भोजपुरमा एमालेले गर्यो उम्मेदवार सिफारिस, शेरधन किन सर्वसम्मत भएनन् ?
प्रदेशतर्फका दुई निर्वाचन क्षेत्रमा को-को सिफारिसमा परे ? (सूचीसहित)
भोजपुर । नेकपा एमाले भोजपुरले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समिति र हिजो-आज बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका लागि २ जनाको नाम सिफारिस गरेको छ । एमाले स्थायी कमिटी सदस्य प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र संविधानसभा सदस्य तथा पूर्वपर्यटनमन्त्री कृपाशुर शेर्पा सिफारिसमा परेका हुन् ।
सञ्चारमन्त्रीसमेत भइसकेका राई एकलरूपमा सिफारिस हुने भनिएपनि शेर्पाले प्रत्यक्षमा दाबी गरेपछि दुवैजनाको नाम सिफारिस गरिएको हो । शेर्पा समानुपातिकतर्फ उम्मेदवार हुने चर्चा थियो । तर, बैठकमा प्रत्यक्षमै लड्न आकांक्षा देखाउँदै उनले निर्णयको अधिकार माथिलाई छाड्दिनुपर्ने बताएको सहभागी एक नेताले बताए ।
बैठकमा रिपोर्टिङको क्रममा गठबन्धनसँग लड्न चुनौती रहेको भन्दै चुनावमा नयाँ अनुहार सार्नुपर्ने पनि विषय उठेको छ ।
भोजपुरमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र छन् ।
शेरधन भोजपुरबाट ३ पटक निर्वाचित भइसकेका छन् । २०५६ सालमा उनी २५ वर्षको उमेरमा चुनाव जितेर कान्छो सांसदका रूपमा सदन छिरेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी साबिकको भोजपुर-२ बाट माओवादीका सुदन किरातीसँग पराजित भए । ७० को दोस्रो संविधानसभा चुनावमा उनै सुदनलाई हराए । र, २०७४ मा प्रदेशसभा ‘ख’ मा राईले २० हजार ३३४ मत ल्याएर लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीलाई पराजित गरे । कार्की ७ हजार १०५ मतमा रोकिएका थिए ।
शेर्पा २०७० को संविधानसभा निर्वाचनमा भोजपुर-१ बाट विजयी भएका थिए ।
जिल्लाबाट संघमा समानुपातिकतर्फ पासाङदोर्ची शेर्पा र शशी रोक्का सिफारिसमा परेका छन् ।
त्यस्तै प्रदेश ‘क’ मा प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ १२ जना एवं ‘ख’ मा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी दिए ।
हेर्नुस् सिफारिसमा परेकाहरूको नामावली :-
शेरधन राई स्थाई कमिटी सदस्य हो वहाँ पोलिटब्यूरो भनिएको छ।