नेपाल प्रहरीलाई अपराधीको ठाडो चुनौती : सिसिटिभी निगरानीमै गोली हानी हत्या ! – Nepal Press

नेपाल प्रहरीलाई अपराधीको ठाडो चुनौती : सिसिटिभी निगरानीमै गोली हानी हत्या !

काठमाडौं । सोमबार साँझ काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानेर भागेका तीन जना अझै पक्राउ पर्न सकेका छैनन् । घटनापछि एउटै मोटरसाइकलमा हवाई फायर गर्दै उनीहरु भागेका थिए । उनीहरु भारत पुगिसकेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् । घटनामा संलग्न केहीको भने पहिचान भइसकेको प्रहरीको दाबी छ ।

कसको योजनामा घटना भएको भन्नेबारे प्रहरी अनुसन्धानमै छ । यता गोली लागेका लाल मोहम्मदको सोही दिन केही घण्टामै मृत्यु भएको थियो । प्रहरीको अनुसन्धानअनुसार घटनास्थलभन्दा करिब २ सय मिटर टाढा रहेको एक होटलमा बसेर नितिन मदन नाम गरेका व्यक्तिले व्यवस्थापन गरेका थिए ।

घटनाभन्दा तीन दिनअघिदेखि उक्त होटलमा बसेका नितिनले सुटरदेखि हतियार व्यवस्थापनको काम गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटना भएको दिन दुई जना उनिसँग दिउँसैदेखि थपिएको अनुसन्धानका क्रममा खुलेको छ । घटना योजनाबद्ध भएकाले महिनादेखि अघिदेखि नै लाल मोहम्मदको उनीहरुले रेकी गरेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । घटनामा उनीहरु जसरी भाग्न सफल भए त्योभन्दा फरक लाग्छ घटना घटाउँदासम्म उनीहरुले पु¥याएको ख्याल ।

कुनैपनि अपराधमा अपराधीहरुले कुनै पनि प्रमाण नछुटोस् भन्नेमा उनिहरु सजग हुन्छन् । अझ आफ्नो पहिचान नखुल्ने गरी उनीहरु अपराधमा संलग्न भएको देखिन्छ । यो घटनामा भने उनीहरु सिसिटिभी जडान गरिएको होटलमा बसेको देखिएको छ । होटलमा जोडिएको सिसिटिभी फुटेजकै आधारमा प्रहरीले संलग्नहरुको पहिचान गर्ने काम गरिरहेको छ । उनीहरुका होटलभित्रको आवतजावतदेखि काउन्टरमा उनीहरुले गरेको कुराकानी सिसिटिभी फुटेजमा प्रष्ट रहेको अधिकारीहरु बताउँछन् ।

त्यसपछि उनीहरुले गोली हानेको स्थान पनि सिसिटिभीबाट निगरानी भइरहेको ठाउँमा पर्छ । लाल मोहम्मदमाथि गोली प्रहार भएको झन्डै दुई घण्टाभित्र घटना भइरहेको बेलाको सिसिटिभी फुटेज सार्वजनिक भइसकेको थियो । मोहम्मदमाथि गोली प्रहार भइरहेको दृष्य त्यहाँ देख्न सकिन्छ ।

‘जुन ठाउँमा उनिहरु बसे र जस्तो ठाउँमा उनिहरुले गोली प्रहार गरे त्यस आधारमा उनिहरु निकै आत्मविश्वासी रहेको बुझ्न सकिन्छ। अझ फुत्किएर भारत पुगिसक्नु भनेको हाम्रो सुरक्षा व्यवस्थापनमाथीको ठाडो चुनौती हो’, नेपाल प्रहरीका एक अवकाशप्राप्त अधिकृत भन्छन् ।

लाल मोहम्मद एक साताअघि मात्र आफुमाथि सुरक्षा थ्रेट रहेको भन्दै प्रहरीकहाँ निवेदन दिन पुगेका थिए । तर प्रहरीले त्यसलाई हलुका रुपमा लियो । पटकपटक थ्रेटमा परेका मोहम्मदको पृष्ठभूमिबारे प्रहरीले ख्याल नगर्दा सोमबारको घटना भएको अधिकारीहरु बताउँछन् । नक्कली भारतीय नोटको कारोबारमा जोडिएको, लामो समय जेलसमेत परेको व्यक्तिले त्यसरी उजुरी गरेपछि प्रहरीले सतर्कता नअपनाएको भन्दै आलोचना पनि भइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर