झापा १ मा रविनलाई राम कार्कीको ‘वाकओभर’, विश्वप्रकाशसँग दोस्रो भेट निश्चित – Nepal Press

झापा १ मा रविनलाई राम कार्कीको ‘वाकओभर’, विश्वप्रकाशसँग दोस्रो भेट निश्चित

झापा । गठबन्धनको सीट बाँडफाँट कार्यदलका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केही दिनअघि पार्टीका सचिवसमेत रहेका झापा क्षेत्र नम्बर १ का सांसद राम कार्कीलाई फोनमा सोधे- चुनाव कताबाट लड्ने हो ? तपाईँले केही निधो गर्नुभयो ?

कार्कीले जवाफ दिए, ‘म एमालेका साथीहरूसँग छलफल गर्दैछु, रविन कोइरालाजी लड्ने हुनुभयो भने म झापा छाड्छु । अहिले छलफलमै छु । एमालेका साथीहरूले के भन्छन् त्यसअनुसार गरौंला ।’

त्यसको केही दिनपछि राम कार्कीको नाम माओवादीबाट प्रतिनिधिसभा उम्मेदवारका लागि ओखलढुंगामा सिफारिस भयो । उनको जन्मघर ओखलढुंगा भए पनि कर्मथलो कहिले सिन्धुली, कहिले ताप्लेजुङ, कहिले रामेछाप हुँदै अहिले झापा बनेको छ ।

तर, अब झापा पनि उनको कर्मथलो रहेन । नेकपा एमालेले झापा १ बाट रविन कोइरालालाई प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि कार्कीले अघोषितरूपमा ‘वाकओभर’ दिने निश्चित भएको छ ।

कार्की एमालेबाट को उम्मेदवार बन्छ भनेर पर्खिरहेका थिए । यस क्षेत्रबाट रविन कोइराला,श्रीप्रसाद मैनाली लगायत दाबेदार थिए ।

कोइरालाबाहेक अरु उम्मेदवार बन्दा कार्कीको चाहना झापा १ मै थियो । तर, बलिया उम्मेदवार कोइरालाको नाम एमालेले एकलरूपमा अघि सारेपछि अब कार्की यहाँबाट नउठ्ने निश्चित भएको छ ।

सोही क्षेत्रबाट २०७० मा रविन कोइराला र २०७४ मा राम कार्कीसँग पराजित भएका कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मा अब रविन कोइरालासँग दोस्रोपटक आम्नेसाम्ने हुने सम्भावना बढेको छ । शर्माले सोही क्षेत्रबाट तेस्रो प्रयासमा सफल हुने आशा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

One thought on “झापा १ मा रविनलाई राम कार्कीको ‘वाकओभर’, विश्वप्रकाशसँग दोस्रो भेट निश्चित

  1. यसपाली को चुनावमा विश्वप्रकाश शर्मा को जित निश्चित🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर