर्न पछि पर्दैनथे । यद्यपि यसको कुनै प्रामाणिकता भेटिँदैन ।
आजभन्दा ३३ वर्षअघि एक अन्तर्वार्तामा पत्रकार हरिहर विरहीले यो आरोपबारे उनीसँग प्रश्न गरेका थिए । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना हुनुभन्दा केहीअघि गिरी पक्राउ परेका थिए । तर, आश्चर्यजनकरुपमा छोटो समयमै छुटे ।
२०४६ साल भदौ १६ गते विमर्श साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा विरहीले गिरीलाई सोधेका छन्, ‘तपाईंलाई त भारतको गुप्तचरी संस्था रअको एजेन्ट भनिन्थ्यो । नेपाल–भारतबीच गतिरोध उत्पन्न भएपछि तपाईं विद्यार्थी भड्काउने षड्यन्त्र गर्दै हुनुहुन्थ्यो रे ! यस्तो गम्भीर आरोप लागेको मान्छे यति चाँडै कसरी छुट्नुभयो ?’
जवाफ दिने क्रममा गिरी तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहमाथि खनिएका थिए ।
उनको जवाफ यस्तो छः
‘कसैले औंला देखाउँदैमा फर्सी कुहिन्न । कसैले आरोप लगाउँदैमा कोही कसैको एजेन्ट हुँदैन । मेरो गिरफ्तारी यो सरकारको बौद्धिक टाटपल्टाइको झिनो र सानो नमूनामात्र हो । हो, नेपाल–भारतबीचको हालको समस्या खडा भएपछि मैले विभिन्न ठाउँमा सामान्य रूपले भइरहने छलफलहरूका क्रममा आफ्नो विचार र आफूले बुझेका तथ्यहरू प्रस्टसँग राखेको थिएँ । त्यहाँ मैले मरिचमान सरकारको कार्यशैली तथा अक्षमता र अयोग्यताबारे पनि टीकाटिप्पणी गरेको थिएँ । मरिचमानलाई मैले आजअघि भएका सबै प्रधानमन्त्रीहरूमध्ये सर्वाधिक अयोग्य ठानेको छु । मरिचमान प्रधानमन्त्री रहेसम्म भारतसँग कुरा मिल्दैन । वास्तवमा यस्तो प्रधानमन्त्री रहेसम्म भारतले कुरा गर्नु पनि हुँदैन । पञ्चहरू मरिचमानको राजीनामाको माग गर्छन् । तर, म त भन्छु, यस्तो प्रधानमन्त्रीको राजीनामा माग्नुहुँदैन । राजीनामा दिएर उम्कने मौका दिनु नै हुँदैन । श्री ५ महाराजाधिराजबाट ठाडै बर्खास्त गरी बक्सनुपर्छ । बर्खास्त गरेर मुद्दा चलाउनुपर्छ ।’
गिरीको सो अन्तरवार्ताको पूर्णपाठ हालै इकागजले प्रकाशित गरेको छ ।
रअसँग गिरीको निकटताको प्रमाण नभेटिए पनि भारतीय दूतावाससँगको सम्बन्ध भने ओपन सेक्रेट नै थियो । दूतावासले नेपाली विद्यार्थीलाई अध्ययनका लागि प्रदान गर्ने छात्रवृत्तिमा उनको सिफारिस अकाट्यरुपमा चल्थ्यो । यस्तो सिफारिस गिरीले प्रायः मधेसी जनताका छोराछोरीलाई गर्ने गरेका थिए ।
प्रदीपले भारतसँग प्रगाढ सम्बन्ध बनाए कसरी त ? सम्भवतः उनको लामो भारत बसाइ र सरसंगतकै नतिजा हो ।
अध्ययनका सिलसिलामा गिरीले भारतमा लामो कालखण्ड बिताए । रोचक के भने भारतमै भएको आन्दोलनमा सहभागी भएर उनले त्यहाँ तीन वर्ष जेल जीवनसमेत बिताएका थिए । गिरी बनारस तथा जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दाखेरीका समकालीनहरु पछि भारतीय राजनीतिका स्थापित नेता भए ।
भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीसँग गिरीको प्रगाढ सम्बन्ध थियो । हाल भारतीय कांग्रेसका प्रवक्ता मोहनप्रकाश विद्यार्थी कालका गिरीका दोस्त थिए । बिहारका हस्तीहरु लालु यादव र नितीशकुमार गिरीलाई गुरुजस्तै मान्थे । चन्द्रशेखर, डीपी त्रिपाठीदेखि सीताराम यचुरीलगायतसँग गिरिको बिरादरी थियो ।
गिरीको निधनपछि लालु यादव र नितीशकुमारले शोक सन्देश पठाएका थिए । कांग्रेस आईका प्रवक्ता मोहनप्रकाश श्रद्धाञ्जली दिन नेपालमै आए । भारतीय दूतावासका अधिकारीले गिरीसँग निकट व्यक्तिहरुलाई एसएमएस पठाउँदै समवेदना दिएका थिए ।
निजी जीवनका गञ्जागोल
एउटा अन्तर्वार्तामा प्रदीप गिरीले ‘दुःख’ सुनाउँदै भनेका छन्, ‘मलाई मधेसमा जाँदा पहाडी सोच्छन् भने पहाडमा आउँदा मधेसी । ‘गिरी’ मधेसी र पहाडी दुवैको थर हुने भएकाले पनि धेरैलाई उनी कुन समुदायका हुन् भन्ने एकिन छैन ।
खासमा उनको शरीरमा पहाडी र मधेसी दुवै खुन थियो । उनका बुवा स्वर्गीय मित्रलाल गिरी खस आर्य समुदायका हुन् । उनले खोटाङबाट सिरहा झरेर कांग्रेसको राजनीति गरेका थिए । पञ्चायतकालीन प्रधानमन्त्री तुल्सी गिरीसँग प्रदीपको पारिवारिक सम्बन्ध छ । तुल्सी र प्रदीप नाताले काका–भतिज पर्छन् ।
प्रदीपकी आमा पुण्यप्रभा भने मधेसी हुन् । उनको माइती जनकपुरमा थियो । उनी प्रदीपका बुवाकी दोस्रो पत्नी हुन् । पहिलो श्रीमतीको निधनपछि मित्रलालले पुण्यप्रभासँग विवाह गरेका थिए ।
गिरीको निजी जीवन अलि गञ्जागोल छ । उनले भारती सिलवालसँग कानूनी विवाह गरे पनि आफ्नी पत्नीको रुपमा कहिल्यै सार्वजनिक गर्न चाहेनन् । गिरीको निधनपछि मात्रै भारतीले आफूलाई उनकी अर्धांगिनीको रुपमा चिनाएकी हुन् । पति–पत्नी भए पनि उनीहरु अलग–अलग बस्थे । भारतीबाट गिरीका कुनै सन्तान पनि भएनन् । उनको अघिल्लो श्रीमानबाट भएका एक सन्तान (छोरा)लाई गिरीले धर्मपुत्रका रुपमा अपनाएका थिए ।
भारतीलाई श्रीमतीको दर्जा दिन र सँगै बस्न गिरीलाई के समस्या थियो त ? पारिवारिक स्रोतका अनुसार उनीहरुको विवाह आफ्नै नातागोताभित्र भएको थियो । भारतीको माइती पनि ‘गिरी’ नै हुन् । एउटै थर र गोत्रभित्रका भएकाले उनीहरु नाताले ‘दाजुबहिनी’ थिए । यस्तो विवाहलाई समाजले स्वीकार नगर्ने र नैतिक प्रश्न उठ्ने चिन्ताका कारण गिरी दम्पतीले आफूहरुको सम्बन्धलाई गोप्य राखेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
भारतीसँग प्रेम सम्बन्ध सुरु हुनुअघि प्रदीपको नाम कांग्रेसकी प्रभावशाली नेतृ शैलजा आचार्यसँग जोडिने गरेको थियो । उनीहरुको सम्बन्धबारे कांग्रेसवृत्तमा धेरै चर्चा हुने गरे तापनि के कारणले उनीहरु अलग भए, शैलजाले किन आजीवन विवाह गरिनन् भन्ने प्रश्नहरु अनुत्तरित नै छन् । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलकै हाराहारीकी नेतृ शैलजाको २०६६ सालमा निधन भएको थियो ।
एउटा रोचक सन्दर्भ छ, प्रदीप गिरी र सरिता गिरिको । प्रदीप गिरीको घरमा भित्रिएकी भारतीय बुहारी हुन् सरिता । जो पछि राजनीतिमा लागेर मन्त्रीसमेत भइन् । नेपालले चुच्चे नक्शा निकाल्दा संसदमै विरोध गरेर उनले हंगामा मच्चाएकी थिइन् । गिरीको निधनपछि उनी आफैंले विगतको प्रसंग पहिलोपटक सार्वजनिक गरेकी छन् । सरिताका अनुसार भारतमा प्रदीप गिरीले उनलाई आफूसँग विवाह गर्ने प्रस्ताव राखेका थिए । पछि बुवाआमाले प्रदीपको भाइ लक्ष्मणसँग उनको विवाह गराइदिए । लाजले प्रदीप विवाहमै गएनन् ।
यस्तो छ सरिताले सुनाएको प्रसंगः
प्रदीप दाइसँग मेरो भेट पटनामा भएको थियो । मैले भर्खर क्लास ११ को जाँच दिएको थिएँ । मेरो काकी नेपालको हुनुहुन्छ र निर्वासनको समयमा वहाँहरु पटना गइराख्नु हुन्थियो । त्यस्तै एउटा भ्रमणका दौरान पटनामा तीन–चारजना नेपाली मेरो काकीको कोठामा बस्नुभएको थियो । म बाहिर थिएँ र मलाई बोलाइयो ।
म कोठामा पसी एक कुनामा बसिहालें । वहाँले एकपछि अर्को प्रश्न गर्न थाल्नुभयो, हिन्दीमा । मैले सकेसम्म एउटा राम्रो विद्यार्थीजस्तो जबाब दिँदै गएँ । त्यसपछि केहीबेर चुप लाग्नुभयो र एक्कासी भन्नुभयो, ‘मेरी अभी शादी नहीं हुई है, चलो तुम मेरे साथ भाग चलो । त्यसबेला वहाँ ३०–३१ वर्षको हुनुहुन्थ्यो ।
कस्तो–कस्तो लाग्यो । ममात्र १६ वर्षको थिएँ । यो मजाक हो कि के हो जस्तो पनि लाग्यो । चुपचाप कोठाबाट बाहिर निस्कें ।
यस घटनाको लगभग २ वर्षपछि मेरो लक्ष्मण गिरीसँग मागी विवाह भएको हो । विवाह गरी बस्तीपुर आएपछि परिवारका सदस्यहरुबारे बुझ्दा विस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरीका दाजु हुन् । पछि मैले थाहा पाएँ, प्रदीप गिरी त्यही व्यक्ति हुन् जसलाई मैले पटनामा भेटेको थिएँ । उहाँ विवाहमा सरिक हुनुभएको थिएन । पछि भन्नुभयो, ‘जब पता चला कि मेरे ही भाइसे तुम्हारी शादी हो रही है तो कुछ अजीब सा लगा और मैं शादी मे नहीं आया ।’
प्रदीप गिरीकै भर्सनमा भन्दा उनी देशसेवा वा जनहितको पवित्र आकांक्षाले राजनीतिमा लागेका थिएनन् । एक अन्तरक्रियामा उनले आफू राजनीतिमा लाग्नुको कारण एक युवती भएको बताएका छन् । त्यो उनी बनारसमा बस्दाखेरीको घटना थियो ।
उनले भनेका छन्, ‘बनारसमा बस्दा म एउटा साहित्यिक पत्रिकाको सम्पादन गर्थें । त्यस पत्रिकामा मेरो एउटा साहित्यिक रचना पढेर काशी विश्वविद्यालयमा अध्ययन गर्ने एक युवती फिदा भइछन् । उनी मलाई भेट्न आइन् । बिछट्टै राम्री थिइन् जस्तो त लाग्दैन अहिले, तर म पनि उनको रुपमा मोहित भएँ । उनीभन्दा राम्री कोही छैनन् जस्तो लाग्न थाल्यो । म उनको प्रेममा परिहालेछु । उनले मलाई साहित्यमात्र लेखेर होइन, राजनीति पनि गर्नुपर्छ भनेर प्रेरित गरिन् । मलाई राजनीतिमा कुनै चाहना थिएन । तर, आफूले मन पराएकी युवतीलाई प्रभावित गर्नकै निम्ति राजनीतिमा हाम्फालें ।’
उनले ती युवती को हुन् र उनीहरुको सम्बन्ध कसरी अगाडि बढ्यो वा तोडियो भन्ने चाहिँ कतै खुलाएको पाइँदैन । आफू राजनीतिमा आउनुलाई उनले ‘दुर्घटना´को संज्ञा दिने गरेका छन् ।
कति त्यागी ? कति सादगी ?
गिरीको जीवनशैलीमा तडकभडक देखिँदैनथ्यो । यद्यपि उनले उल्कै सादगीपूर्ण जीवन पनि बाँचेका होइनन्, जसरी अहिले चर्चा भइरहेको छ ।
उनी प्राइभेट कारमा नै यात्रा गर्थे ।उनका काठमाडौंमै दुईवटा घर (एउटा श्रीमतीको नाममा) र दुईवटा अपार्टमेन्ट थिए । नेपालमा मात्र होइन, भारतमा पनि उनको बसोबासको राम्रो व्यवस्था थियो । उनको पटनामा अपार्टमेन्ट थियो । सो अपार्टमेन्ट आफूलाई भारतकै कोही हितैषीले उपहार दिएको उनी बताउने गर्थे । यस्तै दिल्लीमा पनि उनले एउटा फ्ल्याट भाडामा लिएका थिए । यो फ्ल्याट अहिले पनि छ । उक्त फ्ल्याटको भाडा पनि ‘हितैषी’ हरुले तिरिदिने गरेको निकटस्थ बताउँछन् ।
अरु त अरु, काठमाडौंको ओशो तपोवनमा समेत गिरीका लागि छुट्टै आवास प्रवन्ध थियो । ओशो तपोवनको निर्माणमा उनको ठूलो हात छ । तपोवनलाई जग्गा उपलब्ध गराउन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र आनन्द अरुणबीच उनले कुरा गराएका थिए । त्यसैको पुरस्कारस्वरुप आनन्द अरुणले उनका लागि बेग्लै कोठा छुट्याएर राखिदिएका हुन् ।
गिरीले श्रीमतीलाई बेग्लै घरमा राखेर आफ्नो घरमा काम गर्न घरेलु कामदार राखेका थिए । यद्यपि कामदारहरुलाई एकदमै सहृदयी व्यवहार गर्थे । जातका आधारमा उनले कसैलाई उँचोनिचो गरेनन् । तल्लो जातका भनिने व्यक्तिहरुलाई उनले आफ्नो भान्सामा काम लगाएका थिए ।
जहाँसम्म राजनीतिमा त्यागको कुरा छ, उनले उच्च पदमा मोह नदेखाएको अवश्य हो । उनले मन्त्री बन्न मरिहत्ते नगरेको अवश्य हो । यद्यपि कहिल्यै मन्त्री बन्दिनँ भनेर कसमै खाएका चाहिँ थिएनन् ।
