सिन्धु कांग्रेसले काट्यो प्रदेश र क्षेत्रबाट सिफारिस भएका उम्मेदवारको नाम (सूचीसहित) – Nepal Press

सिन्धु कांग्रेसले काट्यो प्रदेश र क्षेत्रबाट सिफारिस भएका उम्मेदवारको नाम (सूचीसहित)

सिन्धुपाल्चोक । प्रदेश र क्षेत्रीय समितिले सिफारिस गरेका उम्मेदवारको नाम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाले तलमाथि गरेको छ । प्रदेश र क्षेत्रबाट आएका नामलाई काटेर सिन्धु कांग्रेसले अर्कै व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको हो ।

जिल्ला समितिले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सिफारिस भएका उम्मेदवारहरुको नाम तलमाथि नगरे पनि क्षेत्र नम्बर २ मा चलखेल गरेको छ ।

प्रदेश र क्षेत्रीय समितिबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस भएका गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका वंशलाल तामाङको नाम जिल्ला समितिले कटाएको छ ।

स्थानीय निर्वाचनमा असहयोग गरेर पार्टीका उम्मेदवारहरुलाई हराएको भन्दै कांग्रेस जिल्ला समितिले गठन गरेको अनुशासन आयोगले तामाङलाई कारबाही गर्न सिफारिस गरेको थियो । कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा उनले कोइराला प्यानलबाट सभापतिमा उम्मेदवारी दिएका थिए ।

तर, उनी पराजित भएका थिए । इन्द्रावती गाउँपालिकामा कांग्रेस पूर्वजिल्ला सभापति विकास लामा अध्यक्षका उम्मेदवार थिए । लामाले वंशलाललगायतको समूहले असहयोग गरेको आरोप लगाउँदै आएका छन् ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ (ख) प्रदेशका सासंद नीमा लामाको नाम पनि सिफारिस भएन । २०७४ मा वाम गठबन्धन हुँदा पनि तत्कालीन माओवादी उम्मेदवार दावा तामाङलाई उनले हराएका थिए । लामा अहिले बागमती प्रदेशमा स्वास्थ्यमन्त्री छन् ।

स्थानीय निर्वाचनमा हेलम्बु गाउँपालिकामा असहयोग गरेको भन्दै लामालाई कारबाही गर्न सिफारिस गरिएको थियो । स्थानीय निर्वाचनमा असहयोग गर्ने ७५ नेता कार्यकर्ताहरुलाई कारबाहीका लागि कांग्रेसले सिफारिस गरेको थियो ।

कांग्रेस जिल्ला समितिको बैठकमा उम्मेदवारहरुको नाम सिफारिस गर्ने सवालमा दुई पक्षबीच विवाद भएको थियो । विवादपछि सबै अधिकार जिल्ला सभापति जंगबहादुर लामालाई दिइएको थियो ।

जिल्ला सभापतिका प्रत्याशी वंशलाल तामाङले भने विधानतः प्रदेश र क्षेत्रबाट सिफारिस भएका नामहरु तलमाथि गर्ने अधिकार जिल्ला समितिलाई नभएको बताए । ‘तल्लो कमिटीबाट आएका सबै नाम जस्ताको तस्तै माथिल्लो कमिटीमा पठाउने निर्णय भएको हो, सभापतिलाई उम्मेदवार छनोट गर्ने एकल अधिकार दिइएको छैन’, तामाङले भने, ‘राय पठाउने अधिकारमात्रै दिएको हो ।’

कांग्रेस जिल्ला समितिको बैठकमा पुराना नेताहरुलाई सिफारिस नगरेको भन्दै कांग्रेस सभापतिइतरका नेताहरुले असन्तुष्टि जनाएका थिए । जिल्ला समितिमा संस्थापन पक्षको बहुमत छ । कांग्रेसमा संस्थापनइतरका नेताहरुलाई तलबाटै उम्मेदवार सिफारिस नगर्दा असन्तुष्टि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर