संस्कृतिमन्त्री श्रेष्ठको व्यवहार अस्वीकार्य: सांसद राई
काठमाडौं । राष्ट्रियसभाकी सदस्य डा. विमला राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी छन् ।
मंगलबार भएको राष्ट्रियसभा बैठकको शून्य समयमा उनले भिसा लिन जाने क्रममा पर्यटनमन्त्री श्रेष्ठले सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् ।
सांसद राईले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य भएको बताइन् । ‘उहाँ (मन्त्री श्रेष्ठ)ले यसमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ’, सांसद राईले भनिन्, ‘तर, सार्वजनिक रुपमा माफी माग्नुपर्छ । किनभने हामी सेवक हौं, शासक होइनौं । यो कुरालाई स्थापित गर्नुपर्छ ।’
जनताले तिरेको करबाट सेवा-सुविधा लिने जनताको शासक नभई सेवक भएको उनको भनाइ छ । सांसदले विधि बनाउने उल्लेख गरेकी उनले विधि उल्लंघन गर्ने पनि उनै भएको टिप्पणी गरिन् ।
सांसद राईले भनिन्, ‘जनताले तिरेको करबाट सेवा-सुविधा लिने हामी जनप्रतिनिधि, मन्त्री र प्रधानमन्त्रीलगायत सरकारका सबै अंग जनताका सेवक हौं, शासक होइनौं ।’
सही कुरा। खुरुक्क राजिनामा देउ नैतिकता छ भने । तर मन्त्नी खान पार्टी फुटाउनेसँग के नैतिकता ?