लागूऔषध मुद्दामा फरार पाल्हीनन्दन गापा अध्यक्ष गुप्ताविरुद्ध भ्रष्टाचार आरोपको चाङ – Nepal Press

लागूऔषध मुद्दामा फरार पाल्हीनन्दन गापा अध्यक्ष गुप्ताविरुद्ध भ्रष्टाचार आरोपको चाङ

रुपन्देही । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक निर्वाचित बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार आरोपका उजुरीको चाङ लागेको छ । नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक निर्वाचित उनी लागूऔषध मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।

उनले फरार हुनुअघि वडाध्यक्षलाई कार्यबाहक दिएका थिए । पछि उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक दिन नमिल्ने भन्दै मन्त्रालयले रोक लगाएको थियो ।

गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा भ्रष्टाचारसम्बन्धी दर्जनभन्दा बढी उजुरीसमेत परेका छन् । २०७४ को स्थानीय चुनावमा निर्वाचित भएपछि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध छानबिन गरी कारबाहीको माग गर्दै अख्तियारमा उजुरीको चाङ लागेको छ ।

विगतमा नवलपरासीको पाल्हीनन्दन- ३ बेलासपुर गाउँमा निर्वाहमुखी कृषि र सूर्तीको फुटकर कारोबारबाट जीविकोपार्जन गर्दै आएका गुप्तामाथि गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि सुनवल, बुटवल, अर्घाखाँचीलगायतका स्थानमा अर्बभन्दा बढी मूल्यका घर, जग्गा र सम्पत्ति आर्जन गरेकाले आम्दानीको स्रोत छानबिन गरी कारबाही गर्न माग गरिएको छ । अख्तियारमा परेको उजुरीअनुसार गुप्ताले श्रीमती शारदा आचार्य गुप्ताको नाममा सुनवलमा ५ कठ्ठा जग्गामा ३ तले, बुटवलमा ३ तले र अर्घाखाँचीमा आलिशान भवन बनाएका छन् ।

त्यस्तै गुप्ताले गाउँपालिका भवनको दक्षिणतर्फ साँधमा जीतबहादुर र प्रेमबहादुर चौधरीको नाममा रहेको ५ कठ्ठा जग्गा ४० लाखमा खरिद गरेको देखाई आफ्नो बुबा वंशराज तेलीको नाममा पास गराएका छन् । पाल्हीनन्दन- ३ मा पनि ३ तले घर र वडा नं ४ मा ४ कठ्ठामा २ तले घर र गोदाम बनाएका छन् । पालिका अध्यक्षमा निर्वाचित भएपछि यसरी अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखिएकाले छानबिन गरी अकुत सम्पत्ति जफत गर्न उजुरीमा माग गरिएको छ ।

गाउँपालिकाको भवन निर्माणका क्रममा ७ करोड ४९ लाख रुपैयाँको ठेक्का सम्झौताविपरीत कार्यपालिका बैठकको निर्णय नगरी प्रत्येक आर्थिक वर्ष भेरियन्स अर्डर गरी करिब ३ करोडभन्दा बढी बजेट भुक्तानी गरेर ठेकेदारबाट लाभ लिएको उनीमाथि आरोप लगाइएको छ । उक्त भवन निर्माणवापत एक करोड ४० लाख बक्यौता गुप्ता दोस्रो पटक निर्वाचित भएर आएपछिको पहिलो कार्यपालिका बैठकबाट भुक्तानी गर्ने निर्णय गराएका थिए । उक्त रकमबाट अध्यक्ष र कर्मचारीले रकम बाँडफाँड गरेको आरोप लगाउँदै छानबिनको माग गरिएको छ ।

यस्तै डिजिटल भिलेज प्रोफाइल ५-५ वर्षमा मात्र अध्यावधिक गर्नुपर्ने नियमविपरीत ५ वर्ष नपुग्दै निर्माण गरेर लाखौं रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ । २०७५ मा डिजिटल भिलेज प्रोफाइल बनाएवापत ४० लाख भुक्तानी भएकोमा आर्थिक वर्ष २०७८/७९ मा पुनः २० लाख भुक्तानी गरिएको छ । त्यस्तै मेड नेपाल नामक गैरसरकारी संस्थाबाट पालिकाका ६७५ विपन्न परिवारलाई ३ हजार ४५० रुपैयाँका दरले बाँड्न प्राप्त रकममा पनि फर्जी काम गरी अनियमितता भएकाले छानबिनको माग गरिएको छ ।

