बुढानिलकण्ठका मतदातालाई निर्वाचन कार्यालयबाटै त्रसित बनाइयो : उपमेयर लामा (भिडिओ)
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले कांग्रेस महामन्त्री तथा सोही क्षेत्रका सांसद गगन थापाको दबाबमा निर्वाचन कार्यालयले मतदातालाई त्रसित बनाउने काम गरेको भन्दै आपत्ति जनाएकी छन् ।
आफ्नो नगरपालिकाका ७५५ जना मतदाताको नामलिस्ट नै पठाएर उनीहरुको सक्कल कागजात २४ घण्टाभित्र पेस गर्न भनिएको र मतदातालाई टेलिफोन गरेर तिम्रो नाममा पुर्जी काटिएको छ भन्दै त्रसित बनाइएको लामाले बताइन् ।
फर्जी उजुरीका आधारमा पुर्जी काटिएका मतदातासहित जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेकी उपमेयर लामाले एमाले समर्थक भनेर चिनिएका मतदाता र कार्यकर्तालाई छानी छानी हटाउन खोजिएको बताइन् । यसमा काठमाडौं ४ का सांसद गगन थापाको हात रहेको गुनासो आएको उनको भनाइ छ ।
लामाले भनिन्– यसअघि पटकपटक संसदीय र स्थानीयको चुनावमा मतदान गरेका मतदातादेखि कार्यपालिका सदस्यसम्मलाई किर्ते मतदाता भनेर उजुरी हालेका भरमा मानसिक यातना दिने र त्रसित बनाउने काम निर्वाचन कार्यालयबाटै भएको छ । पत्र नगर र वडाको नाममा आएपछि यसको जवाफदेही हामी हुनुपर्छ । पत्र नै नक्कली रहेको हामीलाई आशंका छ । यसरी निर्वाचन आयोगबाटै मतदातालाई त्रसित पार्ने र गोप्यता भंग गर्ने काम भएको छ ।
आक्रोशित मतदाताहरुले निर्वाचन कार्यालयमा नाराबाजी र तोडफोट समेत गरेका छन् । मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, वडाध्यक्षहरु नवराज भट्टराई, सुमित्रा पाण्डे लगायत मतदातासँगै कार्यालय पुगेका थिए । उनीहरुले उजुरी गर्नेको परिचय खुलाउन समेत माग गरेका थिए ।
वडा कार्यालयबाट सम्बन्धित मतदाताको कागजपत्रसमेत मिलाउने सहमतिपछि स्थानीय फर्केका छन् ।