हामीचाहिँ जान्दो गर्छौँ
कुरा २०५४–५५ सालतिरको हुनुपर्छ । देशमा माओवादीले हतियारसहितको आन्दोलन सुरु गरे रे भन्ने सुनिन्थ्यो । गोल्मेश्वर स्कुल, डाँडागाउँ, महादेवस्थानको पीपलबोटलगायतका स्थानमा हातमै अट्नेखालका राता र नीला पन्नामा छापिएका पर्चा भेटिन्थे । माओवादी जिन्दाबाद, राजतन्त्र मुर्दावाद हरेक पर्चामा लेखिएका हुन्थे । सामन्ती, शोषण, मार्क्सवाद, लेनिनवाद, माओवाद, दमन अनि अत्याचारको अन्त्य जस्ता शब्द बग्रेल्ती भेटिन्थे– सानो पर्चामा पनि । म भर्खर ६ बाट ७ कक्षामा गएको थिएँ । ती पर्चाहरूमा लेखिएका कुरामा चासोचाहिँ थियो तर डर पनि त्यत्तिकै ।
भाइ उत्तम त्यही ५ वर्षको हुँदो हो । साउनको पहिलो साता हुनुपर्छ– द्वादशे खोला उर्लेको थियो । यता भाइ बिरामी थियो । ज्वरोले निस्लोट । साउनको त्यो रात हामी सबै आत्तियौँ भाइको अवस्था देखेर । आँखै हेर्दैन त । अन्दाजी रातको १ बजेको छ । आरी घोप्टाएजस्तो छ पानीको दर्काइ । सिटामोल धरि छैन ।
अलिक पानी कम भएको मौका पारेर बुबा निस्कनुभयो- बाबुराम दाइकोमा । जडीबुटी केही छ कि वा सिटामोल जगेडा गरेको छ कि भनेर ? बाबुराम दाइ, बिरामी हुँदा सबैलाई आँट दिने मान्छे ।
हामीले हाम्री ममतामयी हजुरआमा सावित्रा पोखरेल गुमाएको वर्ष त्यो । बुबा सेतो कपडामा हुनुहुन्थ्यो । टक्की सेतो कमिज, सुरुवाल अनि हवाई चप्पल । औँसीको रात हो वा पानी परेको रात भएर हो, जूनको नामोनिशान थिएन ।
बाबुराम दाइको घरमा जान द्वादशे खोला तर्नुपर्ने तर खोलाको आवाज सुन्दा ढुङ्गा र मुढाहरू पनि ल्याएजस्तो सुनिने । खोला वारपार ढाकेर आएकाले फड्केर पारि जान सक्ने अवस्था पनि थिएन । तैपनि जे त होला भनेर बुबा खोलातर्फ अगाडि बढ्नुभयो ।
‘खोलाको छेउमा पुग्छु त एक महिला लौरोजस्तो वस्तु टेकेर खोलाको छेउमा बडो निर्भयका साथ उभिएकी छिन् । लाग्यो– ‘किचकन्न्याको कथा खुब सुनिन्थ्यो, आज आफैँले भेटेँ । छोराको चिन्ताले थिचेकाले मलाई त्यो आकृतिसँग डरचाहिँ लागेन । बरु खूब गाली गरेँ त्यसलाई ।’ बुबाको भनाइ मेरो स्मृतिमा अझै ताजा छ –’किन यसरी बाटो छेकेर बसेको, आफ्नो बाटो लाग्नु । हैन भने मैले जान्दो गर्नुपर्ला ।’
त्यो आकृति हल्का डग्मगाएछ । अनि लुसुक्क माथ्लो कान्लोतिर अर्थात् तीनचोसे गरातिर लागेछ । बुबाचाहिँ खोलैखोला अलिक माथि पुगेर खोलो अलिक गहिरिएर बगेको स्थानबाट फड्केर पारी पुग्नुभएछ ।
बाबुराम दाइको घरबाट फर्किएर खोलामा आउनुहुन्छ त, पहिलेकै स्थानमा १ जना मात्र हैन । ४–५ जना उसै गरी छोटो छोटो मोटो मोटो लौरोजस्तो वस्तु लिएर उभिएका । अलिक परैबाट देख्नुभएछ । बुबालाई लागेछ- प्रेतात्माहरू एकबाट धेरै भएछन् तर पनि पछाडि फर्किनुभएन । अगाडि नै बढ्नुभयो ।
ती आकृतिहरूको लगभग सामुन्ने जस्तोमा पुगेर भन्नुभएछ– ‘मैले तिमेरुलाई भनेको हैन, आफ्नो बाटो लाग भनेर । अझ घेरेर पो बसेका छौ । मैले जान्दो गर्नुपर्ने भो ।’
त्यसपछि त्यो आकृतिमध्ये एउटा पुरुष आकृतिले भनेछ– ‘दाइ हामी माओवादी हौँ । सेन्ट्री बसेकी कमरेडले सेतो कपडा लगाएको मानव आकृतिले जान्दो गर्छु भन्यो अनि खोलैखोला माथितिर गएर विलय भयो भन्ने खबर गरेपछि वास्तविकता बुझ्न हामी यहाँ भेला भएका हौँ । हामी यतैतिर कसैका घरमा बसेका छौँ । हामी यहाँ बसेको बारेमा कसैसँग केही नभन्नुहोला । भन्नुभयो भने हामीचाहिँ जान्दो गर्छौँ ।’
बुबाले हस् भन्नुभएछ । अनि घरमा आएर भाइको उपचारमा लाग्नुभएछ ।
पछि थाहा लाग्यो– त्यो रात करिब २५ जना माओवादी पल्लाघर नरहरि ठूलो बुबाकोमा बसेका रहेछन् । रीतबहादुर र विज्ञान नेतृत्वको टोली ।
बुइगलभरि माओवादी हुन्थे
माओवादीहरू टोलीमा हिँड्न थालेपछि हाम्रो गाउँ मालुमा समूहमै र हतियारसहित माओवादी आएको शायद त्यो पहिलो वा दोस्रो घटना हुनुपर्छ ।
त्यसअघि रीतबहादुर खड्का, गङ्गा कार्की, देवी खड्का र अन्यहरू आउँथे । तर एक्ला–एक्लै । झोला भिरेर । बक्स पाइन्ट लगाउँथे । बक्स पाइन्टलाई अड्याउन ठूलो पेटी लगाउँथेँ । पेटीको साइडपट्टिको भाग भुक्क परेको हुन्थ्यो ।
उनीहरू पल्लाघर देवी दाइ (देबीप्रसाद पोखरेल) सँग भेट्ने गर्थे । देवी दाइ माओवादीमा लाग्नुभयो या भएन, मलाई त्यति यकिन छैन । तर ३० जना भन्दा बढी प्रहरी आएर उहाँको घर खानतलासी गरेको भने मलाई याद छ । पछि थाहा लाग्यो– जिल्ला प्रहरी कार्यालयकी डिएसपी कविता निरौलाको नेतृत्वको टोली आएको रे १ तर धन्न उहाँ त्यही दिन काठमाडौँ जानुभएको थियो ।
माओवादीका नेताहरू उहाँलाई भेट्न आइरहन्थे । माथिल्लो तलामा बस्थे । बेलाबेलामा बाहिर खाटमा पनि बस्थे । डायरीमा के के लेखिरहन्थे । बेलाबेलामा कविता पनि लेख्थे । गीत लेख्थे, अनि गुन्गुनाउँथे पनि । म लुकीलुकी चियाउन जान्थेँ । अनि देख्थेँ– देवी दाइ दाइ र त्यो मान्छे हात हल्लाई हल्लाइ डायरी हेरेर गीत गाउँदै गर्नुभएको ।
पछि त माओवादीहरू समूहमा नै हिँड्न लागे । मध्य रातमा कसैले ढोका ढ्याक ढ्याक गर्यो अनि आमा भनी बोलायो भने बुझे हुन्थ्यो– माओवादीको डफ्फा घरमा आयो । हामीले धेरै पटक माओवादीको टोलीलाई घरमा राखेका छौँ । हामी केटाकेटीलाई चाहिँ माओवादीको टोलीले दिनको एक पटक गर्ने कवाज अनि बेलाबेलामा गर्ने हतियार सरसफाइको काम रमाइलो लाग्थ्यो । उनीहरूले हाम्रो ममी बुबालाई आमा र बा भन्थे । कसै कसैले बुबालाई माधव दाइ भन्थे । त्यसैले उनीहरू पनि घरकै मान्छेजस्तो लाग्थ्यो । अनि हामी माओवादीसँग डराउँदैनथ्यौँ पनि ।
तर पनि बेला–बेलामा नेपाली सैनिकको गस्ती आउँदा भने हाम्रो सातो उड्थ्यो– अब भिडन्त हुने भो र हामी पनि मारिने भयौँ भनेर । गस्ती आउँदाको बेला भने उनीहरूलाई बुइँगलमै कोपाराको व्यवस्था गरिदिनुपर्थ्यो । गस्ती आएको सुइँको पाएपछि कोही जङ्गलतिर लाग्थे । केही घरभित्रै बस्थे । अनि कोही गाउँका मान्छेका पुराना कपडा लगाएर घाँस, दाउरा गर्न र खेतीपातीतिर लाग्थे– भेष बदलेर ।
रितबहादुरले सहादत प्राप्त गरेछन्-
एसएलसी पास नगरुन्जेल त म पनि विज्ञान, रीतबहादुर अनि किरणहरूका बारेमा अवगत भइरहन्थेँ । किनकि उनीहरू महिनाको कम्तीमा पनि एकपटक हाम्रो घरमा आउँथे । प्रायः मध्यरातमा उसै गरी ‘आमा’ भन्दै । तर काठमाडौँमा छिरेपछि भने उनीहरूको बारेमा जानकारी थिएन । चिठीमा नै उल्लेख गर्नुपर्ने गरी उनीहरूसँग मनको साइनो जोडिएको रहेनछ ।
करिब ८–१० वर्षपछि थाहा भयो– रीतबहादुरले जनयुद्धमा सहादत प्राप्त गरेछन् ।
(बुबा पुस्तकबाट)