प्रचण्ड-जनार्दन मनमुटाब मञ्चमै पोखियो, कसको रक्षक को ? भिडिओमा हेर्नुहोस् दोहोरी – Nepal Press

प्रचण्ड-जनार्दन मनमुटाब मञ्चमै पोखियो, कसको रक्षक को ? भिडिओमा हेर्नुहोस् दोहोरी

काठमाडौं । महासचिव चयनदेखि नै असन्तुष्ट रहेका अर्थमन्त्री तथा माओवादी पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको उपस्थितिमै आलोचना गरेपछि दुवै नेताबीच घोचपेच र सवाल जवाफ चलेको छ ।

अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड र विशिष्ट अतिथि जनार्दन शर्माबीच घोचपेच चलेको हो । प्रचण्ड कार्यक्रमको सुरुमै बोल्न चाहन्थे । तर जनार्दनले आफू पहिले बोल्ने जिद्दि गरेपछि आफूले छाडेको प्रचण्डले बताए ।

प्रचण्डलाई रोकेर भाषण गर्न मञ्चमा पुगेका शर्मालाई विद्यार्थीले ताली बजाएर हुटिङ गर्दा उनले ‘नबजाऊ ताली, मलाई तालीदेखि डर लाग्छ, नगर गाली मलाई गालीदेखि रिस उठ्छ’ भन्दै मन्तव्य सुरु गरेका थिए ।

शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा बोल्न उभिएको भन्दै सुरुदेखि नै प्रचण्डसँगको असन्तुष्टि पोखेका थिए । आफू निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर कमिटी बनाएको पवन कार्की समूहलाई पार्टीले नरम नीति लिएकोमा समेत उनले असन्तुष्टि पोख्दै नीति र नेतृत्व सही हुनुपर्ने बताए ।

जनार्दनले यसो भने

हामीले लाइनको कुरा सुनेर संगठनमा निर्णय गर्ने होइन । स्वार्थ पूर्ति गर्न नेतृत्वलाई बहकाउन सक्छन् कसैले । म नीति र नेतृत्वलाई सधैँभरि रक्षा गर्ने मान्छे हुँ । सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । म त अध्यक्षको कडा आलोचक पनि मै हुँ र सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे पनि मै हो । अध्यक्षले यही मञ्चमा उभिएर अहिले यसको जवाफ दिनुहोला । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्दैन । नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको कडा आलोचक हुँ,आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा गर्छ,चाकडीले होइन । आलोचनाले नेतृत्वको रक्षा गर्छ चाकडीले होइन

जनार्दनपछि बोल्न उभिएका प्रचण्डले आफ्नो भनाइ सक्ने क्रममा हल्का आक्रोशित मुद्रामा जवाफ दिँदै जनार्दनलाई हुर्काउन र रक्षा गर्न आफ्नो मुख्य भूमिका रहेको बताए ।

प्रचण्डको जवाफ यस्तो थियो

जनार्दनजीले जाँदा जाँदै भन्नुभयो, यो पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा । म म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा बुझ्न जरुरी छ । उनको रक्षा र विकास गर्न पनि प्रचण्डले मुख्य भूमिका खेलेको छ । म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ । शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्व गरेँ । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि त धेरै चीज भएकै छ । मेरो चाहना राम्रा उत्तराधिकारीहरू आउन्,नेतृत्व गरुन्,हाम्रो विरासत र हाम्रो परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढुन् भन्ने हो । …


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड-जनार्दन मनमुटाब मञ्चमै पोखियो, कसको रक्षक को ? भिडिओमा हेर्नुहोस् दोहोरी

  1. म्याउ बादी झोलेहरु पापलपाते रैछन जनार्दनः बोल्दा पनि सहि लगाए प्रचण्डको पनि सहि कुन सहि कुन गलत भन्ने भेऊ नपाउने भेडैरान्

  2. बधाई छ जनार्दन । प्रचण्डलाई ललकार्ने स्थानमा पुगेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर