चुनाव लड्ने कुलमानको चर्चाबारे हरिवंश भन्छन्- राम्रा मान्छेलाई सबैले हारालुछ गर्छन् (भिडिओ) – Nepal Press

चुनाव लड्ने कुलमानको चर्चाबारे हरिवंश भन्छन्- राम्रा मान्छेलाई सबैले हारालुछ गर्छन् (भिडिओ)

वर्तमान अवस्थामा कुलमानको भूमिका विद्युत प्राधिकरणमा बाँकी छ : आचार्य

काठमाडौं । वर्तमान समयमा देश चुनावमय बनेको छ । सामाजिक संजालदेखि मुलधारका मिडियाहरुमा आसन्न संघीय चुनावमा को कहाँबाट चुनाव लड्न लागेको छ ? कुन क्षेत्रमा कसको सम्भावना बढी छ ? को नयाँ र आशा लाग्दा अनुहारले उम्मेदवारी घोषणा गरेका छन् तथा को ‘टेस्टेड एन्ड फैल्ड’ अनुहारले पुनः आफ्नो उम्मेदवारी दाबी गरेका छन् भन्ने बहसले राम्रै स्थान पाइरहेको छ ।

हालको समयमा यस्तै बहस र गसिपको ‘टपिक’ बनेका एक पात्र हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । कुलमान आफैंले वा अन्य कुनै पार्टीले कुलमानलाई आगामी चुनावमा उम्मेदवार बनाउने घोषणा नगरे तापनि सत्तारुढ नेकपा माओवादीले चुनावमा कुलमानलाई आफ्नो सेलिब्रेटेड उम्मेदवारको रुपमा अगाडि सार्न लागेको छ भन्ने अस्पष्ट खबर अहिले नेपाली ’पब्लिक स्पियर’मा व्यापक बनेको छ ।

जसको असर नेपाली कला क्षेत्रका वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यसम्म पुगेको छ र फलस्वरुप उनले एक सार्वजनिक कार्यक्रममा नै कुलमान घिसिङलाई लैजाने (चुनाव लडाउने) भन्ने कुरा सुन्नमा आएको तर वर्तमान अवस्थामा कुलमानको भूमिका विद्युत प्राधिकरणमा बाँकी रहेको धारणा व्यक्त गरे ।

नेपाल विद्युत प्राधिकरणले शुक्रबार आयोजना गरेको विद्युत खपत प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन् । कुलमानलै विद्युत प्राधिकरणमा पुनः नियुक्त गर्नुपर्दछ भनेर सामाजिक संजालमा लेख्नेमध्ये आफु पनि रहेको र त्यसले सारै राम्रो प्रतिकृया ल्याएको बताउँदै हरिवशं भन्छन्, ‘राम्रो मान्छेलाई जसले पनि लैजान खोज्छन्, लैजाने रे भनेर हल्ला पनि सुन्या छौँ हामीले । अब राम्रो मान्छेलाई जसले पनि लैजान खोज्छन्, हारालुछ गर्छन् तर विद्युत प्राधिकरणमा उहाँको भूमिका अझ धेरै हुनसक्दछ ।’

केही समय अगाडि नेकपा माओवादी केन्द्रका अधक्ष्य पुष्पकमल दहाल प्रचण्डले आफूहरुले बालेन भन्दा पनि चर्चित मानिसलाई चुनावमा उठाउने तयारी गरेको दाबी गरेपछि उनले इंगित गर्न खोजेको चर्चित मानिस कुलमान हुन सक्ने आंकलन गरिएको छ । यसअघि नेकपा माओवादी केन्द्रले केही समय अगाडि एक प्रचार पम्प्लेटमा कुलमानको फोटो समेत टाँसेको थियो । यद्यपी कुलमान आफैं तथा सर्वसाधरणले चर्को आलोचना गरेपछि सो पम्प्लेटबाट कुलमानको फोटो हटाइएको थियो । चुनाव लड्ने नलड्ने वा कुन पार्टीबाट लड्ने भन्ने विषयमा कुलमानले भने हालसम्म केही अधिकारिक जानकारी गराएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *