लक्ष्मीपुरका पूर्वमेयरसहित विभिन्न दलका नेता भित्र्याउन एमाले अध्यक्ष ओली सिरहा आउँदै
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार (भोलि) सिरहा जाने भएका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा भित्र्याउन अध्यक्ष ओली सिरहा जान लागेका हुन् ।
एमाले सिरहाले गोलबजार नगरपालिकामा पर्ने चोहर्वास्थित नमूना जनता मावि प्राङ्गनमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष ओली हुनेछन् । उनले करिब विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा भित्र्याउने कार्यक्रम छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकिकृत समाजवादी लगायतका पार्टीबाट ठूलाे संख्यामा एमाले प्रवेश गर्न लागेकाे जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।
उनले अन्य पार्टीबाट शीर्ष नेताहरु को को एमालेमा प्रवेश गर्ने विषयमा केही बताउन चाहेनन् । उनले नेपाल प्रेससँग भने, ‘विभिन्न पार्टीका कार्यकर्ता मात्र होइन, नेताहरु पनि एमालेमा प्रवेश गर्दैछन् । तर उहाँहरुको नाम मञ्चबाटै सार्वजनिक गर्छौ ।’
स्रोतका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवसँगै हजारौं कार्यकर्ता शुक्रवार एमालेमा प्रवेश गर्नेछन् ।
दुई दिन अगाडि धनुषा आएर एमाले अध्यक्ष ओलीले कांग्रेस नेता सन्तोष यादव, जसपा संघीय सांसद रुहीनाज र प्रदेश सांसद रञ्जु कुमारी यादवलगायत हजारौं कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका थिए ।
आसन्न आम निर्वाचनलाई लक्षित गर्दै पछिल्लो समय मधेसका जिल्लाहरुमा पुगेर एमाले अध्यक्ष ओली ठूलो संख्यामा विभिन्न पार्टीका नेता कार्यकर्ता भित्र्याएका छन् । मधेसमा एमाले प्रवेशको लहर चलेको देख्दा निर्वाचनमा राम्रो परिणाम ल्याउने देखिएको छ ।