स्थानीय चुनावमा एमालेलाई जिताएको भन्दै कांग्रेसका पूर्वसांसदमाथि कारबाही सिफारिस
दाङ । संविधानसभा सदस्य रहिसकेका तथा आसन्न निर्वाचनका प्रमुख दाबेदार राजु खनालमाथि कांग्रेसले कारबाहीको सिफारिस गरेको छ । कांग्रेस घोराही ६ को इकाई कार्य समितिले खनालमाथि कारबाहीको सिफारिस गरेर जिल्ला पार्टी कार्यालय दाङमा पठाएको सो वडाको वडा अध्यक्षमा पराजित भएका रेबबहादुर बुढाथोकीले बताए ।
आफूलाई वडाअध्यक्षमा हराउन खनालले वडाका आफूनिकट नेताहरूलाई परिचालन गरेको उनको आरोप छ । स्थानीय तहको चुनावमा पक्वई आएर विपक्षी एमालेको प्रचार गरेको र आफूनिकट नेतामार्फत वडा अध्यक्षमा हराउन पैसा बाँड्नुको साथै गतिविधि त्यस्तै किसिमको गरेकाले खनालमाथि पनि कारबाहीको सिफारिस गरिएको उनले बताए ।
यता, कांग्रेसका जिल्ला कमिटीका एकजना पदाधिकारीले खनालमाथि अन्तर्घात गरेको आरोप लगाई कारबाहीको माग गर्दै पार्टीको वडा इकाईबाट सिफारिस भई जिल्लामा आएको र घटना बारे जिल्ला तहबाट बुझ्ने काम भइरहेको बताए ।
कांग्रेस दाङका उपसभापति तथा अनुशासन आयोगका संयोजक गिरिराज सुवेदीले जिल्लाभरिबाट १५२ जनालाई अन्तर्घात गरेको आरोपमा कारबाहीको माग गर्दै पार्टी तल्लो कमिटीबाट सिफारिस आएको र केहीलाई स्पष्टीकरण सोध्ने काम भइरहेकाले उपयुक्त समयमा नाम सार्वजनिक हुने बताए ।
सुवेदीले कारबाहीका लागि कांग्रेसका महाधिबेशन प्रतिनिधिदेखि जिल्लास्तरका नेतासम्म सिफारिस आएको जानकारी दिए । उता, संविधानसभा सदस्य खनालले आफूमाथि कारबाहीको कुरा थाहा नभएको र कहिँ कतैबाट सिफारिस नआएको बताए । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका खनालले गलत कुरा भएको भन्दै कारबाहीको सिफारिस आउनै नसक्ने बताए ।