सुदूरपश्चिम पुगेका प्रचण्ड देखिए निराश, भन्छन्- रिपोर्ट उत्साहजनक छैन – Nepal Press

सुदूरपश्चिम पुगेका प्रचण्ड देखिए निराश, भन्छन्- रिपोर्ट उत्साहजनक छैन

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा पार्टीको रिपोर्ट उत्साहजनक नरहेको बताएका छन् । मंगलबार भएको प्रदेशस्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको जस्तो उत्साह नरहेको बताएका हुन् ।

‘रिपोर्ट उत्सजनक छैन । जनयुद्धमा, संविधानसभाको पहिलो वा दोस्रो निर्वाचनमा संविधान निर्माण गर्दैगर्दाको जस्तो उत्साहजनक रिपोर्ट मलाई लागेन’, उनले भने ।

जनयुद्धको समय स्मरण गर्दै उनले पार्टीमा पहिलेको जस्तो आत्मविश्वास नरहेको पनि बताए । ‘हामी पहिले थोरै थियौं । संख्यामा कम थियौं । आत्मविश्वास भरपूर थियो । कुनै पनि वेला मृत्युवरण गर्ने गरी लडाइँमा थियौं’, प्रचण्डले थपे, ‘तर, हामीमा उत्साह थियो । आत्मविश्वास थियो । संसार जित्छौं भन्ने लागेको थियो । पहिले ५०/१०० हुँदा पूरै आगो बाल्ने रिपोर्ट आउँथ्यो । अहिले यति धेरै छौं । ऊर्जा त्यस्तो छैन ।’

उनले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबीच एकरुपता नभएको समेत बताए । प्रदेशमा माओवादीको एकता भए अरू दलको भविष्य नभएको उनको भनाइ थियो ।

‘सुदूरपश्चिममा राम्रो एकता हुने हो भने, एकरूपता आउने हो भने अरू कुनै राजनैतिक दलको भविष्य हुनेछैन । पूरै माओवादीको कब्जा हुने थियो’, प्रचण्डले भने, ‘तर, विडम्बना त्यस्तो छैन । बुझाइमा एकरूपता छैन । संगठनमा पनि एेक्यबद्धता छैन । जनताको लागि जनताको बीचमा गएर काम गर्ने सोच पनि पहिलेको जस्तो छैन ।’

उनले माओवादीकै कारण संविधानसभाबाट संंघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको समावेशी समानुपातिक प्रतिनिधित्व कायम भएको र देशलाई समाजवादको यात्रा अघि बढेको दोहोर्‍याए । माओवादीले निरन्तरतामा क्रम भंगता गर्दै आएको उनको भनाइ छ ।

केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको संयुक्त बैठक र प्रदेशस्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार कैलाली आएका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किने बताइएको छ । उनीसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि धनगढी आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर