थिरबम मल्लको जन्म र सोह्र श्राद्धको संयोग
गल्कोटे राजाहरु र राजनीतिक मुक्ति आन्दोलन
त्यो मध्यकालीन नेपाल । उनताकाकै गण्डकी प्रदेश । चौबीसी राज्यको जगजगी राज्यमध्ये पर्छ गल्कोट । भुरेटाकुरे राज्य कसरी चलेका थिए ? त्यसको लिखोट पाइन्न । मध्यकालीन (चौधौं शताब्दीदेखि अठारौं शताब्दीसम्म) गल्कोट राज्यको इतिहास भने साक्षी छ । गल्कोट राज्य, जुनबेला २ हजार कुरिया घरधुरी थियो । त्यही घरधुरी, घरेलु उद्योग, खानीकर र व्यापारको करबाट गल्कोट राज्य सञ्चालन हुन्थ्यो । गल्कोट राज्यको वार्षिक आम्दानी ५ हजार रुपैयाँ थियो ।
गल्कोटमा चन्द्रवंशी, आत्रेय गोत्र, मल्ल थर र मलैवम्म खानदानका राजाहरुले शासन गरे । अहिलेसम्म उनका १८औं पुस्ता गल्कोटमा छरिएर ‘आइसियोस्, खाइसियोस्’ राजघरनाको भाषा जीवितै छ । छरछिमेकमा उनका १८औं पुस्तामा अहिलेसम्म ‘राजा’ कहलिएकै छन् ।
गल्कोटका वंशमा जितारी मल्ल, पार्थिबम मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त (राजदत्त) मल्ल, पार्थीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल, जगतबम मल्ल, जगतप्रताप मल्ल, राज्यप्रताप मल्ल, (ज्योतिप्रताप मल्ल कान्छा भाइ) पृथ्वीबम मल्ल, ललितबम मल्ल, नारायण मल्ल, भरतबम मल्ल, लक्ष्मण मल्ल, थिरबम मल्ल (२००७ सहिद) लक्ष्मणको छोरा, माधवबम मल्ल, मञ्जेशबम मल्ल १८औं पुस्तामा पर्छन् ।
गल्कोट विक्रम संवत् १६६१ मा स्थापना भएको देखिन्छ । समाप्ति संवत् १८४२ सालमा । गल्कोट राज्यको सिमाना पूर्व घोडापानी पर्वत र सतहूँ राज्य बढीगाढ (हाल अपभ्रंस भएर बडिगाड भनिन्छ ।) र गुल्मी राज्य, उत्तर पर्वतको निशीभूजी र दक्षिण वामीटक्सारदेखि गुल्मीसम्म पर्दथ्यो । तर, ती राजखलक २००७ सालको क्रान्तिका मुक्ति सेनाबाट कांग्रेसमा लहसिएका छन् ।
थिरबम मल्लको जन्म र सोह्र श्राद्ध
भरतबम मल्लका माइला छोरा थिरबम मल्ल । १९८१ भदौ ३१ गते गल्कोट दरबारमा माइलो सन्तानका रुपमा जन्मिए थिरबम । देहेरादूनमा भारतीय सेनामा भर्ती भए थिरबम । सेकेन्ड लेफ्टिनेनको कोर्ष पूरा गरे । नेपालमा २००७ सालको क्रान्तिको कमाण्डर बन्न नेपाल फर्किए । दाइ लक्ष्मणबम भैरहवाबाट डा. केआई सिंहको मोर्चामा सामेल भए । सिंहको नेतृत्वमा रहेको जनमुक्ति सेनाले भैरहवा, स्याङ्जा र बागलुङमा जनसरकार घोषण गर्यो ।
२६ वर्षे थिरबमको नेतृत्वमा वीरगञ्ज कब्जा भयो । देहेरादूनमा कमाण्डोबाट पोख्त थिरबमले वीरजञ्ज किन कब्जा गरियो ? भनेर जनतालाई जानकारी गराउँदै थिए । सानो पर्खालमा उभिएर- ‘हामीले जनताका लागि जनसरकार घोषणा गरेका हौं । कसैप्रति हाम्रो लडाइँ होइन’ भन्दै गर्दा भीडबाट थिरबममाथि गोली प्रहार भयो । उनले त्यही सहादत प्राप्त गरे ।
थिरबमका सन्तान छैनन् । उनका दाइ लक्ष्मणबम मल्लका छोरा माधवबम मल्लका पुत्र मञ्जेशबम मल्ल । मञ्जेशबम जिजुबुवाको जन्म तिथि, एका बसेर श्राद्ध गर्दैछन् आज । ‘थिरबमको श्राद्ध हामीले गर्दै आएका छौं । हामी गल्कोटे राजा खलक त हौं । यद्यपि २००७ सालदेखि कांग्रेको राजनीतिमा रगत बगाइरहेका छौं’, मञ्जेश भन्छन् ।
तात्कालिन राजा भरतबम मल्ल जो २०१५ सालमा कांग्रेसको तर्फबाट ८६ नम्बरबाट सांसद बने । उनै राजा भरतबम मल्लले राज्य रजौटा उन्मूलनको प्रस्ताव गरे । दुई भाइछोरा जनमुक्ति सेनामा सहभागी, एउटा छोरा सहिद । ‘हाम्रो परिवार सम्पूर्ण रुपमा कांग्रेसको राजनीतिमा समर्पित हो । आफ्नो खाइपाइ आएको सेवा सुविधा उन्मूलन गरौं भन्ने हिम्मतका साथ जिजुबुवाले पहिलो प्रस्ताव राखिबक्सेको इतिहास साक्षी छ’, मञ्जेश सोह्र श्राद्धकै तिथिमा पितृ पिण्ड दिएर सम्झन्छन् ।
गल्कोटे राजाका सम्पत्ति कम थिएनन् । बुटवलमा ५ सय विघा, गल्कोटभित्रै ५ रोपनी जग्गा छोडेको उनले बताए । ‘राजा भन्ने आम जनताको माया त थियो नै । तर, हामी पञ्चायत कालभरि कांग्रेस भएकै कारण अराष्ट्रिय तत्व भएर बस्नुपर्यो’, जिजुबुवाको बिंडो थामिरहेका मञ्जेश भन्छन् ।
माओवादीको हतौडाबाट बुवाको त्यो हत्या !
मञ्जेशका बुवा माधबबम मल्ल शिक्षाप्रेमी । गल्कोट दरबार (हरिचौर) मै बसे । आस्थाले उनी कांग्रेस नै थिए । तर, पढेलेखेका स्थानीय पृथ्वी उच्च माविमा अध्यापन गरेर बस्थे । मात्रै दोष राजा ! माओवादी र राज्यबीचको शस्त्र संघर्ष तीव्रतर थियो । साँझ खाना खाइवरी दरबारको चौरीमा बसिरहेका थिए माधवबम । २०५९ बैशाख ३१ गते साँझ सवा ८ बजेतिर माओवादीले पछाडिबाट हतौडाले टाउकोमा हानेर हत्या गरे ।
‘कल्पना गरिसियोस् त मेरो बुवाको टाउकोमा हताैडा हानेर किन हत्या भयो होला ? कल्पना गर्न सकिन्छ ? इतिहासका हामी राजा हौं । इतिहास साक्षी छ नै । यद्यपि २००७ सालको क्रान्तिमा सहभागी भएका हामी, पञ्चायतमा अराष्ट्रिय तत्व भएका हामी, फेरि माओवादीको निशानामा पनि पर्यौं’, मञ्जेश सोह्र श्राद्धमा आफ्ना पितृहरुको कहालीलाग्दा मृत्युवरणप्रति सम्मान गर्दै सम्झन्छन् ।
राजघराना परिवार एकाएक राजनीतिक स्वतन्त्रताको आन्दोलनमा । हिजोको दिनदेखि आजसम्म गल्कोटे राजाका सन्तानले के पाए, के गुमाए ? थुप्रै घटना छन् । मञ्जेश भन्छन्, ‘खैर, सत्य निरुपण तथा मेलमिलाप आयोग छ । त्यसले दिने निचोड हेर्नै बाँकी छ । राजनीति सोझो र सरल रेखाबाट नचल्दो रहेछ ।’
यतिखेर सम्मुख मंसिर ४ को चुनाव छ । मुलुक दुई ध्रुवमा विभाजन हुने परिस्थिति देखिँदैछ । उनले भने, ‘राजनीति बाङ्गो-टिङ्गोबाटै चल्नेरहेछ । यतिखेर म धेरै भन्न चाहन्नँ । मेरो पुर्खाहरुलाई पितृ पिण्ड दिइरहँदा उहाँहरुको बलिदानबाट निस्केको सच्चा अनुयायी हुँ ।’
थीर बम मल्ल और उनके संतति को नमन है।