२०५६ सालको निर्वाचनमा कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा प्रक्षेपण गरेका कृष्णप्रसाद भट्टराईले सिरहामा पुगेर भाषण गर्दै गिरीलाई यहाँका मतदाताले चुनाव जिताएमा मन्त्री बनाउने घोषणा गरेका थिए । तर, गिरीले चुनाव हारे । यदि जितेको भए सम्भवतः मन्त्री बन्ने थिए ।
त्यसपछि प्रत्यक्ष निर्वाचित सांसद बन्न उनले १८ वर्ष लामो प्रतीक्षा गर्नुपर्यो । उनी पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद भए । २०७४ सालको संसदीय चुनावमा सिरहा १ बाट चुनाव जितेका थिए । प्रत्यक्ष चुनाव जिते पनि उनले मन्त्री बन्न पाएनन् ।
गिरीका समर्थकहरु चाहिँ उनी ‘लोहियावादी’ (भारतीय नेता राममनोहर लोहियाको विचारका अनुयायी) भएकाले आफैंं मन्त्री बन्ने आकांक्षा नराखेको बताउँछन् ।
‘लोहियाको विचारमा हिँड्ने भएकाले सत्ता र शक्तिको भोक उहाँमा थिएन’, रामपल्टन साह भन्छन् ।
साहका अनुसार गिरीलाई भारतमै ‘तेस्रो लोहिया’ भनेर चिनिन्थ्यो । पहिलो राममनोहर आफैं, दोस्रो ज्ञानेश्वर मिश्र र तेस्रो प्रदीप गिरी ।
राजनीतिमा कति सफल ?
राजनीति गर्ने भनेको आफ्नो राष्ट्र र जनताका लागि हो । यदि कुनै राजनीतिकर्मीले पराइ देशप्रति वफादारी निभाउँछ र राष्ट्रप्रेमलाई बेकारको चिज मान्छ भने निजका अन्य तमाम सकारात्मक पक्षहरु गौण बन्न पुग्छन् ।
गिरीसँग जुन वैचारिक तिक्ष्णता र ज्ञानसागर थियाे त्यस लाई आफ्देनाे देश र जनताका निम्शती कति सदुपयाेग गरे भन्ने प्रश प्रश्न उठ्छ । गिरीले एउटा जनप्रतिनिधिका रुपमा आफ्नो गृह जिल्लामा एउटा आश्रम सञ्चालन गरेका थिए । बजेट जुटाएर केही बाटोघाटो र पुल निर्माण गराए । यी भनेका एउटा मामूली सांसदले गर्ने काम हुन् ।
राष्ट्रियस्तरको नेता भएर राष्ट्रिय राजनीतिमा के–कति भूमिका खेले भन्ने सवालमा गिरी फितलो देखिन्छन् । अहिले गिरीलाई देवत्वकरण गरेर लेखिएका लामा-लामा लेखहरु अद्योपान्त पढ्दा पनि उनले आखिर देशका लागि के गरे त भन्ने प्रश्नको उत्तर भेटिँदैन । बरु विदेशी दूतावासबाट व्यक्तिगतस्तरमा छात्रवृत्ति कोटा जस्ता अवाञ्छित लाभ लिएर उनले आफूमाथि अनेकन शंका उब्जिने ठाउँ छोडेर गए । बौद्धिकताको पक्ष बिर्सने हो भने उनलाई कांग्रेसकै अमरेशकुमार सिंहभन्दा माथि राखेर हेर्न गाह्रो पर्छ ।
अनुसन्धानात्मक लेख हो यो ।
This article seems meaningful and also unvails the dark side of Mr. Giri that clearly shows Giri’s negative role toward own nation.
हनुमानलाई डाहा लागेछ ।। हनुमानलाई प्रदिप गिरिको राजनीतिक रुपलाई कांग्रेसले क्यापिटलाइज गर्छ भनेर डाहा लागेछ।।। प्रदिप गिरि आफ्नो विचारमा बगेका पात्र हुन्न अब तिमिले विचार बुझ्दैनौत कसरी गिरिलाइ बुझ्छौ।।।