दार्चुलामा बाढी र पहिरोको बितन्डा: २ जनाको मृत्यु, ४ जना बेपत्ता (तस्वीरहरुसहित)
कैलाली । गएरातिदेखिको अविरल वर्षाले आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
बाढीका कारण एक दर्जन घर बगेका छन् ।
बाढीपहिरोमा एकै परिवारका ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको छ ।
उता नौगाडमा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको उनले बताए । वर्षा रोकिएपछि उद्धार कार्य अघि बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको छ ।
लास्कु खोला र महाकाली नदीमा बाढी आएपछि ठूलो क्षति भएको हो । नदीले कटान गर्ने क्रम नरोकिएकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।