हेमराजको प्रश्न- कमरेड प्रचण्ड ! मलाई ४०/५० सीट देऊ भन्ने स्थितिमा माओवादी किन पुग्यो ?
सामूहिक राजीनामापछि हेमराज भण्डारीले भने- हामी अघि बढिसक्यौं, फर्किनु भनेको झन् ठूलो आत्मघाती
कैलाली । सत्ता गठबन्धनमा अहिलेसम्म सीट बाँडफाँटको लफडा कायमै छ । केन्द्रमा गठबन्धनको भागबण्डा नमिल्दा प्रदेश र जिल्लामा बाछिटा सुरू भएको छ । केही त पुरानो दलबाट उम्मेदवारी हौसिने भएपछि गठबन्धनभित्रका केही नेताहरू पार्टी हेरफेर तथा केही स्वतन्त्रबाटै निर्वाचनमा होमिने मुडमा छन् ।
यस्तै कारण आइतबार धनकुटामा माओवादीले प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटब्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका छन् ।
जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको उल्लेख गरेका छन् ।
सँगै भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय पनि बैठकले गरेको छ ।
गठबन्धनबाट धनकुटाको सीट सूर्यबहादुर थापाका छोरा सुनिलका लागि नेपाली कांग्रेसले लगभग ‘प्याक’ गरिसकेको छ । यसअघि राप्रपाबाट चुनाव लडेर एमालेका राजेन्द्र राईसँग पराजित सुनिल थापा यसबीचमा कांग्रेसका शीर्ष नेतृत्वमा छन् ।
गठबन्धनको नाममा अहिले आफ्नो पहिचान र मुद्दा भुल्दै गएको भन्दै माओवादी नेता भण्डारीले मंसिर ४ को लागि स्वतन्त्र लड्ने तयारी गरेका छन् । २०६४ मा माओवादीबाट धनकुटामा संविधानसभा सदस्य जितेका उनी २०७४ मा वाम गठबन्धन हुँदा उम्मेदवार बन्न पाएनन् ।
जिल्लास्थित माओवादी नेतृत्वले सामूहिक राजीनामा दिएपछि माओवादीको वर्तमान अवस्था, स्वतन्त्र उम्मेदवार बन्नुका कारण र आगामी रणनीतिका विषयमा उनै भण्डारीसँग गरेको कुराकानी नेपाल टकमा :
– २०६४ को प्रत्यक्ष निर्वाचित सांसद, माओवादी केन्द्रको पोलिटब्युरो सदस्य, तपाईँजत्तिको व्यक्तिले ‘अब म स्वतन्त्र हुन्छु’ भन्ने अवस्था कसरी सिर्जना भयो ?
पार्टीसँग केही समयअघि देखि नै मैले केही वैचारिक प्रश्नहरू राखेर छलफल सुरू गरेको थिए । माओवादी पार्टीको सामर्थ्य घटेको भन्दा पनि पहिचान सकिएको कुरा मेरो थियो । माओवादीसँग आज निर्वाचनमा जाने एजेण्डा के हो ? कार्यक्रम र मुद्दा के हो ? शासकीय स्वरूप, निर्वाचन प्रणालीकाका विचार मुद्दाविहीन भएर, एजेण्डाविहीन भएर गठबन्धनको नाममा निरीह भएर जाने कुरामा मेरो सैद्धान्तिक असहमति थियो । यो राजनैतिक विषय भयो ।
जिल्लामा पनि केही कुरा थिए । अघिल्लो पटक एमालेसँग मिलेर जाने कुरामा पनि हामी जिल्लामा निल भएका थियौँ । सबै एमालेलाई दियौँ । पछि पार्टी विभाजन भयो । अहिले पनि जनतामा एक्लै जाने अवस्था भएन । गठबन्धनको झमेला लिएर जाने कुरामा हामीले असहमति जनाएका थियौँ । हामीले पार्टीलाई चुनाव चिन्ह लिएर जाने वातावरण बनाउन पनि भनेका थियौँ । त्यसमा सहमति भएन । नभएपछि १५ दिनअघि नै अध्यक्षलाई राजीनामा बुझाए म हिँडे । आजभन्दा १५ दिन पहिले नै मैले पार्टीको सबै जिम्मेवारीबाट, पोलिटब्युरो, केन्द्रीय समिति र मेरो पार्टी सदस्य समेत पार्टी अध्यक्षलाई राजीनामा दिएर म धनकुटा आएको छु ।
त्यसपछि जिल्लाका साथीहरूले मेरो अभियानमा साथ दिनुभएको हो । उहाँहरूले पनि सामूहिक राजीनामा दिन्छु भन्नुभयो । आजबाट सामूहिक राजीनामा दिएर अघि बढेका छौँ ।
– १५ दिनपहिले राजीनामा दिँदा पनि अध्यक्षले कुरा नसुनेपछि बार्गेनिङ गर्न खोज्नुभएको भन्ने आरोप छ नि ?
त्यस्तो होइन, त्यो सम्भव पनि छैन । जनताको समक्ष हामी नयाँ ढंगले जान्छौँ भनिसकेपछि यहाँ बार्गेनिङको कुरा छैन । उहाँसँग अब धेरै सरोकार पनि राख्दैनौँ । जनतासँग जाने हाम्रो नयाँ संकल्प हो ।
– २०७४ मा पनि भाग परेन, अहिले पर्दैन बरु पार्टी छोड्छौँ भन्दा प्रचण्डले के भन्नुभयो ?