गाउँपालिकाका विपन्न परिवारलाई बाँड्न छुट्याइएको ३० लाख रुपैयाँमा पनि अध्यक्ष गुप्ताले अनियमितता गरेको आरोप छ । उक्त रकम आफू निकट करारका कर्मचारीहरु प्रदीप तिवारी, पशुपति गुप्ता, नर्वदेश्वर गुप्ता र आफ्नो गाडी चालक प्रदीप चौधरीको नाममा साढे २ लाखदेखि ४ लाखसम्म पेश्कीवापत बुझाएर आफूले लिएको उजुरीमा उल्लेख छ । यो विषय बाहिर आएपछि अध्यक्ष गुप्ताले केही रकम गाउँपालिकाको खातामा जम्मा गर्न लगाएका थिए ।

उनीमाथि गाउँपालिकाका दर्जनौं योजनाहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसँग मिलेमतो गरेर ठूलो आर्थिक हिनामिना र गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोप पनि लगाइएको छ । उजुरीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, लेखा अधिकृत शरद न्यौपाने र इञ्जिनियर उमेश शर्मालाई अध्यक्ष गुप्ताले प्रभावमा पारेर अनियमितता र भ्रष्टाचार गरेको आरोप छ ।

पक्राउ पुर्जीपछि प्रहरीको बेवास्ताले मिलेमतोको आशंका

दुई भारतीय साझेदारलाई साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले योजनाबद्ध रूपमा लागूऔषध मुद्दामा फसाएको आरोपमा अध्यक्ष गुप्तालाई एक महिनाअघि पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उनलाई पक्राउ गर्न बेवास्ता गरेको स्थानीयको आरोप छ । उनीविरुद्ध मुद्दा दर्ता र पक्राउ गर्न प्रहरीले चासो नदिएको बरु उल्टै मुद्दालाई कमजोर बनाउन प्रयास गरेको थुनामा रहेका दुई भारतीयका परिवार र जिल्लाका राजनीतिक दलहरुको आरोप छ ।

गुप्ताले राजनीतिक पहुँच र गठबन्धनको आडमा मुद्दालाई कमजोर बनाई आफू उम्किन आर्थिक चलखेल गरेको स्थानीयको दाबी छ । मुद्दा प्रभावित बनाउन उनको मुद्दा हेरिरहेका जिल्ला सरकारी वकिल कार्यालयका चन्द्रबहादुर सिंजाली मगरको सरुवा गराएको स्थानीय धरेन्द्र यादवले दाबी गरे । गुप्ताको योजनामा गएको असार २२ मा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो ।

तर, प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको, गाउँपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निष्कर्ष निकालिएको थियो । अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागूऔषध मुद्दामा सजायको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

घटनामा मुछिएका पाण्डे मलेसिया पुगेका छन् । बैजुप्रसादले गुप्तासँग १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए । पछिल्लो समय रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्न गाउँपालिका अध्यक्षले उनीहरुलाई लागूऔषध मुद्दामा फसाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरकारी वकिल कार्यालय नवलपरासीका तत्कालीन अधिकृत चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुनः अनुसन्धान गर्न समय दिइएको बताए ।

यसबीचमा अध्यक्ष गुप्ताले धोबीलाई ८० लाख रुपैयाँ दिने सर्तमा उनलाई बयान फेर्न लगाई धोबी नै घटनाको मुख्य दोषी देखाएर आफू उम्किन खोजेको धोबीकी श्रीमतीले बताएको बुझिएको छ । आर्थिक चलखेलका आधारमा प्रहरी प्रशासनलाई प्रभावित गरेर आफू उम्किन खोजेको भन्दै गुप्ताका सहयोगी धोवीको पोलिग्राफ टेस्ट गर्न थुनामा रहेका भारतीयका परिवारले माग गरेका छन् ।

स्थानीय धरेन्द्र यादवले घटनाको अनुसन्धान गर्दा जिल्लाको प्रहरी नेतृत्वले गाउँपालिका अध्यक्षलाई जोगाउन खोजेको देखिएकाले आफूहरुले उच्चस्तरीय छानबिनको माग गरेको बताए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले पक्राउ पुर्जी जारी भएका गाउँपालिका अध्यक्ष गुप्ताको खोजी भइरहेको तर फेला नपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *