टिकट वितरणमा शेखर-गगन समूहलाई ३० प्रतिशत भाग दिन देउवा तयार
काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका छन् । सम्मानजनक भागबण्डाको माग गर्दै शेखर-गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति एवं प्रधानमन्त्री देउवा मिलाएर लैजाने मनस्थितिमा पुगेको बालुवाटार स्रोतले बताएको छ ।
यसका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा शेखर-गगन समूहलाई कम्तीमा ३० प्रतिशत हिस्सा दिन देउवा तयार भएका छन् । इतर समूहले ४० प्रतिशतलाई बटमलाइन बनाएको थियो ।
‘सभापतिज्यू पार्टीमा सबैलाई मिलाएर लैजाने पक्षमा नै हुनुहुन्छ । उहाँ (शेखर-गगन) हरूले उठाएको न्याय र समान अवसरको मुद्दा सभापतिज्यूको पनि हो,’ स्रोतले नेपाल प्रेससँग भन्यो, ‘सचिवालयभित्र हुने आन्तरिक छलफलमा पनि सकारात्मक भएर भागबण्डा नै खोज्ने भए ३० प्रतिशत दिन तयार हुनुभएको छ ।’
पार्टीभित्र संघर्ष, त्याग तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानका आधारमा कसैलाई अन्याय हुन नदिनेमा प्रधानमन्त्री प्रतिबद्ध रहेको सचिवालयका एक सदस्यले बताए ।
असोज ३ गते कांग्रेसले निर्वाचन आयोगमा पेस गरेको बन्दसूची एकपक्षीय भएको भन्दै शेखर-गगन समूहले खबरदारीका कार्यक्रमहरू गरिरहेको छ । यो समूहका नेता-कार्यकर्ताले हिजो पार्टी केन्द्रीय कार्यालयमा धर्नासमेत दिएको थियो ।
यसैक्रममा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा देउवाले समानुपातिक सूची सच्याउने प्रतिबद्धता जनाएका थिए । शेखर समूहले उक्त बन्दसूची सच्याउन आजसम्मको अल्टिमेटम दिएको थियो । सत्तारुढ गठबन्धनबीचमा भइरहेको सीट बाँडफाँटमा पनि आफ्नो समूहका नेताको सम्भावना रहेको ठाउँमा अन्यलाई नै दिने तयारी भएको इतर समूहको आशंका थिए । उनीहरू देशभर उम्मेदवार दिने तयारीका साथ छुट्टै सूचीको गृहकार्यमा समेत जुटेका थिए ।
अहिले सभापति देउवाले शेखर कोइरालासहित सो समूहका शीर्ष नेता र पार्टी पदाधिकारीलाई बालुवाटार डाकेर छलफल गरिरहेका छन् । बन्दसूची संशोधन गर्ने सम्बन्धमा छलफल भइरहेको स्रोतले बतायो ।