‘ज्येष्ठ’ पूर्वप्रधानमन्त्रीका नजरमा शीर्ष तीन नेताः ओली पुटिनजस्ता, देउवा र प्रचण्ड कस्ता ? (भिडिओ) – Nepal Press

‘ज्येष्ठ’ पूर्वप्रधानमन्त्रीका नजरमा शीर्ष तीन नेताः ओली पुटिनजस्ता, देउवा र प्रचण्ड कस्ता ? (भिडिओ)

काठमाडौं । नेपालका ५ जना जीवित पूर्वप्रधानमन्त्रीमध्ये चारजना आगामी चुनाव लड्ने सुरसार गर्दै मैदानमा उत्रिएका छन् । तर, एक पूर्वप्रधानमन्त्री भने राजनीतिक परिदृष्यमा कतै देखिँदैनन् ।

सक्रिय राजनीतिबाट अघोषित विश्राम लिएका यी पूर्वप्रधानमन्त्री हुन् लोकेन्द्रबहादुर चन्द । मंसिरमा हुने आम निर्वाचनमा उनी केवल मतदाताका रूपमा सहभागी हुनेछन् । तर, एउटा राजनीतिकर्मीका रूपमा चुनावप्रति उनको गहिरो चासो रहेको छ ।

बाहिरैबाट मंसिर ४ को चुनावी माहौललाई नियालिरहेका चन्दका नेपाली राजनीतिलाई हेर्ने आफ्नै दृष्टिकोण छन् । अनि अहिले राष्ट्रिय राजनीतिका प्रमुख हस्तिहरूलाई हेर्ने उनको नजर कस्तो छ त ? शीर्ष तीन नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाले उनले आफ्नो संक्षिप्त धारणा नेपाल प्रेससँग सेयर गरेका छन् । ।

माओवादी सुप्रिमो प्रचण्डलाई गहिरो गरी हेर्दा रमाइलो लाग्ने बताउँछन् चन्द । हाँस्दै भन्छन्, ‘उहाँ (प्रचण्ड) एक न एक कुरा निकालिरहनुहुन्छ । तपाईंलाई घर भयो, जग्गा भयो अब स्वर्गको तारा पनि दिउँला भन्नुहुन्छ ।’

तर, प्रचण्डले दाबी गरेजस्तै मुलुक अहिले माओवादीकै एजेण्डामा चलिरहेको चन्दको बुझाइ छ ।

उनी थप्छन्, ‘प्रचण्डसँगको कुराकानीमा मैले के पाएको छु भने उहाँ नयाँ-नयाँ रूप लिइरहनुहुन्छ । यो गणततन्त्र उहाँहरूकै एजेण्डा हो । संघीयतता उहाँहरूकै एजेण्डा हो । जातीय राज्य पनि उहाँहरूकै एजेण्डा थियो । तर, धन्न जातीय राज्य चाहिँ बनाउनुभएन ।’

एमाले अध्यक्ष ओलीप्रति टिप्पणी गर्दै चन्दले उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग तुलना गरे ।

चन्दले भने, ‘रुसको राष्ट्रपति पुटिन छ नि ? हो, ओली नेपालका पुटिन हुन् । उहाँको बानी के छ भने डटेपछि डटिरहने । लागेपछि लागिरहने । त्यसमा मैले थप भन्नुपर्छ जस्तो लाग्दैन ।’

ओली जहिल्यै बलियो देखिने, कमजोर कहिल्यै नदेखिने उनको विश्लेषण छ ।

‘उहाँ कतै लत्रेको देख्नुभएको छ ? उहाँ त भाषण पनि हाँकिरहने मान्छे । टुक्काहरू झिकेर रमाइलो पनि गरिरहने मान्छे हुनुहुन्छ,’ चन्द भन्छन् ।

पूर्वराजा ज्ञानेन्द्रले देउवाको सरकारलाई अपदस्त गरेर प्रत्यक्ष शासन आफ्नो हातमा लिई चन्दलाई प्रधानमन्त्री बनाएका थिए । त्यो समयको राजनीतिक उतारचढाव चन्दको दिमागमा ताजा नै छ । यद्यपि, देउवाप्रति धेरै टिप्पणी गर्न चाहँदैनन् ।

‘उहाँ खासमा असल मान्छे हो । अझै प्रधानमन्त्री हुन्छन् भनेर ज्योतिषले भनेका छन् । त्यस्तो मान्छेलाई मैले खराब भनेर हुन्छ त ?’, चन्दले कटाक्ष गर्दै भने ।

६ दशक सक्रिय राजनीति गरेका ८३ वर्षीय पूर्वप्रधानमन्त्री चन्दसँग गरिएको विस्तृत अन्तर्वाता नेपाल प्रेसमा प्रतीक्षा गर्नुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर