युवा संघ बागमतीको अध्यक्षमा गुरुङ निर्वाचित, यी हुन् पदाधिकारी
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको बामगती प्रदेश कमिटीको अध्यक्षमा जय गुरुङ निर्वाचित भएका छन् । शुक्रबार भक्तपुरमा सम्पन्न युवा संघको प्रथम बागमती प्रदेश अधिवेशनले रामेछापका गुरुङलाई अध्यक्षमा चयन गरेको हो । उनी यसअघि प्रदेश संयोजक थिए ।
युवा संघका केन्द्रीय सचिव र सदस्यसमेत रहिसकेका गुरुङ सर्वसम्मत अध्यक्ष भएका हुन् । अधिवेशनले उपाध्यक्षमा दिलीप पौडेल, सचिवमा राजु तिवारी, सहसचिवमा माधव शिमाली र राजेश खड्का तथा कोषाध्यक्षमा नरेन्द्र भण्डारीलाई चयन गरेको छ ।
त्यस्तै बागमती युथफोर्सको संयोजकमा सिन्धुपाल्चोकका सुरेनविक्रम योन्जन चयन भएका छन् । उपप्रमुखमा भक्तपुरका सुमितजंग कार्की छन् ।
युवा संघकै घटक साइबर सर्कल एवं प्रवक्तामा विनोद पौडेलसहित ९७ सदस्यीय प्रदेश कमिटी चयन भएको युवा संघले जनाएको छ ।
सूर्यविनायकमा भएको अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका थिए । अधिवेशनमा युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल, क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेबेलगायतले शुभकामना दिएका थिए ।