राजनीतिमा नेपाल प्रहरीका पूर्व ५ आईजीपी- लामादेखि खनालसम्मको अर्थपूर्ण ‘इन्ट्री’ – Nepal Press

राजनीतिमा नेपाल प्रहरीका पूर्व ५ आईजीपी- लामादेखि खनालसम्मको अर्थपूर्ण ‘इन्ट्री’

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट अवकाश भएको झन्डै ३२ महिनापछि सर्वेन्द्र खनालले राजनीतिको औपचारिक यात्रा थालेका छन् ।

बिहीबार एक कार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराए । यसबीचमा अवकाशपछि उनी पटकपटक एमालेमा प्रवेश गर्ने चर्चा थियो । सेवामै रहँदा उनी एमालेनिकट भनेर चिनिएका थिए ।

बिहीबारकाे पार्टी प्रवेशपछिको सम्बोधनमा अधिकांश समय खनालले ओलीको गुनगानमा खर्चिए । उनले आफ्नो प्रहरी सेवाकालमा ओली जत्तिको अर्को कुनै राजनेता नभेटेको बताए ।

‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ’, उनले भने, ‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’

प्रहरी सेवामा आफ्नो कार्यकालमा पनि राम्रा काममा मात्रै सघाएको पूर्वआईजीपी खनालले दाबी गरे । खनालको भनाइ थियो, ‘म नेपालगञ्जको इन्स्पेक्टर हुँदा उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । त्यतिबेलादेखि नै उहाँको विचार र सत्कर्महरूलाई म पछ्याउँदै आएँ ।’

करिब एक वर्षको अन्तरमा एसएसपीबाट वरियता सुधार गर्दै पहिलो नम्बरमा डीआईजी हुँदै आईजीपी बनेका खनाल अवकाशपछि अझै एमालेसँग नजिकिएका थिए । डीआईजीमा पहिलो नम्बरमा बढुवा हुन खनालले शक्ति केन्द्रको उपयोग गरेको आरोप लाग्यो । डीआईजी बनेको झण्डै ५/६ महिनामा उनी आईजीपी बनेका थिए ।

यसपटक राजनीतिमा उनको औ‍पचारिक प्रवेशलाई आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेरिएको छ । उनले विभिन्न अवसरहरूमा आफू भविष्यमा राजनीतिमा आउन सक्ने बताइरहन्थे ।

खनाल राजनीतिमा आउने नेपाल प्रहरीका पहिलो आईजीपी भने होइनन् । यसअघि डीबी लामा, प्रदीपशमशेर राणा, ध्रुवबहादुर प्रधान, रवीन्द्रप्रताप शाह पनि राजनीतिमा आएका थिए । लामा २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद नै निर्वाचित भए । उनी सहायक राज्यमन्त्रीसमेत बने । उनको मृत्यु भइसकेको छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा रौतहटमा लडेका राणा पराजित भएका थिए ।

राष्ट्रिय मधेस समाजवादी पार्टीबाट उनको राजनीति जम्न सकेन । राप्रपामा प्रवेश गरेका प्रधान अझै पनि राजनीतिमै छन् । पछि रवीन्द्रप्रताप शाहलाई पनि माओवादी केन्द्रले २०७० मा समानुपातिकतर्फ सांसद बनाएको थियो । शाह सक्रिय राजनीतिमा छैनन् ।

यसरी पुगेका थिए प्रहरीको नेतृत्वमा

नेपाल प्रहरीमा २०५० को दशकदेखि शक्तिकेन्द्रको व्यापक हस्तक्षेप सुरू भएको बताइन्छ । तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएका थिए । आईजीपीबाट हटाइए पनि खरेलले अवकाश भने लिएका थिएनन् ।

बरु उनी सर्वोच्च अदालत पुगे । अदालतले उनलाई आईजीपीमा पुनर्बहाली गर्‍यो । प्रहरी नेतृत्वबाट बाहिरिएको केही समयमा प्रधान राप्रपाको राजनीतिमा आएका थिए ।

खेलकुद क्षेत्र समातेका उनी लामो समय नेपाल ओलम्पिक कमिटीको अध्यक्ष बनेका थिए । उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष छन् । यता सुरूमा वरियतामा पहिलो नम्बरमा रहँदारहँदै पनि रवीन्द्रप्रताप शाहलाई आईजीपी बनाइएको थिएन ।

तर, आईजीपी बनाइएका बहालवाला रमेशचन्द ठकुरीमाथि भ्रष्टाचार मुद्दा परेपछि शाहको भाग्य चम्किएको थियो । उनले ढिलै भए पनि आफूलाई न्याय भएको महसुस गरेका थिए । खनालका पालामा भने आईजीपी बन्न रस्साकस्सी चलेको थियो ।

खनालदेखि रमेश खरेल, पुस्कर कार्कीहरूको आईजीपी बन्ने चर्चा उनीहरू एसएसपी रहँदैदेखि सुरू भयो । २०४६ माघमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेका खनालको ब्याचमा एक वर्षको अन्तरमै एसएसपीबाट डीआईजी हुँदै आईजीपी बन्ने अवस्था देखिएको थियो । त्यहीबेला डीआईजीमा बढुवा हुँदा पहिलो नम्बरमा उक्लिएर खनालले आईजीपी बन्ने आधार बलियो बनाएका थिए । पछि सरकारले पहिलो वरियतामै रहेका खनाललाई आईजीपी बनाएको थियो । डीआईजीअघि खनाल आफ्नो ब्याचबाट कहिल्यै पनि पहिलो नम्बरमा रहेर बढुवा भएका थिएनन् ।

प्रहरीमा शक्तिकेन्द्रको चलखेल र अवकाशपछि राजनीति

नेपाल प्रहरीमा शक्ति केन्द्रको हस्तक्षेप पछिल्लो समय अझ बढिरहेको छ । जसका कारण असन्तुष्ट प्रहरी अधिकृतहरू पनि राजीनामा दिएर राजनीतिमा आइरहेका छन् ।

तत्कालीन सरकारले वरियतामा पछाडि रहेका जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गरेपछि पहिलो नम्बरमा रहेका नवराज सिलवाल अदालत पुगेका थिए । चन्द नेपाली कांग्रेसनिकट मानिन्थे । सर्वोच्च अदालतले चन्दलाई आईजीपी बनाउने निर्णय उल्टाए पनि सरकार सिलवाललाई नेपाल प्रहरीको नेतृत्व सुम्पन तयार देखिएन ।

सरकारले दोस्रो नम्बरमा रहेका प्रकाश अर्याललाई आईजीपी बनायो । त्यसपछि पनि अदालत पुगेका सिलवालले मुद्दा हारेपछि राजीनामा दिएका थिए । सिलवाल डीआईजीसम्म आफ्नो ब्याचबाट हरेकपटक पहिलो नम्बरमा रहेर बढुवा भएका थिए । सेवामा रहँदा उनी एमालेनिकट रहेको आरोप लाग्ने गरेको थियो । राजीनामापछि एमालेमा प्रवेश गरेका सिलवाल प्रतिनिधिसभामा ललितपुरबाट प्रत्यक्ष निर्वाचित सांसद बने ।

अहिले उनी सक्रिय पार्टी राजनीतिमा छन् । सर्वोच्च अदालतले निर्णय उल्टाएपछि आईजीपी हुन नपाएका चन्द अहिले अख्तियर दुरूपयोग अनुसन्धान आयोगका आयुक्त छन् । उनलाई नेपाली कांग्रेसले अख्तियारको आयुक्त बनाएको हो । त्यसअघि उनी मिडिया व्यवस्थापनमा देखिएका थिए ।

अर्यालपछि खनाल आईजीपी बनेका हुन् । सरकारले खनाललाई आईजीपी बनाएपछि एसएसपीमा पहिलो नम्बरमा रहेका रमेश खरेलले आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिएका थिए । राजीनामापछि उनी भ्रष्टाचारविरोधी अभियानमा लागे । अहिले उनी नेपाल सुशासन पार्टीका नामबाट राजनीति गरिरहेका छन् ।

नेपाल प्रहरीको पछिल्लो आईजीपीका लागि भएको शक्तिकेन्द्रको खेल भने नांगो रूपमा देखियो । सरकारले १६ महिना सिनियर एआईजी विश्वराज पोखरेललाई छाडेर एक महिनाअघि मात्र एआईजीमा बढुवा भएका धिरजप्रताप सिंहलाई आईजीपी बनायो ।

सिंहलाई आईजीपी बनाउन सरकारले गत चैतमा एआईजीका लागि तीनवटा दरबन्दी थपेको थियो । नेपाली कांग्रेस नेतृत्वको सरकारले पोखरेल एमालेनिकट रहेको आरोप लगाउँदै आएको थियो । त्यसो त पोखरेल एआईजीमा बढुवा हुँदा त्यतिबेला सृजना गरिएको दरबन्दीमा त्यहाँ पुगेका थिए । त्यतिबेला एमाले नेतृत्वको सरकार थियो ।

पूर्वडीआईजी हेमन्त मल्ल पूर्वउच्च प्रहरी अधिकृतको राजनीति प्रवेशलाई तीनवटा कारणमा हेर्नुपर्ने बताउँछन् । पहिलो भनेको अवकाशपछि पनि कुनै न कुनै पदमा बसिरहन पाउँ भन्ने लोभ हो । दोस्रो भनेको सेवामा रहँदा गरेका गलत कामले अप्ठेरो नपरोस् भनेर राजनीतिमा लाग्ने गरेको देखिन्छ । तेस्रो भनेको अवकाशपछि समय बिताउने एउटा माध्यमका रूपमा राजनीतिमा आउने गरेको देखिन्छ’, मल्ल भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर