संघीय राज्यमन्त्री यादव धनुषाबाट प्रदेशसभामा उम्मेदवार सिफारिस – Nepal Press

संघीय राज्यमन्त्री यादव धनुषाबाट प्रदेशसभामा उम्मेदवार सिफारिस

जनकपुरधाम । संघ सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव धनुषाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी छन् ।

नेकपा माओवादी केन्द्र धनुषाले राज्यमन्त्री यादवको नाम प्रदेशसभा क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार सिफारिस गरेको हो । उनीसँगै माओवादी जिल्ला अध्यक्ष देवेन्द्र यादव ‘दीपक’ र रोशन यादवको नाम पनि सिफारिस भएको बुझिएको छ । राज्यमन्त्री यादव यसअघि समानुपातिकको तर्फबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।

गत निर्वाचनमा प्रदेश १ (क) बाट नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको नेकपा एमालेका किशोरी साह ‘कमल’ निर्वाचित भएका थिए । एमालेले उम्मेदवारको टुङ्गो लगाएको छैन । तर, साह पुनः उम्मेदवारको आकांक्षी छन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र वीरेन्द्र महतोको नाम सिफारिस भएको माओवादी जिल्ला अध्यक्ष दीपकले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादीबाट प्रभावशाली नेता मातृका यादव उम्मेदवार बन्ने निश्चित छ । माओवादी जिल्ला कमिटीले उनको एकल नाम सिफारिस गरेको छ ।

माओवादीले धनुषा क्षेत्र नम्बर २ बाट योगकुमार बरबरियाको एकल नाम सिफारिस गरेको छ । क्षेत्र ३ बाट सौखीलाल पासवान र युगेश्वर यादव तथा क्षेत्र ४ बाट देवसागर दासको एकल नाम सिफारिस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर