एकदिनमा २० जना नेपालीले गर्छन् आत्महत्या ! – Nepal Press

एकदिनमा २० जना नेपालीले गर्छन् आत्महत्या !

हेटौ‌ंडा । पछिल्लो समय नेपालमा आत्महत्याका घटना बढ्न थालेको छ । गत वर्ष नेपालमा ६ हजार ८३० जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्या‌ंक रहेको छ । प्रहरीको तथ्याङ्क हेर्दा प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने गरेका छन् ।

गत वर्षमा प्रदेश १ मा सबैभन्दा धेरैले आत्महत्या गरेका छन् । प्रदेश १ मा १ हजार ४९१ जनाले आत्महत्या गरेका थिए । दोस्रोमा बागमती प्रदेशमा १ हजार ४४२ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

प्रदेश १ र बागमतीपछि लुम्बिनीमा १ हजार ३०४ जनाले आत्महत्या गर्दा मधेसमा १ हजार २० जनाले आत्महत्या गरेका छन् । गण्डकीमा ६९८, सुदूरपश्चिममा ५८३ र कर्णालीमा २९१ जनाले आत्महत्या गरेका छन् ।

पछिल्लो एक दशकको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा आत्महत्याको दर बढेको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा ५ हजार ३१७ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जना र आर्थिक वर्ष २०७६/०७७ मा ६ हजार २९७ जनाले आत्महत्या गरेका थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा आत्महत्याको दर १३.७२ प्रतिशतले वृद्धि भएर ७ हजार १४१ जना पुगेको प्रहरीको तथ्यांक देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा भने आत्महत्यादर ४.३५ प्रतिशतले घटेको पाइएको छ । यस वर्ष ६ हजार ८३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ ।

आत्महत्या गर्नेमा पुरुष धेरै पाइएको छ । तथ्यांकअनुसार ५६ प्रतिशत पुरुषले आत्महत्या गरेको पाइएको हो । ३३ प्रतिशत महिला, ७ प्रतिशत किशोरी तथा ४ प्रतिशत किशोरले आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्याको कारण गरिबी तथा अशिक्षा नभएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक रेग्मी बताउँछन् । उनी भन्छन्, ‘गरिबी र अशिक्षाको कारण आत्महत्या बढी हुने भए पनि नेपालमा विकास र चेताना कम भएका प्रदेशमा आत्महत्याको दर कमै देखिएको छ । त्यसैले गरिबी र अशिक्षा मुख्य कारण हाेइनन् । आत्महत्याको कारण मानिसमा रहेको सोच हो । उसको दिमागमा कस्तो सोच चलिरहेको छ भन्ने प्रमुख कारण हो ।’

आत्महत्या गर्ने मानिसको दिमागमा कुन रसायनले काम गरेको छ भन्ने विषयमा अध्ययन हुनुपर्ने एसएसपी रेग्मीको भनाइ छ । पछिल्लो समय नेपालमा बढेको सामूहिक हत्यापछिको आत्महत्या चिन्ताको विषय भएको उनले बताए ।

उनले भने, ‘आफू पनि मर्ने र आफूले धेरै माया गर्ने तथा धेरै रिस उठ्नेलाई पनि मार्ने तरिकाको आत्महत्या निकै घातक हुन्छ । यो समस्याको विषय हो ।’

आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

आत्महत्याको सवाल र न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको कोसिस नेपालका संस्थापक अध्यक्ष मात्रिका देवकोटा पनि आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य नै भएको बताउँछन् । मानिसहरुले नियमित गर्ने व्यवहार एक्कासि परिवर्तन हुन थालेको अवस्थामा ती व्यक्तिलाई निगरानी गर्नुपर्ने, उनीहरुको मानसिक अवस्थाबारे चिकित्सकसँग सल्लाह लिनुपर्ने देवकोटाको भनाइ छ ।

आत्महत्याको सोच भएका व्यक्तिहरुलाई समयमै पहिचान गरेर उचित उपचार गर्न सके आत्महत्याको दरमा कमि आउने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *