लुम्बिनी कांग्रेसका सभापति पुन संघ र प्रदेश दुवैतर्फ सिफारिस – Nepal Press

लुम्बिनी कांग्रेसका सभापति पुन संघ र प्रदेश दुवैतर्फ सिफारिस

रुपन्देही । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभापति अमरसिंह पुनमगर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नेगरी पार्टीबाट प्रदेशसभामा एकल सिफारिस भएका छन् ।

गठबन्धन जोगाउन उनको बलियो आधार रहेको रोल्पामा संघमा माओवादीलाई छोड्न परेको खण्डमा प्रदेशमा सुरक्षित रहनेगरी दुवैतर्फ सिफारिस भएका हुन् । संघतर्फ पुनसहित टेकबहादुर बस्नेत र शंकरबहादुर छन्त्यालको नाम सिफारिस भएको उनको सचिवालयले जनाएको छ ।

प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ भने पुनमगरको एकल नाम सिफारिस भएको हो । रोल्पामा गठबन्धन हुँदा माओवादीका उपमहासचिव तथा बहालवाला सांसद वर्षमान पुनको पहिलो दाबी रहने भएकाले पनि पुनले वैकल्पिक रूपमा दुवै क्षेत्र रोजेका छन् । कांग्रेसले माओवादीलाई संघ वा प्रदेशका दुवै क्षेत्र रोज्न माओवादीलाई भनेको छ ।

स्थानीय कांग्रेस नेता कार्यकर्ताहरू गठबन्धन नगरी एक्लै लडेपनि जित्नसकिने आधार भएकाले एकल रूपमा लड्न पुनलाई दबाब दिएपनि प्रदेश सभापति भएको नाताले केन्द्रको निर्णय कार्यान्वयन गर्ने बाध्यतामा उनी छन् । उनी आफैं पनि गठबबन्धन नगर्ने भनेर स्थानीय तहको निर्वाचनमा धारणा राखेका थिए ।

सभापनि पुनले माओवादीले संघ रोजे प्रदेशका दुवै क्षेत्र कांग्रेसलाई दिनुपर्ने र आफूले संघ पाए दुवै दिने प्रस्ताव राखिसकेको बताएका छन् । उनले पार्टीको प्रदेश सभापति भएकाले पनि यहाँको मुख्यमन्त्रीमा स्वाभाविक दाबी हुने बताएका छन् । यहाँबाट समानुपातिकतर्फ सुरेन्द्र हमाल र भीमकुमारी बुढामगर सिफारिस भएका छन् ।

प्रदेशसभाको क्षेत्र नं क मा सिफारिस हुन भने बाँकी छ । यो क्षेत्रमा मानबहादुर खत्री, मनोजमणि आचार्य, दुर्गाबहादुर खडका, चन्द्रप्रकाश आचार्य, भीमकला बढाथोकी, पुष्पा श्रेष्ठ र नुर्जबहादुर खड्काको नाम प्राप्त भएको कांग्रेस रोल्पाले जनाएको छ । रोल्पामा अन्य दल र कांग्रेस मिल्न स्थानीय र कार्यकर्ताको दबाब भएकाले पनि सभापति पुनले दुवै विकल्प राखेको कांग्रेस कार्यकर्ताको बुझाई छ ।

स्थानीय तहको निर्वाचनमा केही पालिकामा माओवादीबाहेक एमालेसँग पनि कांग्रेसले गठबन्धन गरेकाले दुवै पार्टीले एकले अर्कोलाई सहज स्वीकार गर्नसक्ने अवस्था छैन । माओवादी युद्धकालमा एक्लै लडेका पुन पूर्वमन्त्री हुन् । स्थानीय तहमा वडाध्यक्षमा आएको मत परिणाम अनुसार माओवादी ४०७९१, कांग्रेस २४६६४, एमाले १५३०१, राप्रपा १२१८,एस ९५० रहेकाले यहाँ माओवादीको बलियो आधार देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर