बारामा एमालेबाट उम्मेदवार सिफारिस, काे-काे परे ?
बारा । बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेबाट मनोज पौडेल (चन्द्रलाल) सहित आठ जनाको नाम सिफारिस भएको छ । सिमरास्थित जिफन्ट कार्यालयमा शनिबार सम्पन्न भेलाले पौडेलसहित अमृतलाल श्रेष्ठ,कासिम हुसेन, देवी सापकोटा, रवीन्द्र खकुरेल, अनिलकुमार साह, जयकिशोर राउत र भरत घलेको नाम सिफारिस गरेको हो ।
भेलामा सहभागी अधिकांश प्रतिनिधिले पौडेलको नाम सिफारिस गर्न सहमति दिएका थिए । पौडेलको नाममा अधिकांशले समर्थन जनाए पनि अन्य इच्छुक आकांक्षीको नाम समेत समेटेर सिफारिस गरिएको हो ।
जिल्ला कमिटीमा सिफारिस गरिएकामध्ये एमाले जिल्ला सचिवालय पौडेललाई (हेभिवेट) उम्मेदवारको रूपमा हेरिएको छ । यसअघि पौडेलले स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा दाबी प्रस्तुत गरेका थिए ।
मेयर पदमा टिकट नपाए पनि उपमहानगरपालिकाको निर्वाचन परिचालन कमिटीको संयोजक भएर सक्रियता देखाएका कारण पौडेललाई पछिल्लो समय प्रदेश सभा सदस्यको उम्मेदवारको रूपमा चर्चा गर्न थालिएको थियो ।
यसैगरी भेलाले समानुपातिकतर्फ दिनेश्वर ठाकुर, कमला घिमिरे, सुभद्रा न्यौपाने, भावना आचार्य, रमेश चौधरी, गीतादेवी घले, कमलेश झा, ममता देवी पाल, आनन्द थामी, मन्जु थापामगरको नाम सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटी उपसचिव अमृत शर्मा बजगाईँको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
यसैगरी बारा क्षेत्र नं. ३(क) बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । डुमरवाना सम्पन्न भेलाले राधेश्याम सिवाकोटी, रविनदास श्रेष्ठ, अशोक लामा, रेवन खातुनको नाम सिफारिस गरिएको हो । भेला जिल्ला उपसचिव भुलन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै, नेकपा एमाले बारा क्षेत्र नम्बर १ क समन्वय समितिको शनिबार बसेको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ क बाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सभा सदस्य उम्मेदवारहरूको छनौट गर्न कोल्हबीको पर्सौनामा शनिबार भएको बैठकले प्रत्यक्ष र समानुपातिक निर्वाचनको लागि ८/८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रत्यक्षतर्फ एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, रामकृष्ण घिमिरे, केवल चौधरी, ढुण्डिराज उप्रेती, त्रिलोकी चौधरी, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम सिफारिस गरेको हो भने समानुपातिकमा लीला खनाल लामिछाने, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय संयोजक रामजी बजगाईँको अध्यक्षतामा भएको बैठकका एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बारा जिल्ला इन्चार्ज बलवीर चौधरीलगायतका नेताहरूले आगामी मंसिर ४ गते हुने संघीय र संसदीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी तुल्याउनुपर्ने कुरामा जोड दिएका थिए ।
त्यसैगरी संघीय संसदतर्फको उम्मेदवार छनौट गर्न आज कोल्हबीमा पार्टीको अर्को बैठक बस्ने भएको छ । बैठकले बारा क्षेत्र नम्बर १ को लागि पार्टीको तर्फबाट संघीय संसद सदस्यको उम्मेदवारको लागि १ महिलासहित २ पुरुषको नाम सिफारिस गर्ने बताइएको छ ।
साभार त लेख्नु पर्छ नि ! आज सम्म राम्रै मान्थे अब यो अनलाइन हेरिन्न भो !!