वर्षमानविरुद्ध पूर्वबटालियन कमाण्डर भिडाउँदै एमाले
रुपन्देही । मंसिर ४ को चुनावमा रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले माओवादीविरुद्ध जनयुद्धकै कमाण्डरलाई मैदानमा पठाउने भएको छ ।
एमालेले तत्कालीन बटालियन कमाण्डर पूर्णबहादुर बुढामगर ‘विमर्श’ लाई वर्षमान पुन ‘अनन्त’ विरुद्ध उठाउने तयारी गरेको हो । ‘वर्षमानलाई हेर्यौं पटकपटक, पूर्ण कमरेडलाई हेरौँ यसपटक,’ भन्दै प्रतिनिधिसभा सदस्यका लागि उनको एकल नाम सिफारिस गरिएको एमालेले जनाएको छ । नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’ को समर्थनमा रहेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।
जनयुद्धकालमा नेता विमर्श जनमुक्ति सेनाको बटालियन कमाण्डर हुँदा अनन्त माथिल्लो तहको कमाण्डर भएको पूर्वजनमुक्ति सेनाका सदस्यहरूको भनाइ छ । जनयुद्धताका चार डेप्युटी कमाण्डरमध्ये वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, चन्द्रदेव खनाल र नन्दबहादुर पुन थिए ।
‘कमरेड विमर्शसँग कैयौँ पटक यात्रा गरियो। अग्रपंक्तिमा खटेर युद्ध लडियो । गण्डक अभियानका बेला सँगसँगै हिँड्यौँ । भोक र थकाइँ बिर्सेर पनि यात्रा गरेका छौँ । उनी मेरा राम्रा साथी हुन् । समयले फरकफरक कित्तामा उभ्यायो । तर, पनि युवा मित्रको उम्मेदवारीले उत्साहित छौँ,’ माओवादी केन्द्र रोल्पाका एक सदस्यले भने ।
नेकपा (माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट राजनीतिक यात्रा आरम्भ गरेका उनी जनमुक्ति सेनाको बटालियन कमाण्डरसम्म बनेका थिए । गण्डक अभियानका क्रममा उनी लडाइँको अग्रपंक्तिमा खटिए ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमर्शलाई आफ्ना सहकर्मीहरूले उनलाई भेटमा शुभकामना दिइरहेका छन् ।
जिल्लामा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भए पनि केही कांग्रेस कार्यकर्ता उम्मेदवारी नहुने भएपछि असन्तुष्ट रहेको बताइएको छ ।
एकताका माओवादीको गढ मानिने रोल्पामा पार्टी विभाजनसँगै पछिल्लो समय नेता-कार्यकर्ता छरिएका छन् ।