गाेठाटारमा हत्या गरिएका माेहम्मद जाेडिएकाे १५ वर्षअघि राजधानीकाे त्याे गाेलीकाण्ड
काठमाडौं। २०६४ असार २० गते अनामनगर धोबिखोलामा साँझ बाराका बलराम पटुवाको गोली हानी हत्या भयो। प्रहरीले तत्कालै लाल मोहम्मद र पप्पु गुप्तालाई पक्राउ गर्यो।
मृतकसहित उनीहरु नेपालमा नक्कली भारतीय नोटसहित चलाउने गिरोह रहेको प्रहरीको दावी थियो। भारतको गुप्तचर रअको राडरमा पनि उनीहरु थिए। तर पटुवाको हत्या पछाडिको कारण समूहकै आन्तरिक किचलो र विश्वासघात रहेको प्रहरीको दावी थियो।
उक्त घटनामा संलग्न तथा योजनाकार भनिएका मुन्ना खान भनिने इल्ताब हुसेन खान र वाहिद खान तत्कालै पक्राउ परेनन्। इल्ताफ दुई वर्षपछि समातिए। वाहिद समातिन भने लामो समय लाग्यो। जब लाल मोहम्मद जेलबाट छुटे अनि मात्र वाहिद पक्राउ परेका थिए।
१० वर्ष जेल बसेर २०७४ सालमा छुटेको लाल मोहम्मदकै सहयोगमा वाहिद पक्राउ परेका थिए। लाल मोहम्मदले आफूलाई जेलबाट चाँडै छुटाउन पहल नगरेको रिसमा वाहिदलाई पक्राउ गर्न सहयोग गरेको प्रहरीको दावी थियो।
२०७४ असोज ३० गते वाहिद गोकर्णेश्वरबाट पक्राउ परे। उनी त्यहाँ गार्मेन्ट फ्याक्ट्री चलाइरहेका थिए। वाहिदले आफु विजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरेपनि सर्लाही जिल्ला प्रशासनले उक्त नागरिकता झुटो रहेको जवाफ पठाएपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको थियो। प्रहरीका अनुसार वाहिदले आफू पक्राउ पर्ने डरले अर्कै नामले चिनाएर गोकर्णेश्वरमा बसिरहेका थिए।
जेलबाट छुटेपछि लाल मोहम्मद पनि काठमाडौंको गोठाटारमा गार्मेन्ट फ्याक्ट्री चलाएर बसिरहेका थिए। उनै लाल मोहम्मदको सोमबार साँझ गोठाटारस्थित घरअघि गोली हानी हत्या भएको छ।
गाडी रोकेर ओर्लिएलगत्तै एक व्यक्तिले उनलाई लखेट्दै गाडीको वरिपरि घुमाएर गोली हानेको थियो। त्यसपछि उनीहरु त्यहाँबाट भागेका थिए। टाउकोमा गोली लागेका लाल मोहम्मदको उपचारका क्रममा राती नै मृत्यु भएको थियो। घटनास्थलबाट एउटा पेस्तोल बरामद भएपनि संलग्नहरु पक्राउ पर्न सकेका छैनन्।
नक्कली भारतीय नोटको कारोबारमा संलग्नको हत्यामा यसअघि भारतीय गुप्तचर रअको भूमिका देखिदै आएको छ। तर लाल मोहम्मद प्रकरणमा प्रहरीले यकिन गर्न सकेको छैन। आफ्नै समूहबाट पनि मारिएको हुन सक्ने आशंका पनि प्रहरीको छ।
यसअघि नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको दावी गरिएका युनिस अन्सारीलाई काठमाडौंको जेलभित्रै गोली प्रहार भएको थियो। जमिम शाहदेखि नेपाल मुस्लिम इत्तेहाद संघका अध्यक्ष फैजान अहमदको काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो। उनीहरु पनि नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको दावी हुने गरेका थिए।