आफ्ना पूर्खा पराजित भएको जितगढीमा बेलायतीद्वारा अवलोकन – Nepal Press

आफ्ना पूर्खा पराजित भएको जितगढीमा बेलायतीद्वारा अवलोकन

रुपन्देही । अंग्रेजी सेना हारेको बुटवलको जीतगढी किल्ला नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले अवलोकन गरेका छन् । नेपाल-अंग्रेज युद्ध, युद्धकालमा भएका घटनाक्रम र जितगढी किल्लाका बारेमा उनले जानकारी लिएका छन् ।

शनिबार जितगढी किल्ला र पुरानो बुटवलको अवलोकन गरेको बुटवल उपमआनगरका प्रमुख खेलराज पाण्डेले बताए । बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग पाण्डेयले जितगढी किल्ला र पुरानो बुटवलको अवलोकन गरी सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

उनले बुटवलको पुरानो बस्ती, शेनवंशीय ग्रीष्मकालीन दरबार र किल्ला आसपासको क्षेत्रको ऐतिहासिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्ने गरी काम भइरहेको र युद्ध संग्रहालय निर्माणको चरणमा रहेको बताए ।

पाण्डेयले नेपाल-अंग्रेजबीचको तत्कालीन समयको घटनालाई स्मरण गर्ने गरी आगामी दिनमा मित्रताको रुपमा सम्बन्ध अगाडि बढाउन र बुटवलप्रति सकारात्मक भावना राख्न निर्देशक वर्डलाई आग्रह गरेका थिए ।

नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने मन्त्रीलाई जितगढी किल्लाको भ्रमणका लागि सहजीकरण गर्न र आवश्यक सहकार्यका लागि प्रस्ताव गरेको बताए । जितगढी र पुरानो बुटवलको अवलोकन गरेपछि निर्देशक वर्डले नेपाल–अंग्रेज युद्ध भएकोे स्थलमा घुम्न पाउँदा खुशी लागेको र इतिहासबारे जानकारी पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।

उनले जितगढी किल्ला र आसपासको पुरानो बुटवलसँग जोडिनेगरी बेलायत सरकारको तर्फबाट सहकार्यका लागि प्रयास गर्ने बताएका छन् । उनले बुटवल उपमहानगरपालिकासँग सहकार्यका लागि इच्छुक रहेको बताउँदै बेलायती मन्त्रीको भ्रमणका लागि प्रयास गर्ने सो अवसरमा बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर