आफ्नै बारेमा प्रचण्ड- खान नपुग्ने परिवारमा जन्मेको म दुईचोटि प्रधानमन्त्री भएँ, सपनाजस्तो लाग्छ (भिडिओ) – Nepal Press

आफ्नै बारेमा प्रचण्ड- खान नपुग्ने परिवारमा जन्मेको म दुईचोटि प्रधानमन्त्री भएँ, सपनाजस्तो लाग्छ (भिडिओ)

‘अब बाँकी जीवन देशको आर्थिक क्रान्तिमा समर्पित गर्छु’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार एउटा कार्यक्रममा युवा लगानीकर्ताहरूसँग आफ्नो निजी जीवनका अनुभव बाँडेका छन् । खान-लाउन नपुग्ने विपन्न परिवारमा जन्मेको आफू दुईपटक प्रधानमन्त्री बन्न सफल भएको भन्दै उनले आश्चर्य र गौरव एकसाथ प्रकट गरे ।

नेपाल युवा लगानीकर्ता सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नो विगत कोट्याएका थिए । आफ्नो परिवार खान नपुगेरै कास्कीबाट चितवनमा सरेको उनले सुनाए । युवा अवस्थामा देशमा निरंकुशता र सामन्तवाद अन्त्य गर्ने अठोट लिएर हिँडेपछि पछाडि फर्केर हेर्नु नपरेको उनको भनाइ थियो ।

‘पहाडमा खान नपुगेर चितवनमा बसाइँ सरेको बच्चा दुईचोटि गणतन्त्र नेपालको प्रधानमन्त्री भएँ । फर्केर हेर्दा आफैंलाई सपना हो कि विपना हो जस्तो लाग्छ’, प्रचण्डले भने ।

कार्यक्रममा प्रचण्डले गरेको संबोधनको एक अंश-

म आफैं कहिलेकाहीँ आफ्नो इतिहास र विगतलाई फर्केर हेर्छु । म कास्की जिल्लाको ढिकुरपोखरीको गरिब किसान परिवारमा जन्मेको हुँ । घरमा खान-लाउन नपुग्ने भएकाले म ८ वर्षको छँदा परिवार चितवन बसाइँ सरेको थियो । मेरो पढाइ-लेखाइ, हुर्काइ सबै चितवनमा नै भयो, जुन अहिलेको भरतपुर महानगरपालिकामा पर्छ ।

एसएलसी गरेर कलेज पढ्दै गर्दा जीवनमा के चैं लक्ष्य लिने भनेर युवा साथीहरूमा डिबेट हुन्थ्यो । त्यसबेला सबैभन्दा पहिले नेपालको राजनीतिलाई ट्रयाकमा ल्याउनु आवश्यक छ भन्ने निष्कर्षमा हामी पुग्यौं । राजनीति नै धमिलियो भने अरु प्रयासले अपेक्षित परिणाम आउन सक्दैन भन्ने ठहर भयो । निरंकुशताको अन्त्य हुनुपर्छ र सामन्तवादको अन्त्य हुनुपर्छ भनेर हामीले आफ्नो अभियान सुरू गर्‍यौं । त्यसको निम्ति निरन्तर लाग्ने र एउटा विन्दूमा पुगेर देशलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने सपना देख्यौं र अठोट गर्‍यौं । त्यो अठोट अहिलेसम्म कायम छ ।

सपना देख्नुस्, लागिपर्नुस् । सफलता तपाईंलाई चुम्न आइपुग्छ । म पहाडमा खान नपुगेर चितवनमा बसाइँ सरेको बच्चा दुईचोटि प्रधानमन्त्री भएँ गणतन्त्र नेपालको । यो कसरी सम्भव भयो भन्ने हेर्दा आफैँलाई सपना हो कि विपनाजस्तो लाग्छ । तर, हुँदो रहेछ । आफैँलाई गौरवशाली पनि ठान्छु म । युद्धको नेतृत्व गरेँ १० वर्षसम्म । त्यो पनि नेपालको इतिहासमा कहिल्यै नभएको विद्रोहको कमाण्ड गरेँ । सुप्रिम कमाण्डर भएँ । यो सबै अवसर सजिलै प्राप्त गर्ने र गर्न सक्ने कुरा पनि होइन । सजिलो भए कसले मलाई छोड्थ्यो र । विस्तृत शान्ति सम्झौताको पनि नेतृत्व गरेँ । यो पनि सबैले पाउने कुरा होइन । युगान्तकारी कुरा हो । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधान निर्माण, यो पनि सानो कुरा होइन ।

देश निर्वाचनतिर जाला कि नजाला, मधेस पहाड मिल्ला कि नमिल्ला ? भन्ने थियो । म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशलाई निर्वाचनतिर लगेर संविधान कार्यान्वयनको एउटा ऐतिहासिक आधारशीला खडा गर्ने काम गरेँ । एउटा व्यक्तिलाई यति ठूल्ठूला घटनाहरुको नेतृत्व गर्ने र युगान्तकारी परिवर्तन संस्थागत गर्ने अपसर प्राप्त हुनु धेरै ठूलो गौरवको कुरा हो ।

फर्केर हेर्छु, कसरी यस्तो भयो होला । जतिबेला त्यो सपना देखेर, अठोट लिएर यो देशलाई नयाँ ठाउँमा पुर्‍याउने भनेर अघि बढेँ, दायाँ-बायाँ फर्केर हेरिनँ । भन्न त मलाई भन्छन्, कहिले के, कहिले के गर्छ भनेर । तर, म आफ्नो मुख्य उद्देश्यबाट कहिल्यै पनि दायाँबायाँ भएको छैन । तपाईंहरू पनि अठोट लिनुस् र त्यसमा अडिनुस् ।

म अब जीवनको उत्तरार्द्धमा छु । ५-७ वर्ष, बढीमा १० वर्ष होला सक्रिय जीवन भनेको । अब समृद्धि र आर्थिक क्रान्तिका लागि बाँकी जीवन समर्पित गर्ने अठोट गरेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर