चुनावअघि वाममोर्चा नबन्नु दुर्भाग्य, तीन चार वर्षभित्रै ठूलो उथलपुथल हुन्छ : भुसाल
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले चुनावअघि नै वाममोर्चा नबन्नु मुलुकको लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड उपस्थित मार्क्सवादी ज्ञान केन्द्रको कार्यक्रममा बोल्दै नेता भुसालले एकपटक फेरि क्रमभंग गर्न प्रचण्डलाई आग्रह समेत गरे ।
भुसालले अहिलेको संविधान कम्युनिस्टहरुको भन्दै पार्टी एकता नभत्काएको र संसद विघटन नगरेको भए मुलुकका जस्तासुकै संकट सामना गर्न पार्टी सक्षम रहेको बताए ।
भुसालले भने– त्यो एकता नभत्काएका भए, संसद विघटन नभएको भए हामीसँग त्यो ताकत थियो । संसद विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जत नगरेको भए यस्ता संकट थाम्ने नेपाली राजनीति बनेको थियो । यो चुनाव भन्दा अगाडि वाममोर्चा बनाउन सक्नुपर्थ्याे, यो ठूलो दुर्भाग्य हो । अहिले त समाजवाद ल्याउन संसद भंग गर्नुपर्छ, पार्टी भत्काउनुपर्छ भन्ने परेको छ ।
भुसालले अहिले स्वतन्त्रहरुको लहरलाई नजरअन्दाज नगर्न भन्दै आफूले तीन चार वर्षभित्र ठूलो उथलपुथल ल्याउने देखिरहेको दाबी समेत गरे । त्यो उथलपुथलले अहिलेको गतिहीनता र नीतिहीनता तथा मनपरीतन्त्रलाई फाल्दा राम्रै हुने भुसालको तर्क छ ।