सिरहामा विद्यालय बन्द गराएर एमालेको आमसभा, ओली सहभागी
सिरहा । नेकपा एमाले सिरहाले चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । विद्यालयको पठनपाठन बन्द गराएर एमालेले आमसभा आयोजना गरेको हो ।
लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता रामबल्लभ साहसहितका नेता–कार्यकर्तालाई आज अध्यक्ष ओलीले पार्टी प्रवेश गराउने एमालेले जनाएको छ । एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलले जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतबाट सयाैं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको दाबी गरे ।
अहिले विद्यालय परिसरमा कार्यक्रम चलिरहेको छ । कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा मधेस प्रदेश ईन्चार्ज रघुवीर महासेठ, सह–ईन्चार्जद्वय लीलानाथ श्रेष्ठ र ज्वाला साह लगायतका नेताहरु सहभागी छन् ।
हेलिकप्टरबाट आए ओली
एमाले अध्यक्ष ओली आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि सिरहाको चोहर्वा आइपुगेका छन् । हेलिकाप्टरबाट अध्यक्ष ओली र केन्द्रीय नेता तथा पूर्वमन्त्री प्रभु साह चोहर्वा आएका हुन् । उनीहरुलाई एमाले मधेस प्रदेशका सह–ईन्चार्ज तथा पूर्व मन्त्री लीलानाथ श्रेष्ठ लगायतका नेताहरु स्वागत गरे ।
अध्यक्ष ओली र नेता साह अहिले आमसभा आमसभास्थलमा पुगिसकेका छन् । कार्यक्रममा गाउँगाउँबाट कार्यकर्ता उर्लिएका छन् । गर्मी अत्यधिक भएपछि उनीहरु टाउकोमा लुगा राखेर बसेको देखिन्छ ।