पहिले त्यस्तै भयो । अहिले पनि यसरी गठबन्धनमा जान पर्ने भयो । बाध्यता छ गठबन्धन गरेका छौँ भन्नुभयो ।
– अनि तपाईँले के भन्नुभो ?
तपाईँ गठबन्धन गरेर जाँदै गर्दा तपाईँलाई राजनीतिकरूपमा के मिल्छ भनेर प्रश्न गरे । हिजो माओवादीले परिवर्तनका लागि, जनताको जीवनस्तर सुधार गर्न आन्दोलन गरेर आएको पार्टी हो । त्यो एउटा आन्दोलनकारी शक्ति आज पहिचानविहीन, मुद्दाविहीन निरीह भएर मलाई ५० सीट देऊ मलाई ४० सिट देऊ भन्दै माग्दै हिँड्नुपर्ने स्थिति किन भयो ? यसको कारण खोज्ने कि नखोज्ने ? यो राजनीति हामी मात्र होइन हामीपछिको पुस्तासँग पनि जोडिन्छ ।
– तपाईँलाई अर्को कुनै ठाउँमा व्यवस्थापन गर्छु भनेर नेतृत्वले भने पार्टीमा फर्किनु हुन्छ ?
हामीले जनतासँग घोषणा गरिसकेका छौँ त्यो अभियान अब रोकिँदैन । रोकिने सम्भावना अब टरिसकेको छ । त्यो समय अवधि यो बीचमा थियो होला । हामी अगाडि बढिसकेका छौँ । पत्रकार सम्मेलन नै गरेर जनतासामु गइसकेका छौँ यहाँबाट फर्किनु भनेको हाम्रा लागि झन् ठूलो आत्मघाती हुन्छ ।
– तपाईँ र तपाईँको टीम स्वतन्त्र भएकै हो ?
आजबाट हामी स्वतन्त्र भएका छौँ । हामीले पार्टीको झण्डा बुझायौँ र हामीले राष्ट्रको झण्डा बोकेर हिँडेका छौँ । हामी एउटा अभियान चलाउँछौँ । प्रत्येक घर-घरमा देशको झण्डा गाड्नुहोस् देशको राष्ट्रियता संकटमा छ । देशको राष्ट्रियताबारे नेताहरू गम्भीर हुनुहुन्न हामी राष्ट्रियताको पहरेदार बन्छौँ भन्छौँ । हामी विकास र समृद्धिको खाका बनाएर अगाडि बढ्छौँ ।
– स्थानीय तहमा धनकुटाकै सीमानामा हर्क साम्पाङले जितेको देख्दा स्वतन्त्रप्रति मोह जागेको त होइन ?
त्यो होइन । पार्टीलाई र नेतृत्वलाई रूपान्तरित गर्न मैले ठूलो प्रयास गरेको हुँ । पार्टीलाई रूपान्तरित गर्न नेतृत्वले आनाकानी गरिरहेकै हो । अझै निरीह बनाउँदै हर्कतहरू भए । सैद्धान्तिकरूपमा मेरो असहमति रहेको हो । जनतामा निर्धक्कसँग जान पाउनुपर्ने वातावरण बनाउनुपर्छ भन्दा त्यो पनि नपाउने भएपछि मैले यस्तो निर्णय गरेको हो । यो चुनावकेन्द्रित निर्णय मात्र होइन । यो राजनैतिक निर्णय हो ।
– गठबन्धनमा स्वत: माओवादी थोरै सीटमा लड्नुपर्छ । तपाईँजस्तै उम्मेदवार बन्न नपाएका अरु माओवादी छाड्ने अवस्था होला नि ?
यसले धेरै असर गर्छ । नयाँ बहस सिर्जना गर्छ र गर्नु पनि पर्छ । राजनीतिक भनेको विचार र एजेण्डाको आधारमा हुनुपर्छ । जव विचार र मुद्दा निरीह हुँदा त्यो मुमेन्ट रहँदैन । देशैभर यो छलफल चल्नुपर्छ । त्यो छलफलले कि उहाँहरू रूपान्तरित हुनु होला कि नयाँ स्वरूप पैदा होला ।
– असन्तुष्ट रहेका पूर्वसहकर्मीहरूलाई जम्मा गरेर आफ्नो जस्तै अभियान सुरू गर्ने विचारमा हो ?
अहिले सार्वजनिक अपील नै गरेर हस्तक्षेप गर्ने योजनामा म छैन । तर, साथीहरू अहिले पनि सम्पर्कमा हुनुहुन्छ । अहिले हामीले धनकुटामा यो विषयलाई व्यवस्थित रूपमा अगाडि बढाउने योजनामा छौँ । नयाँ ढंगले हामी जाँदैछौँ ।
अन्तिमता निर्वाचन आउन दुई महिना पनि बाँकी छैन । तपाईँ स्वतन्त्ररूपमै निर्वाचनमा होमिनु हुन्छ कि कुनै दलमा गएर वा तालमेल गरेर जानुहुन्छ ?
राजनीतिमा सबै सम्भावना हुन्छ । अहिले नै हुँदैन भन्न सकिँदैन । तर, आजको दिनमा त्यो विषयमा छलफल भएको छैन ।
यो पनि पढ्नुस् : धनकुटाका सबै माओवादी नेताको राजीनामा, भण्डारी नेतृत्वमा स्वतन्त्र चुनावी अभियान घोषणा