डडेल्धुरामा प्रधानमन्त्री देउवासँग एमालेबाट बोहरा भिड्ने – Nepal Press

डडेल्धुरामा प्रधानमन्त्री देउवासँग एमालेबाट बोहरा भिड्ने

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट पठानसिंह बोहरा भिड्ने भएका छन् ।

कांग्रेसले शुक्रबार प्रतिनिधिसभामा देउवाको एकल नाम सिफारिस गरेको थियो । आज नेकपा एमालेले पनि प्रतिनिधिसभामा बोहराको नाम सिफारिस गरेसँगै देउवा र बोहराको प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

शेरबहादुर देउवा २०४८ यताका ६ वटै संसदीय चुनावमा अपराजित छन् ।

यस पटक उनलाई टक्कर दिने गरी बोहरा मैदानमा आएको नेकपा एमालेको दाबी छ । बोहरा प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्री हुन् ।
०७४ सालमा डडेल्धुरा प्रदेश सभा (१) मा बोहराले कांग्रेसका रघुवर भट्टलाई पराजित गरेका थिए । त्यसबेला बोहराले १३ हजार ५६३ मत ल्याएर विजयी हुँदा भट्टले ११ हजार ३९४ मत पाएका थिए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका बोहराको नाम जिल्ला कमिटीले पनि प्रतिनिधि सभामा सर्वसम्म सिफारिस गरेको पार्टी सचिव गजेन्द्र शाहीले जानकारी दिए । उनी एमाले केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज हुन् । .

त्यस्तै दुईवटै प्रदेश सभामा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको शाहीले जानकारी दिए । उनका अनुसार प्रदेश सभा ‘क’ तर्फ प्रत्यक्षमा चक्रप्रसाद स्नेही सिफारिस भएका छन्। उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा निवर्तमान राष्ट्रिय सभा सदस्य हुन ।

यस्तै, प्रदेश सभा ‘ख’ मा जिल्ला विकास समितिका पूर्व सभापति गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन भएका छन् । उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत हुन् ।

यस अघि कांग्रेसले पनि यी दुबै क्षेत्रका उम्मेदवार सिफारिस गरिसकेको छ । प्रदेशसभा ख मा प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहरा र क मा कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउद सिफारिस भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर