मकवानपुरका दुई क्षेत्रमा कांग्रेस र नेकपा एस निश्चित ! माओवादीका बिडारीले छाड्दै नछाड्ने – Nepal Press

मकवानपुरका दुई क्षेत्रमा कांग्रेस र नेकपा एस निश्चित ! माओवादीका बिडारीले छाड्दै नछाड्ने

हेटौंडा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि मकवानपुरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा पाउने करिब निश्चित भएको छ । प्रतिनिधिसभाकाे दुईवटा क्षेत्र रहेको मकवानपुरको १ नम्बरमा कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा २ नम्बरमा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाको टिकट लगभग पक्का रहेको गठबन्धनका नेताहरुको भनाइ छ ।

प्रदेशसभातर्फ भने कांग्रेस र नेकपा माओवादी केन्द्रले २-२ सीट लिने भएका छन् । प्रदेशतर्फ क्षेत्र नम्बर १ र २ को ‘क’ माओवादी तथा ‘ख’ कांग्रेसले लिने भएका छन् । हालसम्म क्षेत्र नम्बर २ को ‘ख’ मा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको टिकट पक्का देखिएको छ । अन्य क्षेत्रमा भने दुवै पार्टीका नेताहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

गत निर्वाचनमा वाम तालमेल गरेर माओवादी केन्द्रले दुईवटा प्रदेशसभा पाएको तर यो पटक कुनै पनि हालतमा एउटा प्रतिनिधिसभा सीट चाहिने भन्दै केही माओवादी नेताहरुले विद्रोह गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रको राम्रो भोट रहेको र एक नगरपालिकासमेत जितेको क्षेत्र नम्बर २ मा पार्टीले टिकट पाउनुपर्ने भन्दै माओवादीभित्र नै बहस सुरु भएको छ ।

माओवादी केन्द्रीय सदस्य एवम् पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले यो पटक क्षेत्र नम्बर २ बाट आफू उम्मेद्वार हुने बताएका छन् । गठबन्धनले दिएपनि या नदिएपनि आफू यो पटक उम्मेद्वार हुने उनले बताए । माओवादी निकट वाईसीएल मकवानपुरका अध्यक्ष लभराज ठकुरी पनि यो पटक प्रतिनिभिसभाको एउटा क्षेत्र माओवादी केन्द्रले पाउनैपर्ने बताउछन् । माओवादीको भोटमा सधैं अन्य दल विजयी भएको बताउँदै उनले पार्टीले यसबारे सोच्नुपर्ने बताउछन् । उनले सामजिक सञ्जालमार्फत एक सिट पाउनुपर्ने भनाई सार्वजनिकसमेत गरिसकेका छन् ।

नेपाली कांग्रेसकी सह-महामन्त्री डिना भने आफूहरु एक प्रतिनिधिसभा र ३ प्रदेशसभा लिने पक्षमा रहेको बताउँछिन् । उनले भनिन् ‘प्रतिनिधिसभाको सबालमा त हाम्रो एक क्षेत्र हो, त्यसमा म आफै उठने पक्का छ, प्रदेशसभामा भने हाम्रो तिन सिटमा दाबी हो, तर कुरा मिलाउन केही हेरफेर हुनसक्छ ।’ डिनाले तीन बताएपनि अन्यमा दुई प्रदेश र एक प्रतिनिधिसभा लिएर कांग्रेसले तालमेल गर्ने गठवन्धनका नेताहरुको दाबी छ ।

यस अघिको निर्वाचनमा मकवानपुरको ६ वटा निर्वाचन क्षेत्रमध्ये दुई प्रतिनिधि र १ प्रदेशगरि नेकपा एमालेले ३ वटा सिट जित्दा, माओवादी केन्द्रले दुई प्रदेशसभा तथा नेपाली कांग्रेसले १ प्रदेशसभा क्षेत्र जितेका थिए । एमालेबाट प्रतिनिधिसभामा विजयी बिरोध खतिवडा अहिले एकिकृत समाजवादीमा लागेका छन् ।


प्रतिक्रिया

One thought on “मकवानपुरका दुई क्षेत्रमा कांग्रेस र नेकपा एस निश्चित ! माओवादीका बिडारीले छाड्दै नछाड्ने

  1. प्रचण्डको पुच्छरलाई टिकट दिनु हुँदैन । दलाली पेशा जारी राख्न देउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *