श्रमिकसँग श्रममन्त्री : गुनासा सम्बोधन गरिँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तरगर्त उनले नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका हुन् ।
कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासो राखेका थिए ।
पछिल्लो समय धेरेले विदेश जाँदा ठगिएको गुनासो राखेका थिए । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताए । साथै उनले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेकोसमेत बताए ।
मन्त्री कुँवरले म्यानपावरले श्रमिकबाट विदेश पठाउछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताउँदै श्रमिकलाई म्यानवरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गरेका छन् । उनले ‘श्रमिकसँग श्रम मन्त्री’मार्फत अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासा सुनिसकेका छन् ।
अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट टेलिफोनमार्फत मन्त्रीसँग आफ्ना गुनासा राखेका छन् । श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासा बैदेशक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न निर्देशन दिएका छन् ।
‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संञ्चालन भइरहेको छ ।