बर्दियाको चुनावी सेरोफेरो : कांग्रेस-माओवादीलाई वामदेवको इन्ट्रीले तगारो
रुपन्देही । बर्दियामा नेपाली कांग्रेस र माओवादीलाई क्षेत्र बाँडफाँटमै संकट छ । यसै वेला गठबन्धनमा वामदेव गौतमको इन्ट्रीले चुनौती थपिएको छ ।
नेता गौतमको गृहजिल्ला भएकाले पनि उनको चाहनालाई व्यवस्थापन गर्दा कांग्रेस र माओवादीका यसअघि जितेका नेताहरूलाई मिलाउन सकस परेको सम्बन्धित दलका नेता कार्यकर्ताको भनाइ छ । २०७४ मा एमालेको बलियो सांगठनिक आधार भए पनि पराजय खेपेका गौतम अहिले जसरी पनि संघीय सांसद हुने गरी तयारीमा लागेका छन् ।
त्यसका लागि उनले माओवादीको चुनाव चिन्ह हँसिया हथौडाको ‘फेरो’ समातेका छन् । यद्यपि माओवादीले गौतमलाई टिकट दिनुपर्ने भएकाले उनी कहाँबाट लड्ने टुंगिसकेको छैन ।
एमाले छाडेपछि नेकपा एकता राष्ट्रिय अभियानको संयोजक बनेका गौतमको प्रभाव गृहजिल्लामा कमजोर भएकाले उनलाई जिताउन कठिन भएको कांग्रेस-माओवादीका नेताहरूले नेतृत्वलाई रिपोर्टिङ गरिरहेका छन् ।
स्थानीय तहको मत परिणामअनुसार बर्दियामा तेस्रो स्थानमा खुम्चिएको नेकपा एमाले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो शक्ति बन्ने ध्याउन्नमा छ । गठबन्धनमा रहेका नेता त्यसलाई रोक्न उद्यत छन् ।
२०७४ मा बर्दियाको १ नम्बर क्षेत्रमा कांग्रेस नेता सञ्जयकुमार गौतमले एमाले उम्मेदवार वामदेव गौतमलाई ७५३ मतान्तरले पराजित गरेका थिए । सञ्जय ४४ हजार ८२९ मतका साथ विजयी हुँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए ।
नेकपा एकता राष्ट्रिय अभियानकी केन्द्रीय सदस्य टोफा यादवले वामदेव गौतम आउँदो निर्वाचनमा बर्दियाबाट चुनाव लड्ने सम्भावना कम रहेको बताइन् । उनका अनुसार गौतम प्रत्यक्ष निर्वाचन लडे पनि गठबन्धनको सल्लाहमा अन्तबाटै लड्नसक्ने अवस्था छ । गौतमले २०७० सालको दोस्रो संविधानसभा निर्वाचन प्यूठानबाट लडेर जितेकाले उतै ताकेको हुनसक्ने आंकलन गरिएको छ ।
दुई निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा वामदेवले नलडे कांग्रेस र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुनेछ । यहाँबाट यसपटक पनि कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम नै मुख्य आकांक्षी छन् । उनी कांग्रेसबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । उनीसँगै महेन्द्र शर्मा, नेत्र राना, गंगाधर पौडेल, यमनाथ घिमिरे, विवेकराज भण्डारी सिफारिस भएका छन् ।
एमालेबाट केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लक्ष्मण ज्ञवाली र प्रदेश उपसचिव लीला राना आकांक्षी छन् । ज्ञवाली २०६४ सालमा बर्दियाबाट पराजित भएका थिए भने राना २०७० सालको दोस्रो संविधानसभा निर्वाचनकी समानुपातिक सांसद हुन् ।
गत निर्वाचनमा बर्दियाको क्षेत्र नम्बर १ (क) बाट एमालेका कविराम थारू २३ हजार ५६० मतका साथ विजयी भएका थिए भने बर्दिया १ (ख) बाट माओवादी केन्द्रका तिलकराम शर्मा २३ हजार ३९२ मत ल्याएर विजयी भएका थिए ।
आउँदो निर्वाचनमा १ नम्बर क्षेत्रबाट माओवादीका शर्मा उम्मेदवार बन्ने तयारी गरे पनि गठबन्धन भएमा यो क्षेत्र कांग्रेसलाई छोडेर उनले प्रदेशमै चित्त बुझाउनुपर्नेछ । माओवादी पोलिटब्यूरो सदस्य शर्मा अहिले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री छन् ।
स्थानीय तहमा वडाध्यक्षमा आएको मत परिणामअनुसार क्षेत्र नं १ मा एमाले ३६,८१२, कांग्रेस ३४,६२२, माओवादी २४,३४१, राप्रपा ३,१९०, जसपा २,२३७, एस १,६५२, लोसपा १५६ मतभारमा छन् । एक्लाएक्लैमा पहिलाे भए पनि गठबन्धन भएमा एमालेलाई चुनौती छ ।
सहमहामन्त्री राठौरलाई आफ्नै क्षेत्रमा चुनौती
बर्दिया क्षेत्र नम्बर २ मा कांग्रेस नेता आरजु राणासहित ५ जना सिफारिसमा परेका छन् । सहमहामन्त्री किशोरसिंह राठौरको यस क्षेत्रमा यसअघि निर्वाचन जितेका माओवादी केन्द्रका सन्तकुमार थारू बलिया दाबेदार छन् । राणा आएमा संस्थापन समूहमा रहेका राठौरले त्याग गर्नुपर्नेछ । गठबन्धनमा यो क्षेत्र कांग्रेसलाई नपर्ने सम्भावना बढी भएकाले पनि राठौरले बाँके ३ नं मा आफ्नो नाम सिफारिस गराएका छन् । माओवादी पार्टीको जिल्ला इन्चार्ज रहेका सन्तकुमारले लगातार ३ पटक निर्वाचन जितेका छन् । माओवादीबाट सन्तकुमारसँगै अर्का दुर्गाबहादुर थारू पनि आकांक्षी छन् ।
बर्दियाको २ नम्बर क्षेत्रमा माओवादी केन्द्र बलियो देखिन्छ । यसअघि सन्तकुमारले ५० हजार ५५५ मतका साथ विजयी हुँदा कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत मात्र ल्याएका थिए । यसकारण पनि गठबन्धनमा यो क्षेत्र माओवादीले पाउने निश्चितजस्तै छ । १ नम्बर क्षेत्र कांग्रेस र २ नम्बर क्षेत्र माओवादीले लिएर टिकट बाँडफाँट गर्ने चर्चा छ ।
प्रदेशसभातर्फ २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर २ (क) तर्फ पनि माओवादीका दिपेश थारू निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ (ख) मा एमालेका कूलप्रसाद पोखरेलले जितेका थिए । नेता थारू अहिले प्रदेश सांसदबाट राजीनामा दिएर गत वैशाख ३० स्थानीय तह निर्वाचनमा राजापुर नगरपालिका मेयरमा विजयी भएका छन् ।
कांग्रेस सहमहामन्त्री राठौरको क्षेत्र पनि यही भएकाले गठबन्धनमा उनलाई कसरी व्यवस्थापन गर्ने अर्को चुनौती छ । आरजु राणा, राठौरसँगै, जिल्ला सभापति अरूणप्रकाश सिंह राठोर, जन्मजय तिमिल्सिना, परशुराम थारु,भागीरथी चौधरी, जग्गा पाण्डेको सिफारिस भएको छ । जिल्ला सभापति अरूणप्रकाश सिंहले स्थानीय तह निर्वाचनमा जिल्लामा गठबन्धन नगरेकाले आउँदो निर्वाचनमा पनि गर्नुपर्ने आवश्यक नभएको बताउँछन् ।
एमालेबाट २ नम्बर क्षेत्रमा विमला विक र भीम केसी आकांक्षी छन् । विक एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा हाल प्रतिनिधि सभाको समानुपातिक सांसद हुन् । केन्द्रीय सदस्य केसी २०६४ सालमा यसै क्षेत्रबाट पराजित नेता हुन् ।
स्थानीय तह निर्वाचनमा जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटा कांग्रेस, २ वटा माओवादी र १ वटामा एमालेले जितेका छन् । स्थानीय तहमा वडाध्यक्षमा आएको मत परिणामअनुसार यो क्षेत्रमाः कांग्रेस ३८३५२, माओवादी ३०७९८, एमाले २३३२०, राप्रपा १५०२, एस ७२८, जसपाको २३४ छ ।