कार्यदलको बैठकअघि देउवा-दाहालबीच भेट, सीट बाँडफाँटमा सहमति जुटाउने प्रयास – Nepal Press

कार्यदलको बैठकअघि देउवा-दाहालबीच भेट, सीट बाँडफाँटमा सहमति जुटाउने प्रयास

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटघाट भएको छ ।

सीट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको हो । गठबन्धनमा आ-आफ्नो दाबीका कारण भागबण्डा टुंगिसकेको छैन । आज दिउँसो ३ बजे शीर्ष नेतासहित कार्यदलका सदस्यहरूको बैठक बोलाइएको छ ।

सीट बाँडफाँटलाई लिएर कांग्रेस र माओवादीले प्रस्तुत गरिरहेको दाबी र मिलनबिन्दुबारे दुई नेताबीच कुरा भएको बालुवाटारनिकट स्रोतले बताएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस १६५ मध्ये ९० सीटमा दाबी गरिरहेको छ । अन्तिममा ८६/८७ सीटमा सहमति गर्ने गरी देउवाले कार्यदलमा रहेका नेताहरूलाई सोहीअनुसार अघि बढ्न संकेत गरेका छन् ।

माओवादीले भने ६० सीट दाबी गर्ने ५० लाई बटमलाइन बनाएर अन्तिममा ४५ मा सहमति जनाउने रणनीतिका साथ अघि बढेको छ । त्यस्तै, ४० सीट दाबी गरेको नेकपा एसले बढीमा १५ देखि १८ सीट पाउने सम्भावना छ । तर नेकपा एसका नेताहरुले २० सीटभन्दा तल नजाने अडान लिएका छन् ।

जसपाले १२ सीटलाई बटमलाइन बनाएको छ भने २ सीट दावी गरेको राष्ट्रिय जनमोर्चाले १ सीट पाउनेछ । कांग्रेसले लोसपालाई पनि गठबन्धनमा सामेल गर्न खोजेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर