काठमाडौं २ मा ओनसरीलाई प्रचण्डको ‘ग्रीनसिग्नल’, हमाल व्यवस्थापन गर्न नेकपा एसको अडान – Nepal Press

काठमाडौं २ मा ओनसरीलाई प्रचण्डको ‘ग्रीनसिग्नल’, हमाल व्यवस्थापन गर्न नेकपा एसको अडान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने लगभग निश्चित भएपछि उनले यसअघि जितेको काठमाडौं क्षेत्र नम्बर २ मा त्रिपक्षीय दाबी परेको छ ।

स्थानीय तह निर्वाचनको मतका आधारमा पहिलो रहेको नेपाली कांग्रेसले दाबी गर्ने नै भयो । नेकपा एसले मापदण्डअनुसार आफ्नो भागमा पर्नुपर्ने बताइरहेका बेला स्थानीय तह चुनावको मतका आधारमा काठमाडौं २ मा माओवादीको पनि बलियो दाबी परेको छ ।

अझ रोचक कुरा चाहिँ पूर्वसभामुख ओनसरी घर्तीको नाम माओवादी केन्द्रले सो क्षेत्रबाट पहिलो नम्बरमा सिफारिस गरेपछि काठमाडौं २ को सीट बाँडफाँट पेचिलो बनेको छ । माओवादीले पहिलो नम्बरमा ओनसरी र दोस्रो नम्बरमा झक्कु सुवेदीको नाम सिफारिस गरेको छ ।

ओनसरीको सन्दर्भमा कांग्रेस लचिलो भए पनि नेकपा एसले सो क्षेत्रमा सीट बाँडफाँट कार्यदलमा समेत रहेका पार्टी उपाध्यक्ष प्रमेश हमालको लागि अडान राखेको छ । हमाल ललितपुर ३ का हुन् । तर, सो क्षेत्रमा माओवादीबाट पम्फा भुसाल रहेकाले उनलाई काठमाडौं २ मा उम्मेदवार बनाउन खोजिएको छ ।

कांग्रेस लचिलो भए पनि माधव नेपालले प्रमेश हमालको व्यवस्थापन गर्नुपर्ने बताएपछि माओवादी र नेकपा एसको शीर्ष तहमै वार्ता हुने भएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि काठमाडौं २ लगायत कतिपय क्षेत्रमा माओवादी र नेकपा एसको दोहोरो दाबी रहेको बताए ।

पूर्वसभामुख घर्ती भने सबै परिस्थिति मिलेर दलहरुले आग्रह गरेमात्र चुनाव लड्ने मनस्थितिमा रहेको निकट स्रोतले जनाएको छ । पूर्वसभामुख जस्तो व्यक्तिलाई दलहरुले आग्रह गर्दा उम्मेदवार बन्ने उनको मनसाय छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले उनलाई काठमाडौं २ बाट उम्मेदवार बन्न आग्रह गरेका छन् । त्यसपछि नै क्षेत्रीय कमिटीले उनको नाम एक नम्बरमा सिफारिस गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर